वीरगन्ज महानगरपालिका यतिबेला कोभिड –९ को संक्रमणले आक्रान्त छ । आफैं संक्रिमत भएपछि २८ दिनपछि आइसोलेसनबाट डिस्चार्ज भएका मेयर विजय सरावगी महामारी नियन्त्रण गर्न कोभिड हस्पिटलदेखि मास पिसिआर टेस्टलगायत सुरक्षा र उपचारको पूर्ण तयारीमा जुटेका छन् ।
संक्रमणको हटस्पट बनेको वीरगन्जलगायत सीमावर्ती क्षेत्रलाई सुरक्षित गर्ने उपाय, काठमाडौंले सिक्नुपर्ने सवाललगायतमा मेयर सरावगीसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको कुराकानीको सार :
तपाईं कोरोनामुक्त भएर फिल्डमा फर्कनुभएको छ । वीरगन्जलाई कोरोनामुक्त बनाउन तपाईंकाे ‘कोर्डिनेसन’ र ‘एक्सन’मा के योजना छन् ?
ट्रेसिङ र मास परीक्षणको व्यवस्थापनलाई दरिलो बनाएका छौं । जो मान्छेको सिटी भ्याल्यु २४ भन्दा तल छ, उसलाई मात्रै आइसोलेसनमा पठाएका छौं । अरुलाई घरमै आइसोलेसनमा राखेका छौं, उसले रोग सार्ने सम्भावना कम हुने रहेछ ।
अर्को, हस्पिटलमा आइसोलेसन बेड अझ बढाएका छौं । प्रि–आइसोलेसनमा पनि शुल्कसहित र निःशुल्क दुवै तयार गरिएको छ ।आवश्यकता पर्दा ३ हजार मानिससम्म राख्ने तयारी गरिरहेका छौं । यसपछि हामी ४० हजार घरधुरीमा ‘एक घर एक पिसिआर टेस्ट’ चालू गर्छौं । ‘र्यान्डम बेसिस’मा १० हजारको परीक्षण हुन्छ । आवश्यक उपकरणका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरेका छौं । त्यहाँबाट भएन भने चन्दा मागेर भए पनि नागरिकको जीवनको रक्षा गर्न जुट्छौं ।
अहिले धेरै ठाउँमा निषेधाज्ञा भनिएकाे छ, के गरियो त यसमा ? यो अवधिमा झन् मास परीक्षण गर्नुपर्यो नि । वीरगन्ज महानगरपालिकाले त्यो काम पनि गर्दै छ । अर्को संक्रमितको इम्युन प्रणाली बलियो बनाउन प्रमाणित आयुर्वेदिक औषधि र एलोपेथिक औषधि घरघर पुर्याइरहेका छौं । पिसिआर परीक्षण बढाउन मेसिन थप्दै छौं ।
वीरगन्ज एक्लो वीरगन्ज मात्र होइन । यहाँको संक्रमणले देशैभरि असर पार्छ । यो कुरा बुझ्न जरुरी छ । हामी त ट्रान्जिटमा छौं नि, सीमामा । समग्र नेपाललाई नै ‘ग्रिन जोन’ बनाउनु छ भने केन्द्रीय तहको एउटा नीति हुनुपर्यो । त्यो केन्द्रमै फाइनल भएर प्रदेशमा आउनुपर्यो । प्रदेशले त्यहीअनुसार स्थानीय आवश्यकताअनुसार परिमार्जन गरेर ल्याउनुपर्छ ।
संक्रमण नियन्त्रणमा प्रदेश सरकार, स्थानीय प्रशासनबाट असहयोग भएको गुनासो गर्नुभएको छ । के कसरी असहयोग भयो ?
