नमस्कार,
म कोरोना संक्रमित खेमप्रसाद अधिकारी । यतिबेला कोरोना संक्रमणका कारण मनमोहन मेमोरियल हस्पिटलको आइसोलेसन बेड नम्बर ५० बाट यो लेख तयार गर्दै छु । सम्पूर्ण साथीलाई आत्मबल बलियो बनाएर रोगसँग लड्ने तयारी गर्न अनुरोध गर्दछु ।
कोरोनाका कारण मृत्यु वरण गर्ने सबैले शान्ति पाऊन् । म जस्तै उपचाररत सबै संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
३२ साउनमा सुरक्षा र सतर्कतासहित आफ्नो काम सकेर घर फर्किएको थिएँ । राति एक्कासि हनहनी ज्वरो आयो । ज्वरो नापें, १०२ डिग्री सेल्सियस । छाती दुख्न थाल्यो । घाँटीमा कफ पनि बस्यो, जसका कारण श्वासप्रश्वासमा समस्या भयो । जोर्नी र टाउको पनि निकै दुख्न थाल्यो । केही समयपछि शरीरबाट अत्यधिक पसिना आउन थाल्यो ।
म डराएँ । सोचें– कोरोना संक्रमित भएँ । सम्झिएँ, बूढी हजुरआमा, साना भान्जाभान्जी, बिरामी बुबाआमा । म झनै अत्तालिएँ । संक्रमित भएको रहेछु भने अरूलाई संक्रमण नहोस् भन्ने लाग्यो । म छुट्टै कोठामा बसें । पारासिटामोल खाएँ । तातोपानी, बेसारपानीलगायत घरायसी औषधि पनि खाएँ । त्यो रात घरमा ‘आइसोलेटड’ भएर बसें ।
- पिसिआर रिपोर्टको सूचना मोबाइलमा आउँछ भनिएको थियो । मोबाइल एकै छिन छोडिन । निद्रामा पनि झस्किएर ब्युझिएँ । रात निकै लामो लाग्यो ।
भोलिपल्ट बिहान जिउ हलुका भएछ । निको भएझैं लाग्यो । तर, पसल जान मन मानेन । आफू संक्रमित भएको रहेछु भने ग्राहकमा संक्रमण सर्छ भन्ने लाग्यो । म पसल गइनँ । त्यस दिन डेरीमा काम गर्ने सहयोगी भाइ र बुबाले पसल खोल्नुभयो ।
छटपटीमा बितेको रात
भोलिपल्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु गएर पिसिआर परीक्षण गर्ने निधो गरें । म बाइक चलाएर टेकु पुगें । स्वाब परीक्षणका लागि नमुना संकलनमा सहभागी भएँ । त्यसपछि सरासर घर फर्किएर आफ्नै कोठामै बसें ।
एक रातमै लक्षण हराएको थियो । ममा कुनै दीर्घ रोग पनि थिएन । यसकारण सोचें, रिपोर्ट नेगेटिभ आउँछ । पिसिआर रिपोर्टको सूचना मोबाइलमा आउँछ भनिएको थियो । मोबाइल एकै छिन छोडिन । निद्रामा पनि झस्किएर ब्युझिएँ । रात निकै लामो लाग्यो । तर, पिसिआर रिपोर्ट आएन । उज्यालो भयो । सधैं झैं नित्य कर्म गरें । तर, घरी घरी मोबाइलमा ध्यान दिइरहें ।
घरमै सुरक्षित
भदौ ४ गते दिउँसो १२ः४९ बजेको थियो । मोबाइलमा कलिङ घण्टी बज्यो । फोन रिसिभ गरें । उताबाट आवाज आयो, ‘सर, म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट...!’
बेहोस हुँला हुँला जस्तो भएँ । फोनकर्ताले प्रश्न गरे, ‘तपाईं खेमप्रसाद अधिकारी हो ?’
‘हो, सर ! किन र ?’
