काठमाडौं– साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकले बताएका छन् । नेपाली कांग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले बिहीबार बेलुकी भर्चुअल माध्यमबाट आयोजना गरेको ‘बुद्धिको पाइला’ माथिको परिचर्चा कार्यक्रममा डा. विमला शर्मा, रमा केसी, प्राडा. भागवत ढकाल, दीन पन्थीलगायतले देशभक्तिको भावना बोकेको शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता लेख्ने परम्परा संरक्षणमा समेत योगदान गरेको बताए ।
नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार व्यक्ति गरिएको थियो ।
उपजाति, शार्दुलविक्रीडितलगायत नौ छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छन् । नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने कवि ज्ञवालीले बताए । विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ ।