काठमाडौं– वीरगञ्जको घण्टाघरबाट माइस्थान जाने बाटोमा दाहिनेपट्टी छ– हिमाञ्चल केबिन । आधा शतक लामो इतिहास बोकेको हिमाञ्चल केबिन वीरगञ्जकै उत्कृष्टमध्येको शाकाहारी रेष्टुरेन्ट मानिन्छ ।
कोभिड सुरु हुनुअघिसम्म विजय राजकर्णिकार (४५ वर्ष) यही रेष्टुरेन्टको काउन्टरमा देखिन्थे, मधुर मुस्कानका साथ । तर, अब केबिनका ग्राहकले विजयको त्यो मुस्कान देख्न पाउने छैनन् ।
कोरोना संक्रमणका कारण विजयको साउन २२ मा मृत्यु भयो । उनको दाहसंस्कारसमेत परिवारले गर्न पाएन, राज्यले कोभिड संक्रमित भएर मृत्यु भएकाहरूको दाहसंस्कारको दायित्व नेपाली सेनालाई दिएको छ । यस्तो बज्रपातबाट गुज्रिएको राजकर्णिकार परिवारको दुःख यतिमै सकिएन ।
काेराेनाका कारण ज्यान गुमाएका विजय संक्रमित दिदि ममतासँग (तस्विरः विजयकाे फेसबुकबाट)
विजयको मृत्यु भएको केही दिनपछि उनकी आमा केदारनानी र दिदी ममता राजकर्णिकारमा पनि कोरोना संक्रमण पुष्टि भयो । उनीहरूको अहिले ग्राण्डी अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ । भेन्टिलेटरमा उनीहरू जीवनको लागि संघर्ष गरिरहेका छन् । केदारनानी हृदय रोगको पुरानै बिरामी हुन् ।
उपचारको लागि खर्च जुटाउन उनीहरूका आफन्तहरूले गोफन्डमी डटकममार्फत सहयोगको अपिलसमेत गरेका छन् । ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख नेपाली रुपैयाँ हाराहारी संकलन गर्ने उद्देश्यका साथ सुरु गरिएको चन्दा संकलन अभियानमा यो समाचार तयार पार्दासम्म १ सय ४८ जनाबाट ६ हजार ९ सय ८१ अमेरिकी डलर अर्थात करिब ८ लाख नेपाली रुपैयाँ बराबर संकलन भइसकेको छ ।
‘भाइरसका कारण उहाँहरूको फोक्सो गम्भीर रूपमा क्षतिग्रस्त भएको छ’, गोफण्डमी (सहयोग जुटाउन प्रयोग गरीने वेबसाइट) मा लेखिएकाे छ, ‘डाक्टरहरूले उहाँहरूको स्वास्थ्यलाभको बाटो लामो र कडा हुँदै गइरहेको बताउनुहुन्छ ।’
गाेफण्डमा उल्लेख भएअनुसार उनीहरूको उपचारमा अहिलेसम्म ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ‘उपचारको लागि यति धेरै खर्च भइसक्दा पनि हामी उपचारको आधा बाटोमा पनि छैनौं,’ गोफण्डमीमा थप लेखिएकाे छ, ‘उपचारको लागि खर्च जुटाउन निकै गाह्रो भइरहेको छ ।’
‘हामी केही सुधारका संकेतहरूको प्रतीक्षा गर्दै पलपल बाँचिरहेका छौं र, यसले हाम्रो परिवारमा मानसिक, भावनात्मक र आर्थिक तवरमा असर गरेको छ,’ गाेफण्डमा लेखिएकाे छ, ‘हामीलाई चन्दा दिएर सहयोग गर्न आग्रह गर्दछौं ।’’
केदार नानी र ममताको उपचारमा सहयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।