मुटुको धड्कन तेज गतिमा धड्किन थाल्यो । सास रोकिएला झैँ भएको थियो । म आतुर थिएँ, पिसिआर रिपोर्टको नतिजा सुन्न ।
फोनकर्ताले भने, ‘सर तपाईंमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षित बस्नुहोला ।’
- अरूलाई सम्झाउन सकिए पनि आफैंलाई सम्झाउन नसकिँदो रहेछ । मन अमिलो भइरह्यो । रातभरि आफैंलाई सम्हाल्न गाह्रो भयो । मुस्किलले रात बिताएँ ।
त्यसपछि मेरो अवस्था सोधियो । सबै बेलिबिस्तार लगाएँ । उनले घर या हस्पिटल कहाँ बस्ने भनेर रोज्न लगाए । उनीबाट घरमा बस्दा पनि सरकारले निगरानी गर्ने कुरा थाहा पाएँ । मैले उनीसँग धेरै कुरा सोधें । उनले बताए । अन्त्यमा मैले भने, ‘म घरमै सुरक्षित बस्छु ।’
उनले भने, ‘नडराउनुस् । आत्मबल बलियो बनाउनुस्, केही हुँदैन । यदि अप्ठ्यारो प¥यो भने ११३३ मा जानकारी गराउनुहोस्, तुरुन्त हस्पिटलको व्यवस्था हुन्छ ।’
मेरो रिपोर्टको नतिजा सुनेर घरमा पुरै सन्नाटा छायो । परिवार, आफन्त तथा साथीसर्कलमा म पहिलो संक्रमित थिएँ । बजारिया हल्लाले आफैं हल्लिएको थिएँ । त्यसमाथि थपियो परिवारलाई सम्झाउने अभिभारा । सबैलाई सम्झाउने प्रयत्न गरें । लगभग सबै कन्भिस भए । त्यो रात घरमै बस्ने निधो गरें । अरूलाई सम्झाउन सकिए पनि आफैंलाई सम्झाउन नसकिँदो रहेछ । मन अमिलो भइरह्यो । रातभरि आफैंलाई सम्हाल्न गाह्रो भयो । मुस्किलले रात बिताएँ । घरमा भएका सबैको अवस्था हेरें । मनमनै निर्णय गरे, ‘म घरमा बस्नुहुँदैन ।’
बिदाइमा बहिनी
बिहानै स्वास्थ्य मन्त्रालयको हटलाइन ११३३ मा फोन गरेर घरमा बस्न नसक्ने जानकारी गराएँ । त्यही दिन दिउँसो १ बजेतिर मनमोहन मेमोरियल हस्पिटल दहचोकमा बेड मिल्यो । म हस्पिटल जान तयार भएँ । एकै छिनमा एम्बुलेन्स आयो । गला अवरुद्ध भयो । आँखा रसाएँ । तर, मन बलियो बनाएर सबैसँग बिदा मागें । जेठी बहिनी गेटसम्म मलाई छोड्न आएकी थिई । गेटबाट बाहिर निस्कँदै गर्दा मन थामिएन । बहिनीले आँसु देख्ली भनेर म फटाफट हिँडे । एम्बुलेन्स नजिकै पुगें ।
एक नर्सले ढोका खोल्दै भनिन्, ‘बस्नुहोस् । चिन्ता नलिनुस्, चाँडै निको हुन्छ ।’
मन भारी भएको थियो । तर परिवारलाई ठीकठाक छु भन्ने बनाउनु थियो । मोबाइलबाट आफू बसेको एम्बुलेन्सको फोटो र भिडियो खिचेर पठाएँ ।
त्यसपछि एम्बुलेन्स हुइँकियो । मन भने घरमै छोडियो । एकैछिनमा कलंकी चोकबाट अर्को साथी थपिए । उनी पनि म जस्तै सामान्य थिए । अलि आत्मबल बढेर आयो । हस्पिटलको गेटमा पुगेर एम्बुलेन्स रोकियो । ढोका खुल्यो । म निस्किएँ । ‘चाँडै निको भएर फर्कनू है सर,’ नर्सले भनिन् ।
- उपचारको नवौं दिन चल्दै छ । एउटा कोठामा १० जना छौं, एकै परिवारका मानिस जस्तो भएर बसेका छौं । आफ्नै सुरमा रमाइलो गर्छौं ।
हस्पिटलमा रमाइलो
हस्पिटलको चौथो तल्लाको आइसोलेसन बेड नम्बर ५० मा भर्ना भएँ । डराई डराई बिस्तारै बेड मिलाएँ । सबैतिर आँखा कुदाएँ । सबै आफ्नै सुरमा थिए । मनमनै कामना गरें, मबाट अरूमा संक्रमण नसरोस् ।
खाजाका लागि माइकिङ भयो । खाजा ल्याएर खाएँ । उसैगरी खानाका लागि पनि माइकिङ हँुदो रहेछ । साथीहरुसँग चिनजान गरे, आत्मीयता बढ्दै गयो ।
उपचारको नवौं दिन चल्दै छ । एउटा कोठामा १० जना छौं, एकै परिवारका मानिस जस्तो भएर बसेका छौं । आफ्नै सुरमा रमाइलो गर्छौं । कसैलाई केही समस्या परे इन्चार्जलाई फोन गरेर भन्छौं । समस्या समाधान हुन्छ । सबै कुरा सन्तोषजनक नै छ । हस्पिटलको व्यवस्थापन राम्रो लाग्यो । म कोरोनाको युद्ध जितेर फर्कनेछु ।
समाजको कुरा
समाजमा कोरोना लागेपछि मरिहालिन्छ भन्ने भ्रमको पहाड फैल्याइएको छ । कोरोना संक्रमितलाई गलत दृष्टिकोणबाट हेरिन्छ, हेला गरिन्छ । संक्रमित आफैंले ठान्छ, समाजले मलाई हेला गर्छ । तर, यो भ्रम आजैबाट हटाउनु जरुरी छ । मैले त कोरोना सामान्य रोग हो भनेर बुझिसकें । अरूले पनि बुझ्नु जरुरी छ ।
टोलछिमेक र परिवारले साथ दिए कोरोनालाई जित्न गाह्रो छैन भन्ने लाग्छ । हस्पिटल बसाइको आठौँ दिनले सिकाएको पाठ यही हो ।
बिरामी आफैंले पनि नियमित योग गर्नुपर्छ । तातोपानी, दूध बेसार, गुर्जोपानी, माछामासु तथा फलफूल नियमित सेवन गर्नुपर्छ । हस्पिटलमा पनि संक्रमितलाई यस्तै खानेकुरा दिइन्छ ।
संक्रमितलाई नभेट्नुहोस् । तर, बेलाबेला फोन गर्नुहोस्, हालखबर सोध्नुहोस् । सामान्य गफ गर्नुहोस् । उत्साह दिनुहोस् । जसबाट संक्रमितको आत्मबल बलियो हुन्छ र कोरोनामुक्त हुन सहयोग पुग्छ । मेरो आत्मविश्वासले भन्छ– म चाँडै घर फर्किनेछु ।
(कुराकानीमा आधारित)