विवादमा आइरहने र विवाद पचाइरहने नेता हुन्, ईश्वर पोखरेल । अहिले उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलको विगत प्रकरण तथा काण्डको जालोमा जेलिएको छ । त्यसैले उनलाई ‘सम्धी नियुक्ति प्रकरण’ले पनि खासै फरक पर्नेछैन । किनकि, प्रधानमन्त्री ओलीनिकट पोखरेललाई ‘काण्ड पचाउने’ बानी नै परेको छ ।
नेकपाको दोस्रो पुस्ताका प्रभावशाली मध्येका नेता हुन्, पोखरेल । पार्टीभित्रको पदीय लेनदेन होस् वा विचारमा लफडा गर्ने मामला, उनी बखेडा झिकेर आफूअनुकूल बनाउन माहिर छन् । उनीसँग जोडिएका ‘काण्ड तथा प्रकरणको सूची लामो छ । पहिला ओहोदामा हुँदा भएका केही काण्ड र प्रकरणको चर्चा गरौं ।
सम्धी प्रकरण
उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्ति गरिएको प्रकरण ताजै छ । पोखरेलकै दबाबमा कोइरालालाई अर्थमन्त्री युवराज खतिवडाले नियुक्त गरेको बताइन्छ । जुन अहिले चर्चाको विषय बनेको छ ।
कोइरालाको पहिलो नियुक्ति पनि २०५१ सालमा खाद्य संस्थानको महाप्रबन्धकमा तत्कालीन नेकपा एमालेको सरकारका पालामा भएको थियो । एक वर्षपछि स्नातकोत्तर क्याम्पसको प्राध्यापक संघको अध्यक्ष भएका कोइराला २०५५ सालमा महेन्द्र मोरङ क्याम्पसको प्रमुख भए ।
त्यसपछि नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । त्यस समयमा पोखरेल आपूर्तिमन्त्री थिए । इन्धन भण्डारणका लागि राम्रोसित काम गर्न नसकेपछि निकालिएका कोइरालालाई त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष बनाइयो ।
११ र १२ कक्षाको परीक्षा सञ्चालनका लागि आवश्यक कम उत्तरपुस्तिका छपाएर बढी देखाएको आरोपमा बाहिरिएका थिए ।
ओम्नी प्रकरण
कोरोना भाइरसको असर नेपालमा देखिन सुरु हुँदै थियो । प्रधानमन्त्री ओलीले फागुन दोस्रो सातातिर पोखरेललाई कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न बनाइएको उच्चस्तरीय कार्यदलको नेतृत्व दिए ।
त्यसपछि पोखरेलकै दबाबमा विवादित ओम्नी कम्पनीलाई औषधि र उपकरण खरिदको जिम्मा दिइएको चर्चामा आयो । जुन कम्पनीले महँगोमा गुणस्तरहीन सामग्री किनेको भन्दै चौतर्फी आलोचना भयो ।
सेनामाथि हस्तक्षेप प्रकरण
ओम्नीसँगको खरिद सम्झौता स्वास्थ्य मन्त्रालयले रद्द गरेपछि उक्त कामको जिम्मा सेनालाई दिइयो । सेनालाई जिटुजीमार्फत स्वास्थ्य सामग्री खरिद गर्न दिइएको थियो । तर त्यसमा पनि पोखरेलले आफ्नो मानिस खटाउने चाहना राखेपछि विवाद आयो । ओम्नीले ल्याएका स्वास्थ्य सामग्रीको पनि गुणस्तरमा प्रश्न उठ्न थाल्यो । त्यसपछि सेना पछि हटेको थियो ।
'जहाज फिर्ता’ प्रकरण
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को नेतृत्व पोखरेलले गरिरहेका छन् । यही बेला सरकारले दुबईस्थित प्रभावित नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज पठायो । २ सय ६६ जनाको उद्धार गर्न पठाइएको उक्त जहाज रित्तै फर्कियो । कारण थियो, पोखरेलले नेपालमा क्वारेन्टिन बनिनसकेको भन्दै जहाज फर्काउन दबाब दिएका थिए । यस विषयले पर्यटनमन्त्री योगेश भट्टराईसँग पोखरेलको विवाद भएको थियो ।
सेनासँग सधैं विवाद
फास्ट ट्र्याकमा पोखरेलले नियुक्त गर्न खोजेको परामर्श विज्ञलाई सेनाले नियुक्त गरेन । खोकना बुङ्मतीमा प्रशासनिक काम रोकेकाले सेनापतिसँग बैठकमा नै चर्काचर्की भएको बुझिएको छ । रक्षामन्त्री पोखरेल र नेपाली सेनाबीच बढेका विवाद धेरै छन् ।
विचारमा लफडा, लेनदेनका किचकिच
पार्टीभित्र संगठनात्मक तथा विचारको विषयमा उनी लफडा गरिरहन्छन् । अहिले एमाले र माओवादी मिलेर नेकपा भइसकेपछि पार्टीको मार्गनिर्देशक सिद्धान्तमा उनले लफडा झिकिरहेका छन् । जनताको बहुदलीय जनवादलाई ब्युँताउने भनेर विवाद झिक्नेमा पोखरेल नै अगाडि छन् ।
तत्कालीन एमालेको आठौं महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष भएका बेला महासचिव चुनिएका पोखरेल नवौं महाधिवेशनमा ओली अध्यक्ष हुँदा पनि महासचिव नै भएका थिए ।
याे पनि पढ्नुहाेस् :
मबाट नाता सम्बन्धका आधारमा कसैले लाभ लिएका छैनन् : ईश्वर पोखरेल