कोरोना संक्रमण सन्त्रासका कारण हामी दोस्रो चरणमा घरभित्रै बस्न बाध्य छौं । यस अवधिमा अन्य तनावका साथै समय कसरी बिताउने भन्ने तनाव पनि छँदैछ । यो संकटको समयमा अध्ययनमा ध्यान दिन सके मानसिक रूपमा स्वस्थ त हुने नै छौं, संकटसँग लड्ने सोचको पनि वृद्धि हुनेछ ।
त्यसका लागि खर्च नै गर्नुपर्ने आवश्यकता पनि छैन । अहिले प्रविधिको प्रयोग गर्न जानेमा अध्ययन गर्नका लागि धेरै पुस्तक इन्टरनेटमा विनाशुल्क पाइन्छ । यहाँ इन्टरनेटबाट डाउनलोड गरेर सित्तैमा पढ्न सकिने पाइने बिपी कोइरालाका पुस्तकबारे डा. कुमारप्रसाद कोइरालाले समकालिन साहित्यमा गरेको चर्चा र पुस्तक सहजै उपलब्ध हुने लिंक प्रस्तुत छः
सुम्निमा
सुम्निमा उपन्यासमा जातीय, सांस्कृतिक र यौनद्वन्द्व देखाइएको छ । सोमदत्त ब्राह्मण हो । ऊ आफूलाई उच्च जातको सम्झन्छ । उसमा जातीय अहम् छ । सुम्निमा किराँती हो । उसमा सोमदत्तको जस्तो जातीय अहम् छैन । ती दुवैका सम्बन्धबाट जातीय द्वन्द्व व्यञ्जित भएको छ । सोमदत्त ब्राह्मण संस्कृति मान्दछ भने सुम्निमा किराँत संस्कृति मान्दछे । यी दुवैको सम्बन्धबाट सांसारिक प्रेमप्रधान किराँत संस्कृति र आध्यात्मिक प्रेमप्रधान ब्राह्मण संस्कृतिबीचको द्वन्द्व व्यञ्जित भएका छन् ।
सोमदत्त सुम्निमा तथा पुलोमा र सोमदत्तबीचको सम्बन्धबाट यौनद्वन्द्व प्रकट भएका छन् । बाबु, आमा र छोरा उपन्यासमा व्यक्तिगत इच्छा वा स्वतन्त्रता र सामाजिक मान्यताका बीच द्वन्द्व देखाइएको छ । उमा र उसको पहिलो पतिका माध्यमबाट व्यक्तिगत इच्छा र उसका दाजु र बाबुका माध्यमबाट सामाजिक मान्यता व्यञ्जित भएका छन् । उमाका यौनेच्छा र सामाजिक मान्यताबीचको द्वन्द्वले उसको जीवन व्यर्थ र निस्सहाय बनेको देखिन्छ ।
पढ्न क्लिक गर्नुहोस्
हिट्लर र यहुदी
हिटलर र यहूदीमा नेपाली समाजसँग सम्बन्धित द्वन्द्व छैनन् । यसमा त वैश्विक समस्यासँग सम्बन्धित वैचारिक द्वन्द्व छन् । यसमा विशेष प्रकारको जातीय द्वन्द्व, पूर्वीय अध्यात्मवाद र पश्चिमी भौतिकवाद, नियतिवाद र कर्मवाद, युद्ध र शान्ति तथा कट्टर राष्ट्रवाद र उदार विश्वमानवतावाद वा अन्तरराष्ट्रवादबीचको द्वन्द्व देखाइएको छ । यसमा रुसको स्लाभ जाति र जर्मनीको आर्य जाति तथा आर्य र अनार्य जातिबीचको द्वन्द्व देखाइएको छ ।
नारायण, सुनील भट्टाचार्य र उपन्यासको समाख्याताका माध्यमबाट पूर्वीय अध्यात्मवाद र रेवा, अङ्ग्रेज, स्विडेनकी होटेल्नीका छोराछोरी जस्ता पात्रका माध्यमबाट पश्चिमी भौतिकवादको चर्चा गराई दुवै विचारबीचको द्वन्द्व देखाइएको छ । नारायण, हिटलर, सुनील भट्टाचार्य आदिका माध्यमबाट नियतिवादी विचार र यहूदीहरूका माध्यमबाट कर्मवादी विचार देखाई दुवै विचारबीचको द्वन्द्व प्रदर्शन गरिएको छ । नियतिमा विश्वास गर्ने हिटलर र नियतिवादी पूर्वीय अध्यात्मवाद वा गीतादर्शनका माध्यमबाट युद्ध सम्बन्धी र युद्धोत्तर जर्मनीको अवस्थाको चित्रण र समाख्याताका माध्यमबाट शान्ति सम्बन्धी विचार प्रकट गरी ती दुवै विचारबीचको द्वन्द्व प्रदर्शन गरिएको छ ।
