यसपटकको ‘शैली संवाद’मा नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक स्वर्णपदक विजेता एथलेट सन्तोषी श्रेष्ठसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
सार्क गेममा स्वर्णपदक जित्दाको अनुभव कसरी सम्झनुहुन्छ ?
यो मेरा लागि ठूलो एचिभमेन्ट हो । देशका लागि स्वर्ण जित्दा गौरव लाग्ने नै भयो । अझ एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी र १० किलोमिटरमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्छु भनेर सोचेकी थिइनँ । तर, सागमा गोल्ड जित्नुपर्छ भन्ने चाहिँ लाग्थ्यो, त्यहीअनुसार मेहनत पनि गरेकी थिएँ । अझ संयोग भारतीय खेलाडीलाई मिलिसेकेन्डले मात्र जितें । गुरुदेखि एसोसिएसनले पनि त्यसरी नै मेडल जित्नका लागि मेहनत गराउनुभएकाे थियो ।
पछि जितिसकेपछि मात्र थाहा पाएँ, यो त पहिलो अन्तर्राष्ट्रिय स्वर्ण रहेछ । यही सागमा मैलै हारको पनि अनुभव गरेकी छु । ऐतिहासिक जित र हारको अनुभूतिले पनि धेरै कुरा सिक्न पाएँ । एकै इभेन्टमा यी फरक फरक दुई अनुभव संगालें । यो मेरा लागि सन्तुलन पनि हो भने बुझे ।
नेपालमा एथलेटिक्सको भविष्य कस्तो छ ?
अहिले केही राम्रो भएको छ । फेरि राम्रो भनेर सन्तुष्ट हुने ठाउँ भने छैन । आगामी दिनमा राम्रो हुँदै जाला भन्ने अपेक्षा भने गर्न सकिन्छ । यसमै लागेर जीविकोपार्जनमा भने अझै गाह्रो छ । थोरै हुनुहोला, जसले खेलकुदबाटै दैनिकी चलाउनुभएको छ । धेरैको अवस्था भने खेलुन्जेल ठीक–ठीकै, त्यसपछिको द्विविधा यथावत् छ ।
अन्य देशको तुलनामा नेपालभित्र महिला खेलाडीको अवस्था कस्तो छ ?
हाम्रै देशभित्र पनि सबै महिला खेलाडीको अवस्था एउटै हुँदैन । महिला मात्र होइन, पुरुष खेलाडीमा पनि याे कुरा लागु हुन्छ । सबैजना फरक फरक पृष्ठभूमिबाट आउनुभएको हुन्छ । आफ्नै समस्या र अवरोध हुने गर्छन् । आर्थिक कारण मात्र नभएर सामाजिक कारणले पनि महिलालाई यो क्षेत्रमा टिकिरहन गाह्रो छ ।
धेरैजसो महिलाहरु विवाहपछि हराउनुहुन्छ । एकाध हुनुहुन्छ, जो बच्चा जन्माएपछि पनि खेलेर मेडल जितिरहनुभएको छ । यसका लागि परिवारको साथ र सहयोगले ठूलो भूमिका खेल्छ । यसरी हेर्दा हाम्रा आफ्नै सबल र कमजोर पक्ष छन् ।
विदेशी महिला खेलाडीको कुरा गर्नुपर्दा हाम्रो तुलनामा धेरै नै भिन्नता छ । पक्कै पनि विकसित देशले खेलकुदमा ठूलो लगानी गरिएको हुन्छ । खेलाडीहरुले ट्रेनिङ कल्चरदेखि उनीहरुको जीवनस्तर, डाइटिङ, सेवासुविधा राम्रो पाएका हुन्छन् । भविष्यको चिन्ता हुँदैन । राष्ट्रले नै उनीहरुलाई सहयोग गरिरहेको हुन्छ । त्यसैले उनीहरु खुलेर खेल्न सकेका छन् । हामीकहाँ खेल संस्कार अलि कमजोर नै छ ।
तपाईले परिवारबाट कतिको सहयोग पाउनुभएको छ ?