नागरिकको जीवन र स्वास्थ्यमाथि राजनीति गर्ने होइन । कमसेकम यस्तो बेला सबैले हातेमालो गर्नैपर्छ । सिडियोसाबहरु जुन लोकल डिसिएमसी भनिन्छ, त्यो कार्यकारी ठाउँ हो । उहाँहरुले सहजीकरण गर्नुपर्छ । त्यसका स्रोतसाधन जुटाइदिने काम सिडिओ, प्रदेश सरकार वा संघीय सरकारको हुन सक्छ । तर स्थानीय सरकारले डिसिजनमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको उदाहरण नै छ । आज स्थानीय सरकारहरु यदि नभएको भए महामारीलाई यति पनि नियन्त्रण गर्न सकिदैनथ्यो । अहिलेसम्म ९० प्रतिशत संक्रिमत भइसके भन्नपर्ने अवस्था आउन सक्थ्यो । कमसे कम देश त्यो अवस्थामा गएको छैन ।
भारतको उत्तरप्रदेश र विहारमा २ लाख ५० हजारभन्दा बढी संक्रमित भएका थिए । त्यही क्षेत्रमा रहेका हाम्रा नेपाली दाजुभाइ गलत ढंगले अवैध बाटो भएर नेपाल आए । उहाँहरु क्वारेन्टिनमै नबसी सीधा समुदायमा पुग्दा संक्रमण फैलियो । यो मुद्दा स्थानीय सरकारले नियन्त्रण गर्नुपर्थ्याे । उहाँहरुसँग प्रशासन, सुरक्षा निकाय छ । ३ हजार सुरक्षाकर्मी पर्सा जिल्लामा खटिरहेका छन् । अहिले सशस्त्र प्रहरीलाई खटाउने हो भने एक जना पनि बिनापरीक्षण छिर्न पाउँदैन । तर, बेवास्ता हुँदा त जति पनि छिर्न सक्ने भए ।
लोकल डिसिएसीको बैठक र बोर्ड बैठक पनि मैले राखेको छु,कि कमसे कम वडाध्यक्षहरुलगायतका जनप्रतिनिधिहरुले पनि रोकथामको काम गर्नुपर्यो भनेर । कसैलाई पनि अवैध ठाउँबाट पस्न नदिन स्थानीय आफैंले पनि प्रयत्न गर्न सक्छन् । जसलाई आउनु छ, वीरगन्जको मुख्य नाकाबाट परीक्षण गरेर आउन सक्छ ।
प्रशासनको असहयोगले वीरगन्ज हटस्पट बन्न पुगेको भन्ने आशय हो ?
पक्कै पनि, यस्तो बेला प्रजिअले निर्वाचित जनप्रतिनिधिको कुरा सुन्ने कि अरुको ? तर, तत्कालीन प्रजिअको भूमिका हेर्दा सरकारले उहाँलाई नेता बनाएर पठाएको हो कि कार्यकारी भन्ने प्रश्न उठेको थियो । यदि नेता बनेर आएको भए हामीजस्तै चुनावबाट आउनुपर्यो । नत्र उहाँ कार्यकारीकै हैसियतमा बस्नुपर्थ्याे । फेरि कोठाबाट बाहिरै ननिस्केर काम गर्ने नेताको पारा थियो उहाँको ।
हामी नेता हो, समुदायमा पुग्यौं, संक्रमित भयौं, पूरा परिवारले दुःख पाए तर कहिले पनि त्यो गुनासो पोखेनौं । आज सरुवा भएर जाँदा उहाँ संक्रमित त हुनुभएन नि । हामी त चारै जना संक्रमित भयौं । किनकि जनताको सेवा सुरक्षामा हामी फिल्डमा थियौं । तर उहाँको प्रवृत्तिले आज वीरगन्ज बर्बाद भयो ।
अहिले नयाँ प्रजिअले पूरा सहजीकरण गरिरहनुभएको छ । वीरगन्जको आवश्यकतालाई हेरेर काम गरिररहनुभएको छ । एक हप्तामै राम्रा नतिजा आएको छ । एउटा मान्छे परिवर्तन हुँदा प्रणालीमै ठूलो फरक पर्छ भन्ने वीरगन्जको घटनाले देखाएको छ ।
प्रशासनको असहयोगको कुरा त गर्नुभयो, तपाईंहरुले चाहिँ के गर्नुभयो ?
