‘सिनेमा मानव र मानवीय संघर्षको सबैभन्दा महत्त्वपूर्ण ऐना हो । तपाईं यहाँ वैकल्पिक संसार देख्न सक्नुहुन्छ, तर तपाईं नै यसको एक हिस्सा हो । सबै यसको हिस्सा हुन् । र यो हाम्रो संसार हो ।’ फिलिपिनी सिनेकर्मी लाभ डियाजले भनेका यी पंक्ति पर्याप्त छ, सिनेमाको महत्त्व बुझ्न ।
सिनेमा दृश्यको सुव्यवस्थित संयोजन मात्र होइन, न कि सिनेमा कथावाचनको एक माध्यम मात्र हो । सिनेमा यस्तो सजीव कला हो, जसले मानवीय भावना, संवेदना, आशा, संघर्ष, अन्तरद्वन्द्वदेखि सामाजिक–राजनीतिक परिस्थितिको कथा र दृश्यको सुसंयोजन गरेकाे हुन्छ । जसलाई महसुस र मनन गर्न सकिन्छ ।
हामी यहाँ त्यस्तै सिनेमाहरुको संक्षिप्त चर्चा गर्दै छौं । जुन सिनेमाले हामीलाई दृश्यहरु महसुस र मनन गर्न बाध्य पार्छन् । कतिपय सवाल यी सिनेमाहरुले सिनेमाको बुझाइ र सिनेमा निर्माणमै समेत उल्लेखनीय भूमिका खेलेका छन् । कतिपय सवालमा तपाईंले यी सिनेमाहरु हेर्न धैर्यता र लगाब भने राख्नुपर्ने हुन सक्छ । तर ढुक्क हुनुहाेस्, सिनेमा हेर्न मन गर्ने जोकोहीले यी सिनेमा हेर्ने पर्ने हुन्छ ।
बाइसाइकल थिभ्स् (इटाली, सन् १९४८)
विश्वयुद्धले तहसनहस नभएको युराेपेली जनजीवनमा आधारित इटालियन फिल्म हो ‘बाइसाइकल थिभ्स’ । युद्धपछि आक्रान्त अर्थतन्त्रका कारण ठूला ठूला सेट र महँगा कलाकार राखेर फिल्म बनाउन नसकिने अवस्थामा बनेको यो वैकल्पिक फिल्म हो । जसले फिल्म जगतमा नयाँ ‘ट्रेन्ड सेट’ गर्न सफल भयो । नव यथार्थवादी सिनेमा धार नै यो फिल्मले सिर्जना गर्यो ।
लुइगी भार्टिलोनीको उपन्यासबाट प्रभावित कथामा सन् १९४८ निर्मित यस फिल्मलाई भिट्टोरियो डे सिकाले निर्देशिन गरेका हुन् । यस फिल्ममा रोजगारीको खोजीमा भौँतारिरहेको एक पिताले बल्ल तल्ल काम पाउँछन् तर त्यस कामका लागि साइकल अनिवार्य हुन्छ ।
उनले त्यो काम गुम्न नदिन जसोतसो किनेको साइकल कसैले चोरेपछि कथाले अर्को लय समात्छ । उनको बालक छोरा र उनले गरेको साइकलको खोजी, त्यसबेला भएका अनेक घटनाहरु फिल्ममा देख्न सकिन्छ । साइकलको खोजीको अन्त्यमा जे हुन्छ, त्यो देख्दा तपाईंलाई चस्स घाेच्न सक्छ । समग्रमा मानवीय संघर्ष र त्यसलाई प्रभाव पार्ने सामाजिक, आर्थिक, राजनीतिक वस्तुस्थितिप्रति पक्कै केही सोच्नु हुनेछ ।
न्युयोर्क टाइम्सका सिनेमा समीक्षक बोस्ले क्रोथरले फिल्मको प्रशंसा गर्दै भनेका छन्, ‘युद्धपछिको रोमको भ्रष्टाचार, अनियमिततादेखि त्यसमा बाँचेको जीवनको दुःखलाग्दो प्रदर्शन हेर्दा लाग्यो– यो सिनेमाले दिएको अनुभूति सार्वभौमिक छ ।'
यस फिल्मले गोल्डेन ग्लोब, अस्कार लगायत विश्वका थुप्रै सम्मानित अवार्डहरु हात पारेकाे छ ।
पाथेर पाञ्चाली (भारत, सन् १९५५)
भारतीय फिल्म इतिहासमा ‘पाथेर पाञ्चाली’ यस्तो विशेष फिल्म हो, जसले भारतीय फिल्मलाई अस्कारको यात्रा मात्र गराएन, भारतीय फिल्म निर्माणमा कथावाचन र निर्माणमा शैलीगत रुपमै हस्तक्षेप गर्याे ।
सत्यजित रेद्वारा लिखित तथा निर्देशित बंगाली भाषाको यस फिल्मको अर्थ ‘गल्ली वा सडकको गीत’ भन्ने हुन्छ । विभूतिभूषण बन्धोपाध्यायको उपन्यासमा आधारित यस फिल्म सत्यजित रेको पहिलो फिल्म हो । उनका अन्य फिल्महरु पनि उत्तिकै दर्शनीय र चर्चित छन् ।
अपु ट्रिलजीअन्तर्गतको पहिलो फिल्म हाे याे । यसमा नायक अपु र उनकी जेठी बहिनी दुर्गाको बाल्यावस्थाका साथै उनीहरुको निम्नवर्गीय परिवार र परिवेशको चित्रण गरिएको छ ।
सीमित बजेटका कारण फिल्मको छायांकन पूरा गर्न तीन वर्ष लागेको थियाे । यस फिल्मको अर्को महत्त्वपूर्ण पाटो भनेको ध्वनि संयोजन र पार्श्व संगीत हो । सितारवादक रविशंकरले ‘पाथेर पाञ्चाली’मा पार्श्व संगीत सिर्जना गरेका थिए । यस फिल्मले पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो ।