परिवारको सहयोगविना जो कोही पनि एउटै फिल्डमा टिकिराख्न एकदमै गाह्रो नै हुन्छ । अझ भिन्न पेसा अँगाल्ने अथवा अरुले गरिरहेको भन्दा अलग काम गर्न चाहनेहरुका लागि पारिवारबाट सहयोग पाउनै गाह्रो छ । सुरूवातमा मेरो अवस्था पनि त्यस्तै थियो । मचाहिँ खेलकुदमै मात्र लाग्छु भनेको भए पाउदिनथें होला । पढाइसँगै यसलाई प्यासनका रूपमा अगाडि बढाएकाले असहयोग भएन । मचाहिँ आफूलाई 'लक्की' ठान्छु । मैले परिवारबाट सहयोग पाएँ ।
जब तपाईंले केही एचिभ गर्नुहुन्छ । समाजले वाह ! भन्ने काम गर्छ, त्यसपछि भने धेरै सजिलो हुन्छ । समाज र परिवारले हेर्ने दृष्टिकोणले धेरै फरक पार्छ भन्ने महसुस मैले गरेकी छु। यसले एकदमै ऊर्जा दिन्छ । हौसला मिल्दो रहेछ । योभन्दा अझ राम्रो गर्न सक्छु भन्ने आँट आउँदो रहेछ ।
अन्य खेलको तुलनामा एथलेटिक्स खेलसँग सम्बन्धित प्रतियोगिता नेपालमा कतिको आयोजना गरिन्छ ?
म एथलेटिक्सअन्तर्गत लङ्ग डिस्टेन्स रनर हुँ । विशेषगरी प्राइभेट सेक्टरबाट विभिन्न प्रतियोगिता आयोजना गरिन्छ । सरकार वा खेलकुद परिषदबाट हुने भनेको राष्ट्रिय खेलकुद हो । स्कुलका लागि राष्ट्रपति रनिङ शिल्ड हो । एसोसिएसनबाट राष्ट्रिय एथलेथिक्स प्रतियोगिता पनि हुन्छ । तर सबै नियमित समयमा भइरहेको छैन । फुटबल र क्रिकेटजस्ता खेलमा सरकारका तर्फबाट बढी लगानी हुने गरेको छ ।
कर्पोरेट सेक्टरकाले आफूलाई फाइदा हुने किसिमले उतै लगानी गर्नुहुन्छ । जता क्रेज बढी छ, त्यही लगानी हुनु र चासो दिनु स्वाभाविक पनि हो । तर, सामाजिक उत्तरदायित्वअन्तर्गत लगानी गरेको हो भने कर्पोरेटले आफ्नोभन्दा त्यो क्षेत्र र सरकोरावालाको फाइदा हेर्नुपर्ने हो ।
नियमित गेम हुन नसक्नु नै विडम्बना हो । एकोहोरो मेहनत गरेर मात्र हुँदैन । जब आफूले गरेको मेहनत देखाउने ठाउँ हुँदैन अनि खेलाडीहरु निराश भएर पलायन हुने गरेका थुप्रै उदाहरण छन् । खेलाडीका लागि आफ्नो क्षमता देखाउने अथवा कमीकमजोरी सुधार्ने भनेकै प्रतियोगिता हो । अवसर नै छैन भने मेहनत केका लागि भन्ने हुन्छ । यसरी हेर्दा व्यक्तिगत स्पर्धाका गेमहरु ओझेल परेको स्पष्ट देखिन्छ । यसो भनेर निराश भइहाल्ने पनि होइन, पहिलाभन्दा राम्रो हुँदै छ ।
महिनावारीले ट्रेनिङ वा ठूलो प्रतियोगितामा असर गरेको छ ?
यो प्राकृतिक कुरा हो । यसबाट डराउनुपर्ने त केही होइन । फेरि पनि सामान्य अवस्थाभन्दा यो बेला केही अप्ठ्यारो भने पक्कै हुन्छ । कमजोरी महसुस भएको हुन्छ । मानसिक रूपमा कमजोर भएजस्तो हुन्छ । त्यसको प्रत्यक्ष असर खेलमा देखिन्छ । आफूले गर्न सक्ने जति नतिजा ल्याउन पक्कै असर गर्छ ।
मेरो हकमा भन्नुपर्दा महिनावारीकै कारण अहिले सम्म कुनै प्रतियोगिता वा ट्रेनिङ छोडेकी छैन । यस्तो बेला ट्रेनिङ गर्नुहुन्न वा गेम खेल्नुहुँदैन भन्ने त्यस्तो केही छैन । संयोगवश मलाई ठूलो प्रतियोगिता खेल्दा यस्तो समस्या परेको छैन । अन्य बेला धेरै भोगेकी छु । फेरि सबैलाई सहज हुन्छ भन्ने हुँदैन । मलाईभन्दा अरुलाई गाह्रो हुन सक्छ । कसैलाई एकदमै सहनै नसक्ने अवस्था पनि हुन्छ ।