काठमाडाै– विभिन्न विधा, क्षेत्रमा सक्रिय एवं अनुभवी १५ जना व्यक्तित्वसँग ‘शैली संवाद’ सुरु भएको छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा ‘शैली संवाद सुरु भएको हो ।
कार्यक्रम शैली थिएटरको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण हुने गर्छ । शैली थिएटरकी कार्यक्रम संयोजक एवं रंगकर्मी सरस्वती अधिकारीले अतिथिहरुको अनुभव र बुझाइलाई यसरी प्रस्तुत गरेकी छन् :
शैली थिएटरका व्यवस्थापक सुवास सुवेदी भने, ‘थिएटरले आफ्नै नाटकघर सुरु गरी पाँच महिनामा तीन नाटक र बाल नाटक महोत्सव गरेपछि लकडाउन भयो । दर्शक र भाइबहिनीसँग जोडिन विश्व बाल कविता महोत्सव, राष्ट्रिय निबन्ध प्रतियोगिता ग¥यौं । यसपछि भर्चुअल माध्यमबाट संवाद सुरु गरेका हौं ।’
नाटकघरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार १५ जना व्यक्तिले जातीय, लैंगिक, भौगोलिक, स्वास्थ्यलगायतका विधा र क्षेत्रमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रमको पहिलो संवादमा जोडिएका थिए वरिष्ठ रंगकर्मी हरिहर शर्मा । उनले नाटक गर्दा विभिन्न दुःख भोग्नुपरेको र यसमै सन्तुष्टि र आनन्द मिलेको बताए ।
शर्माले भने, ‘हाम्रा कलाकर्मीहरु आर्थिक रुपले जति पीडामा भए पनि मानसिक रुपले सन्तुष्ट देखिन्छन् । यो हामी आफैंले रोजेको पेसा हो । सुख र दुःखको अनुमान गरेरै कलाक्षेत्रमा प्रवेश गरेका हौं ।’
त्यस्तै, गायिका एवं कार्यक्रम प्रस्तुता मन्जु पौडेलले लोक गीतमा पहिलाको तुलनामा अलि बढी विकृति भित्रिएको संकेत गरिन् । त्यस्ता विकृति हटाउनुपर्ने उनले जोड दिइन् ।
उनले भनिन्, ‘एक रसिक विधाका रुपमा हेरिएको लोकगीत नेपालीको संस्कृति पहिचानसँग पनि जोडिएको छ । बाल्यकालदेखि नै लोकगीत सुन्दै हुर्किएँ र यसैले लोकगायिका बन्न प्रेरित गर्यो ।’
वरिष्ठ मुटु रोग विशेषज्ञ डा। दिवाकर शर्माले नेपालमा मुटु रोगको उपचार खर्च निकै महँगो हुने गरेको बताए । उनले भने, ‘हामीले मुटु स्वस्थ राख्नु आवश्यक छ । त्यसका लागि हामीले सन्तुलित जीवनशैली, खानपिन, नियमित व्यायाम गर्न जरुरी छ । तनावमुक्त हुने कोसिस गर्ने र आफ्नो स्वास्थ्यप्रति सजक र सचेत हुन सके धेरै मात्रामा जुनसुकै रोगबाट टाढा भइन्छ ।’
विभेदरहित समाज निर्माणका लागि वकालत गर्ने युवा नेता हुन्, रवि सेन्चुरी । उनले आन्दोलनबाट सबै पीडितको आवाज समेट्नुपर्ने बताए । उनले भने, ‘समाजमा दलित भएकै कारण उनीहरूको मुद्दा मूलधारको आन्दोलन वा सबैको साझा आन्दोलन बन्न सकेन । यहाँ त आन्दोलन पनि कसले र कसका लागि गर्ने भन्नेमा समेत विभेद भएको छ ।’
नेपाली संगीत, कलामा सक्रिय नारायणदेवी प्रधानले शास्त्रीय नृत्यको अवस्था देखेर आफूलाई चिन्ता लागेको बताइन् । उनी भन्छिन, ‘अहिले शास्त्रीय नाचमा तालमेल केही मिलेको हुँदैन । एकचोटि नाँच हेर्न नसकेर उठेर पनि हिँडेकी छु । यसरी शास्त्रीय नृत्यलाई बिगार्ने काम भएको छ ।’
उनले नियम र विधि पुर्याएर शास्त्रीय नृत्य नाच्न आग्रह गरिन् ।
एथलेटिक्समा ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सन्तोषी श्रेष्ठले खेलाडीलाई खेलसँगै अरु थुप्रै चिन्ता भएको बताइन् ।
उनले भनिन्, ‘महिला मात्र होइन, पुरुष खेलाडीमा पनि धेरै गाह्रो छ । सबैजना फरक फरक पृष्ठभूमिबाट आउनुभएको छ । आर्थिक कारण मात्र नभएर सामाजिक कारणले पनि महिलालाई यो क्षेत्रमा टिकिरहन अझ गाह्रो छ ।’
शैली थिएटरका नारायण न्यौपानेको परिकल्पना र निर्देशनमा सञ्चालन भएको ‘शैली संवाद’ को अबको भागमा चलचित्र निर्देशक दीपेन्द्र लामा, साहित्यकार महेश पौड्याल, बालबालिका अधिकारकर्मी यादवदेवी बस्नेत, शास्त्रीय गायक श्री के।सी, समाज विश्लेषक एवं कवि आहूति, समाजसेवी रोहिणी भट्टराई, शास्त्रीय नृत्यांगना सुजाता बराल, बालसाहित्यकार अनुराधा र कवि एवं सञ्चारकर्मी धीरेन्द्र प्रेमर्षी रहेनछन् ।
‘शैली संवाद’कै क्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३औं पुण्यतिथिमा एक परिसंवाद एवं रचाना वाचन हुँदै छ । भाद्र १४ गते हुने यस कार्यक्रममा प्राडा. गोविन्दराज भट्टराई, कृष्ण धरावासी, डा. नवराज लम्साल, टीका आत्रेय, सुदेश सत्याल र महेश पौड्याल वक्ताका रुपमा रहनेछन् ।