काठमाडौं– अरुबेला सभा, सम्मेलन भइराख्ने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कोरोना महामारीपछि त्यस्ता कार्यक्रम भएको छैन । करिब ६ महिनापछि यहाँ शुक्रबार अलि धेरै मानिसको जमघट भयो । तर माहोल कुनै सभा वा साँस्कृतिक कार्यक्रमको होइन ।
सभागृह परिसरमा पिपिई लगाएका स्वास्थ्यकर्मी हरु, क्यामेरा भिरेका ‘प्रेस’ ज्याकेट लगाएका फोटोपत्रकारहरुको आवतजावत थियो । फोटो पत्रकार यहाँ कुनै कार्यक्रमको फोटो खिच्न पनि पुगेका थिएनन् । उनीहरु आफ्नै कोरोना परीक्षणका लागि त्यहाँ पुगेका थिए ।
भौतिक दूरी कायम गर्ने प्रयास गर्दै धेरैपछि एकैसाथ भेटिएका यी पेशाकर्मीले हात हल्लाउँदै हाइ–हेल्लो चाहीँ गरे तर भलाकुसारी गर्ने अवस्था भने रहेन । स्वाब दिदैं उनीहरु फर्कने हतारोमा थिए । तर साथीहरु भेटेको बेला मन कसरी थामिन्थ्यो, टाढा टाढै रहेर चिन्तामिश्रित ठट्टा गर्न भ्याए, ‘अहिले आँ गर्नुस्, सिगान-खकार दिनुस् । आशा गरौं कसैलाई कोरोना छैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारगृहका १ सय २५ जना फोटोपत्रकारहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्ध रहेका फोटोपत्रकारहरुको स्वाब भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा गरिएको हो ।
देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि समन्वय गरेको हो । देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तीव्र पारिएको छ ।
शुक्रबार फोटो पत्रकारहरुले एकैछिन क्यामेरा छेउ लगाएर कोरोना परीक्षण्का लागि स्वाब दिँदाको समयलाई नेपाली पब्लिककी श्रुति श्रेष्ठले फोटोमा संग्रहित गरेकी छिन् ।