७ सय ५३ निकायमा वीरगन्ज महानगरपालिका यस्तो एक निकाय छ, जसले प्रदेश तथा स्थानीय सरकारको समेत काम गर्दै आएको छ । हामीले कोभिड हस्पिटल, आइसोलेसन सेन्टर र क्वारेन्टिन तीन वटैको स्थापना र व्यवस्थापन गरेका छौं । पिसिआर टेस्टका लागि ल्याब स्थापना गर्याैँ । २५ हजार टेस्टका लागि कीट पनि किनेर ल्यायौं ।
यतिसम्म कि सेवामा खटिनुभएको चिकित्सकलगायत स्वास्थ्यकर्मीको खाने, बस्ने व्यवस्था क्वारेन्टिनमै गरेका छौं । प्रशासनले हातेमालो गरेको भए वीरगन्ज ‘ग्रिन जोन’ बनिसक्थ्यो । साथीहरुले त्यो कुरा बुझ्नुभएन । उल्टै प्रशासन, प्रहरीलाई गलत कुरा लगाउने कार्य गर्दै बस्नुभयो ।
प्रदेश २ मा त झनै दुःखदायी अवस्था थियो । वीरगन्ग महानगरपालिकाले नगरेको भए आज अर्कै दुर्दशा भइसक्थ्यो । अहिले पनि हाम्रो महानगरपालिकाले बारा, पर्सा, सर्लाही र रौतहट गरी चारवटा जिल्लालाई धानिरहेको छ । वास्तवमा यो हाम्रो जिम्मेवारी त हाेइन ।
तपाईं स्वयं आइसोलेसनमा हुँदा नै नियन्त्रणका धेरै काम भएको भन्नुभएको छ, व्यवस्थापन कसरी गर्नुभयो ?
म आफैं संक्रमित भएर आइसोलेसनमा बस्दा डाक्टरको अनुमतिमा केही समय मैले मोबाइल चलाउन पाउँथें । मातहतका निकायहरुमा सम्पर्क गर्ने, रिपोर्ट बुझ्ने र निर्देशन दिने काम निरन्तर गरिरहें । कतिपय सिकिस्त संक्रमितलाई काठमाडौं ल्याउने व्यवस्था पनि गरियो । तर १२ दिनसम्म त म आफैं निकै गाह्रो अवस्थामा थिएँ । मसँगै महानगरपालिकाका ५० प्रतिशत कर्मचारी साथीहरु नै संक्रमित हुनुहुन्थ्यो ।
यहाँको हकमा हाम्रा सफाइकर्मीहरु, कर्मचारीहरु एकदमै फ्रन्टलाइनमा बसेर काम गरेका छन् । धेरै हदसम्म नियन्त्रणमा रह्यो । तर म सन्तुुष्ट छैन, यो २८ दिनको दौरानमा धेरै बर्बाद पनि भएको छ । कहीँ न कहीँ कार्यकारी पक्षमा कमजोरी भएको छ, जुन हाम्रो जिम्मामा थिएन ।
अब अहिले देशैभरि कोभिड–१९ भाइरस फैलिसकेको भन्ने छ, संक्रमण नियन्त्रणमा सरकार कहाँ के कुरामा चुकिरहेको जस्तो लाग्छ ?