हिटलरका माध्यमबाट कट्टर राष्ट्रवादी र नारायण र समाख्याताका माध्यमबाट उदार मानवतावादी वा अन्तरराष्ट्रवादी विचारको चर्चा गरी दुवै पक्षबीचको द्वन्द्व प्रदर्शन गरिएको छ । द्वन्द्वात्मकताका दृष्टिले अन्य उपन्यासभन्दा यो नितान्त भिन्न देखिन्छ ।
पढ्न क्लिक गर्नुहोस्
मोदिआइन
मोदिआइन उपन्यासमा देवत्व र मनुष्यत्व जस्ता दुई विपरीत गुणबीच द्वन्द्व देखाइएको छ । मान्छे सांसारिक प्राणी हो । उसमा देवत्वको प्रवेश भयो भने ऊ मानव रहँदैन, महामानव हुन्छ । उसबाट सांसारिक वा सामाजिक गुण हराउँछन् भन्ने विचार प्रस्तुत गरिएको छ ।
कृष्ण र अर्जुन पात्रका माध्यमबाट देवत्व र नारी पात्रका माध्यमबाट मनुष्यत्व सम्बन्धी विचार प्रस्तुत गरिएका छन् । निष्काम कर्मका नाममा गरिने मानव संहार वा युद्ध देवताको कार्य होला, मनवताको हुनसक्दैन । यसबाट मानव समाज कहिल्यै निको नहुने घाउ लिएर जन्मजन्मान्तर बाँच्न बाध्य हुन्छ भनेर देखाइएको छ ।
पढ्न क्लिक गर्नुहोस्
नरेन्द्र दाइ
नरेन्द्र दाइ उपन्यासमा वर्गीय, जातीय, मनोवैज्ञानिक, लैङ्गिक द्वन्द्व प्रदर्शित छन् । नरेन्द्र धनी वर्गको र मुनरिया गरिब वर्गकी चरित्र हो । ती दुवैका माध्यमबाट समाजका धनी र गरिबबीच हुने द्वन्द्व व्यञ्जित भएका छन् । नरेन्द्र पहाडिया क्षत्री हो भने मुनरिया मधेसकी तल्लो जातकी विवाहिता हो । नरेन्द्रमा जातीय अहम् देखिन्छ भने मुनरियामा देखिँदैन ।
यी दुवैको सम्बन्धबाट माथ्लो जात र तल्लो जातका बीचको द्वन्द्व देखाइएको छ । यसमा वैयक्तिक इच्छा र सामाजिक मान्यताबीचको द्वन्द्व पनि देखाइएको छ ।नरेन्द्र र मुनरियाबीचको यौन सम्बन्ध सामाजिक मान्यता विपरीत देखिन्छ । यौन तृप्तिका लागि उनीहरूले सामाजिक मान्यता तोडेका छन् । मुनरियाका माध्यमबाट आर्थिक विपन्नता र यौनकुण्ठाबीचको द्वन्द्व देखाइएको छ । तीन घुम्ती उपन्यासमा वर्गीय, जातीय र यौनद्वन्द्व देखाइएको छ ।
इन्द्रमाया धनी परिवारकी केटी हो भने पीताम्बर गरिब परिवारको केटो हो । पीताम्बर ब्राह्मण हो भने इन्द्रमाया नेवार हो । उपन्यासका पुरुष पात्र पीताम्बर र रमेश परनारीसँग यौन सम्बन्ध राख्छन् । इन्द्रमायाले पनि परपुरुषसँग यौन सम्बन्ध राखेकी छ, तर समाजले पुरुषको यौन स्वच्छन्दतालाई स्वीकार गरेको देखिन्छ भने स्त्रीको यौन स्वच्छन्दतालाई अस्वीकार गरेको देखिन्छ । यी तीनवटै कारणले इन्द्रमाया र पीताम्बरको अन्तरजातीय प्रेम र विवाहले सामाजिक मान्यता पाउन नसकेको देखिन्छ ।
पढ्न क्लिक गर्नुहोस्
बाबु, आमा र छोरा
बाबु, आमा र छोरा उपन्यासमा व्यक्तिगत इच्छा वा स्वतन्त्रता र सामाजिक मान्यताका बीच द्वन्द्व देखाइएको छ । उमा र उसको पहिलो पतिका माध्यमबाट व्यक्तिगत इच्छा र उसका दाजु र बाबुका माध्यमबाट सामाजिक मान्यता व्यञ्जित भएका छन् । उमाका यौनेच्छा र सामाजिक मान्यताबीचको द्वन्द्वले उसको जीवन व्यर्थ र निस्सहाय बनेको देखिन्छ ।
पढ्न क्लिक गर्नुहोस्
यो पनि पढ्नुहोस्
हेर्नैपर्ने पाँच सिनेमा, नव-यथार्थवादीदेखि थ्रिलरसम्म