काठमाडौं- यसपटक विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै आधार बनाएर कक्षा १० को नतिजा प्रकाशन भयो । यसैकारण छरछिमेक तथा सामाजिक सञ्जालले यस ब्याचलाई ‘कोरोना ब्याच’ को ट्याग दिए । जुन ट्याग सुन्दा बाँसबारीकी रिश्वन अर्याललाई निकै दुःख लाग्छ ।
भन्छिन्, ‘हामीले परीक्षाका लागि अत्यन्त मिहिनेत गरेका थियौं । कोरोनाका कारण परीक्षा भएन । टीकोटालो लगाएर उत्तीर्ण गराइयो भन्ने आरोप लगाइयो, जसबाट नरमाइलो महसुस भएको छ ।’
उनी यतिबेला कलेज छनोट गर्दै छिन् । उनी कक्षा ११ मा ‘बिजनेस म्यानेजमेन्ट’ पढ्न चाहन्छिन् । तर, भर्ना प्रक्रियाको कुनै सुरसार नभएकामा उनी अन्योलमा छिन् ।
त्यस्तै, सुर्खेतका मनोज योगी पनि ‘कोरोना ब्याच’ भन्दा रुचाउँदैनन् । उनको प्रतिक्रिया अर्यालसँग मिल्छ । उनी फुर्सदको समय सदुपयोग गर्न स्वाध्ययन गर्छन् । भन्छन्, ‘सरकारले कक्षा ११ को भर्नाबारे कुनै निर्णय गरेको छैन । सरकारको निर्णयको प्रतीक्षामा छु ।’
‘कोरोना ब्याच !’
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष कृष्ण थापा कक्षा १० को परीक्षा विद्यालय तहैबाट हुने पद्धतिलाई निरन्तरता दिनुपर्ने बताउँछन् । भन्छन्, ‘यसो गर्दा ‘कोरोना ब्याच’ को ट्याग लाग्दैन । यो त ऐतिहासिक प्रणाली बसेको वर्ष बन्छ ।’
उनी विद्यार्थीलाई हीनताबोध नगर्नसमेत सल्लाह दिन्छन् । उनी भन्छन्, ‘यसपटक फरक तरिकाले मूल्यांकन भएको हो, त्यसै उत्तीर्ण गराइएको होइन ।’
कक्षा ११ मा भर्ना कहिले ?
कोभिड महामारीकै बेला पनि शैक्षिक सत्रलाई निरन्तरता दिन सकिने थापाको भनाइ छ । उनी भन्छन्, ‘भर्ना प्रक्रिया सुरु गर्नुपर्छ । हामी जति बेला पनि कक्षा ११ मा भर्ना लिने अवस्थामा छौं तर शिक्षा मन्त्रालयले अंकुश लगायो ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा कोरोना महामारीका कारण भर्ना प्रक्रिया भदौ १६ गतेसम्म स्थगित भएको बताउँछन् ।
उनी भन्छन्, ‘कक्षा ११ को भर्ना प्रक्रिया अलिकति ढिला भएको हो । सारै ढिलो भयो भनेर निराश हुनुपर्ने अवस्था छैन । हामी व्यवस्थापन गर्छौं ।’
मन्त्रालयले कोरोना संक्रमण दर घटेर परिस्थिति अनुकूल हुँदै गएमा भदौ १६ पछि भर्ना कार्यक्रमको तयारी गरेको जानकारी गराउँछन् ।
शिक्षाविद् विद्यानाथ कोइराला कक्षा ११ को भर्ना प्रक्रियामा शिक्षा मन्त्रालयबाट बदमासी भएको बताउँछन् । उनको तर्क छ, ‘विद्यालय स्थानीय तहअन्तर्गत छ । स्थानीय तहसँगको समन्वयमा विद्यालयले आजै कक्षा ११ को भर्ना प्रव्रिmया सुरु गर्नुपर्छ । विद्यालयलाई यसरी अंकुश लगाउनुहुँदैन ।’
कोइराला भौतिक रूपमै उपस्थित हुन नपर्ने गरी भर्ना प्रक्रिया सुरु गर्न सकिने बताउँछन् । कोइरालाको विचारमा मन्त्रालयका प्रवक्ता शर्मा पनि सहमत छन् । उनी भन्छन्, ‘फोन, अनलाइन आदि माध्यमबाट भर्ना गर्न सकिन्छ । तर सरकारको निर्णय कुनुपर्छ ।’
भर्ना प्रक्रिया सुरु गरेर वैकल्पिक विधिबाट पठन पाठन गर्न कोइरालाले सुझाव दिएका छन्, जसमा विद्यार्थी र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको सहमति रहेको छ ।
नयाँ पाठ्यक्रम
यस शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय भएको छ । त्यही निर्णयअनुरूप सरोकारवाला निकायले तयारी गरेका छन् । नयाँ पाठ्यक्रमका कारण विद्यार्थी अन्योलमा रहेको जानकारी गराउँदा मन्त्रालयका प्रवक्ता शर्मा नयाँ पाठ्यक्रमले विद्यार्थीलाई असर नगर्ने बताउँछन् । भन्छिन्, ‘नयाँ विद्यार्थीले नयाँ पाठ्यक्रम पढ्ने हो । त्यसकारण असर गर्दैन । शिक्षकको पाटोमा विचार गर्नुपर्ने हुन्छ ।’
उनले नयाँ पाठ्यक्रमबारे अन्योल रहेमा स्थानीय तहमाका शिक्षा शाखासँग समन्वय गर्न सल्लाह दिएका छन् ।
‘डि प्लस’ नल्याउनेले भर्ना हुन नपाउने !
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि आवश्यक आधारहरू तोकेको छ । सोअनुसार कक्षा ११ मा भर्ना हुन १.६ जिपिए ल्याउनैपर्ने हुन्छ । त्यस्तै अंग्रेजी, गणित र विज्ञान विषयमा ‘डि प्लस’ नल्याएका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । मन्त्रालयका प्रवक्ता शर्माले यसबारे धेरै गुनासो आएकाले छलफल गरिरहेको जानकारी दिए ।