सरकार दुई,–तीन कुरामा चुक्यो । सरकार सुरुदेखि नै महामारी नियन्त्रणमा बिनायोजना हिँडिरह्यो । जस्तो– आगो लाग्यो, बल्ल सरकार दमकल किन्न हिँड्यो । त्यसैको फलस्वरुप हामी दुःख पाइरहेका छौं । भूपरिवेष्ठित देशमा सीमा हाम्रो नियन्त्रणमा हुन सक्थ्यो, त्यो सकेन । तेस्रो, तीन महिनाअघि नै ठूलो समस्या छ भन्ने थाहा हुँदा पनि कोभिड हस्पिटल, आइसोलेसन सेन्टरको व्यवस्थापन गरिएन ।
संक्रमित बढ्दै गयो भने व्यवस्थापन गर्दै जाउँला भन्ने हचुवा ताल सरकारको भयो । होम आइसोलेसनमा हुने संक्रमितको ठाउँमा एउटा शौचालय र कोठाभन्दा केही छैन । संक्रमितलाई कसरी राख्ने भन्ने केही छैन । यो केन्द्र सरकारको जिम्मेवारी हो । एक महिना अघिसम्म जम्मा दुई जनाको मात्रै मृत्यु भएको थियो । तर, यसबीच एकाएक कति भयावह अवस्था भयो । जब जब आवश्यकता पर्यो तब मात्रै व्यवस्थापनतिर लागे । अब आएर त्यही पनि हात पाउ छोडेका छन्, के हुने हो अब ।
अहिले काठमाडौं ‘हटस्पट’ हुँदै छ भनिन्छ, यतिबेला वीरगन्जबाट काठमाडौंले के सिक्न सक्छ ?
काठमाडौंले एउटै कुरा सिक्नुपर्यो कि पहिले पहिले वीरगन्जको महामारी नियन्त्रण गर अनि मात्रै काठमाडौं बच्छ । यदि सीमा नाका नियन्त्रण हुँदैन भने यो सम्भव छैन । काठमाडौं वा पहाड जता पनि नाकाबाटै गएका मानिसबाट संक्रमण फैलिएको छ । मान्छे ट्रान्जिटमै संक्रमित भएका छन् । भारतबाट आउनेहरुकै कुरा गर्दा पिसिआर नेगेटिभ आएर नेपाल हिँडेका मानिसको यहाँ आएर गरिएकाे परीक्षणमा पोजेटिभ आएको छ, भनेको बाटोको ट्रान्जिटमा संक्रमित भइसकेका छन् । वीरगन्ज र अन्य सबै सीमा नाका सुरक्षित गरियो भने मात्र काठमाडौं थप संक्रमणबाट बच्छ, होइन भने स्थिति विकराल बन्छ ।
अहिले एक थरी चिकित्सक तथा पब्लिकहरु कोरोनाको हौवा एलोपेथिक मेडिकल माफियाहरुको चलखेल मात्रै हो भनिरहेका छन् । आफैं संक्रमित हुनुभयो, खासमा कोरोना के रहेछ ?
यो ठट्टाको कुरा होइन । संसारभर ८ लाखभन्दा बढी मानिस मरिसके । यो आयातीत महामारी हो, यो एक प्रकारले फ्लु जस्तै । तर, खालि एउटा शरीरबाट अर्कोमा छोइएकै कारण, ह्युमन फ्लुडबाट भइरहेछ । यो शरीर वा कुनै सतहबाट मान्छेको हातमा लाग्यो, त्यो श्वासप्रश्वासमा पुगेको छ । किन भइरहेछ भन्ने थ्योरी त बुझ्नुपर्यो नि पहिला । यो खतरनाक संक्रामक समस्या हो । यसले बच्चा, वृद्ध र दीर्घ रोगीहरुमा अकल्पनीय प्रभाव पारिरहेको छ ।
तर यो कमजोर भाइरस पनि हो । यसबाट जोगिन शरीरको रोग प्रतिरोधी क्षमतालाइ सशक्त पार्नुपर्छ । गुजो, बेसारलगायत हाम्रा घरेलु बुट्यान नै आयुर्वेदिक औषधिहरु हुन्, त्यो प्रयोग गर्नुपर्यो । यसबाट संक्रमण भइहालेमा पनि चाँडै निको हुन्छ । प्रधानमन्त्रीले कसरी भन्नु भो, त्यो अर्कै कुरा । तर, बेसार खान भन्नुभएको कुरा गलत होइन । बेसारमा रोगीप्रतिरोधी क्षमता धेरै हुन्छ । तर कोरोना ठट्टाको कुरा होइन, त्यो त मैले नै भोगिसकेको छु ।