वीर अस्पतालमा बिरामीको नाजुक अवस्था, पिसिआर रिपोर्टविना आईसियूमा लगिएन
काठमाडौं– वीर अस्पतालको आकस्मिक कक्षमा राखिएकी सुत्केरी श्रीमती स्मिता भुजेलको मुख हेर्दै घरी भित्र घरी बाहिर गर्छन्, धादिङ सिद्धलेख गााउपालिका–७ का दिपक भुजेल ।
दुई दिनअघि स्मितालाई अस्पताल ल्याएको हो । अस्पताल आएदेखि श्रीमतीको अवस्था हेर्न नसकेर उनी भित्र र बाहिर गरी सय चक्कर काटिसके । श्वास फेर्न अफ्ठ्यारो भएपछि एक महिना सुत्केरी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका थिए ।
उनको अवस्था एकदमै गम्भिर छ । अस्पताल आएको दिनबाट नै उनलाई आकस्मिक कक्षको एउटा छुट्टै कोठामा राखिएको छ । उनको अवस्थाअनुसार उनलाई आईसियूमा राखेर उपचार गर्नुपर्छ । अस्पतालले कोरोनाको शंकास्पद बिरामी मानेकाले उनलाई आईसियूमा लगिएको छैन ।
- “अवस्था बिग्रिदा समेत रिपोर्ट नआएको भन्दै आईसियूमा लगिएको छैन ।”
अस्पतालभित्रै टेस्ट गर्नेगरी उनको स्वाव बुधबार साँझ लिइएको थियो ।
“अस्पताल ल्याएपछि उनको केही समय उनको अवस्था सुध्रिएको थियो । तर, अहिले उनको अवस्था जटिल बनेको छ ।” दिपक भन्छन्, “अवस्था बिग्रिदा समेत रिपोर्ट नआएको भन्दै आईसियूमा लगिएको छैन ।”
अस्पतालले बिरामीको अवस्था अत्यन्तै नाजुक भएपनि पीसिआर रिपोर्ट नआएकाले आईसियूमा राख्न सम्भव नभएको जानकारी दिएको दिपक बताउँछन् । आइसोलेसन क्याविनमा राख्नका पनि सम्भव नभएको अस्पतालले परिवारलाई जानकारी दिएको छ । अवस्था गम्भिर हुदा बिरामीलाई अन्यत्र लैजान पनि सकिने अवस्था छैन ।
अस्पतालमा आईसियू खाली भएपनि रिपोर्ट कुर्दा बिरामीको ज्यानै जाने अवस्था आएको उनको उपचारमा सलंग्न एक डाक्टरले नाम नबताउने सर्तमा जानकारी दिए । तुरुन्तै अस्पताल आएको दिनमै उहालाई आईसियूमा राखेर उपचार गर्नुपर्ने थियो । अब पनि तुरुन्तै आसियूमा नलगिए ज्यानै जान सक्ने उनको भनाइ छ ।
अहिलेसम्म उनको उपचारमा १६ हजार खर्च भैसकेको छ । अवस्था जटिल बन्दै गएको छ । थप उपचारका लागि कति खर्च लाग्ने भन्ने चिन्ताले सताएको छ, उनको परिवारलाई । पाँच दिन अघिदेखि नै स्मितालाई श्वास फेर्न गाह्रो भएको थियो । तर, एम्बुलेन्सले बिरामी बोक्न नमान्दा दुई दिन अघिमात्र अस्पताल ल्याइएको हो ।
चार कक्षासम्म मात्रै पढेका दिपकलाई श्रीमतीको अवस्था थप जटिल बने के गर्ने, कता लैजाने केहीपनि थाहा छैन ? ५ बर्षकी छोरीपछि एक महिनाअघि मात्र स्मिताले दोस्रो सन्तानको रुपमा छोरो जन्माइएकी थिइन् । नयाँ सन्तानको आगमनपछि घरमा खुसियाली थियो । तर, एक महिनापछि एक्कासी उनको स्वाथ्यमा समस्या आएपछि भने त्यो खुसी एकएक शोकमा परिणत भयो ।
केही अस्पतालहरुले गम्भिर अवस्थामा आएका बिरामीको उपचारका लागि पनि पिसिआर रिपोर्ट खोज्ने गरेका छन् । रिपोर्टविना बिरामीको भर्ना समेत नलिने गरेका छन् । भर्ना गरिएको बिरामीको समेत रिपोर्ट नआएको भन्दै उपचार नगर्दा बिरामीको ज्यान समेत जाने गरेका घटनाहरु थुप्रै छन् ।
अपडेटः २४ घण्टापछि पिसिआर रिपोर्ट आएपछि बल्ल लगियो आइसियूमा, बिरामी नाजुक अवस्थामा
२२ घण्टापछि बिहिबार राति ७ बजे सिकिस्त बिरामी स्मिता भुजेलको पसिआर रिपोर्ट आएको छ । उनको पिसिआर परक्षिणमा कारोना नदेखिएपछि उनलाई बल्ल आइसियू कक्षमा लगिएको छ । त्यहाँको एक डाक्टरका अनुसार उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ ।
उनको बुधबार राति ९ बजे पिसिआर परीक्षणका लागि स्वाव लिएको थियो । २३ वर्षीय उनको अवस्था निकै नाजुक अवस्थामा रहेको डाक्टरले जनाएको छ ।
बिरामी भुजेलको अवस्था आकस्मिक कक्षमा नै गम्भिर अवस्थामा पुगेपछि उनलाई ५ घण्टादेखि स्वासप्रस्वासलाई सहज बनाउन ‘ब्यागिङ ’ गर्दै राखिएको थियो ।
डाक्टरका अनुसार पिसिआर रिपोर्टलाई नकुरी हिजै आइसियूमा लगेर उपचार गरेको भए बिरामीलाई सामान्य अवस्थामा ल्याउन सकिन्थ्यो । अहिले पनि कोशिस जारी रहेको तर अवस्था गम्भिर रहेको नेपाली पब्लिकलाई बताए ।