द गड फादर (अमेरिका, सन् १९७२)
अपराध कथामा बनेको फ्रान्सिस फोर्ड चोपोला निर्देशित अमेरिकी थ्रिलर फिल्म ‘द गड फादर’ बहुचर्चित उपन्यासमा आधारित छ । गडफादर ट्रिलजीको यस पहिलो फिल्ममा १९४५ देखि १९५५ सम्मको १० वर्षे अवधिलाई समेटिएको छ ।
एक काल्पनिक अमेरिकी अपराधी परिवार कोर्लियानको इतिवृत्तान्तको कथा हो गड फादर । ‘सिटिजन केन’पछि ‘द गड फादर’लाई अमेरिकी फिल्म इतिहासमा दोस्रो महत्त्वपूर्ण फिल्मका रुपमा लिइन्छ ।
यसको पछिल्लो भाग १९७४ र १९९० मा निर्माण गरिएको थियो । यस फिल्मले पनि एकेडेमी अवार्डदेखि अनेकौं अवार्ड जितेको थियो । फिल्मप्रति चासो राख्ने र फिल्म अध्ययन गर्नेका लागि यो विशेष फिल्म हो ।
इन्टरटेन्मेन्ट विक्लीले फिल्मको समीक्षा गर्दै यसलाई ‘सर्वकालिक महान् सिनेमा’को संज्ञा दिँदै भनेको छ, ‘यो कलाकारिता अपूर्व नमुना रहेको ग्यांगस्टर फिल्म हो ।’ यस फिल्मको साउन्ड ट्रयाक अहिले पनि उत्तिकै प्रसिद्ध छ ।
रेड सोरगम (चीन, सन् १९८७)
चिनियाँ फिल्म जगतमा जाङ यिमाउ निर्देशित यस फिल्मले पनि आफ्नै शैली स्थापित गर्याे । पाँचौं पुस्ता समूहका मुख्य सदस्य जाङ यिमाउले जापान चीन युद्धताकाको दृश्यलाई सचेतापूर्वक फिल्ममा उतारेका छन् ।
यस फिल्मको सिनेमाटोग्राफी, यसको रंग संयोजन र ध्वनि संयोजनले फिल्मको कथावाचन भनेको कथा मात्र होइन, त्यसबाहेक यी कुराहरु पनि हुन् भन्ने स्थापित गर्याे । निर्देशकसँगै अहिलेका चर्चिक अभिनेत्री गोङ्ग लीको यो डेब्यु फिल्म हो ।
सोरगम भनेको चीनमा रक्सी बनाउन प्रयोग गरिने मकैको बोटजस्तो देखिने तर कोदोजस्तो बालामा फल्ने एक वनस्पति हो । फिल्ममा रेड अर्थात् रातोको अर्थ यहाँ यसबाट उत्पादित हुने रातो रक्सी हुन्छ । यससँगै सोरगम फाँटमा हुने विभिन्न घटनाहरु, पात्रहरुको संघर्ष तथा तत्कालीन सामाजिक र राजनीतिक वस्तुस्थितिलाई पनि संकेत गरिएको छ ।
युवती जियुरको एक रक्सी कारखानाका कुष्टरोगी वयवृद्ध मालिकसँग विवाह गरिदिइन्छ । विवाह जन्तीमाथि डाँकुहरुले आक्रमण गर्दा एक डोले युवकले जियुरको शरीर तथा जीवन रक्षा गर्छ । त्यसपछि हुने सम्बन्ध र जापानी सेनाको अत्याचारविरुद्धको संघर्षलाई सुन्दर र बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ ।
यस फिल्मले पनि निर्देशक, सिनेमाटोग्राफी, ध्वनि, रंग संयोजन, पटकथालगायतमा अनेकौं अवार्ड जितेको छ । ‘रेड सोरगम’लाई चिनियाँ फिल्मको कोसेढुंगाका रुपमा लिइन्छ । जसले चिनियाँ फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने काम गर्याे ।
टेस्ट अफ चेरी (इरान १९९७)
फिल्म निर्देशक अब्बास किरोस्तामीको नाम सुन्नेबित्तिके फिल्ममा चासो राख्नेको कान ठाडो हुन्छ । किरोस्तामी बाल पात्रलाई नायक बनाएर वृत्तचित्रको शैलीमा कथा भन्न, ग्रामीण जनजीवन प्रस्तुत गर्न, विषय, शीर्षक र संवादमा पार्सियन काव्यात्मक शैलीका लागि माहिर मानिन्छन् । उनै किरोस्तामीको फिल्म हो ‘टेस्ट अफ चेरी’ ।
ड्रामा जेनराको पार्सियन सिनेमा यसमा सहरका छेउछाउ काँठमा कार चलाउँदे डुल्ने मानिसको कथा छ । जो आफूले गर्ने आत्महत्यापछि आफूलाई गाड्ने र अन्तिम संस्कार गर्ने मानिसको खोजीमा छ ।
कान्सको विशिष्ट अवार्डबाट सम्मानित ९५ मिनेट लामो यस फिल्ममा लामो दृश्यांश र दृश्यहरु छन् । कतिलाई हेर्दा फिल्मप्रति गुनासो पनि जाग्छ नै । तर निर्देशकको आफ्नै शैली र कथाको यही गतिशीलता यस फिल्मको विशेषता हो । जसको अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा भयाे ।
यो पनि पढ्नुहोस्
सित्तैमा पढ्नुहोस् बिपीका पुस्तक