काठमाडौं– भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो ।
आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइसोलेसनको शुभारम्भ गर्दै कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताए । भरतपुर महानगरपालिका भित्रका सङ्क्रमितहरुलाई पहिलो प्राथमिकतामा राखिने र आवश्यकताका आधारमा विस्तार गर्दै लगिने बताइएको छ ।
भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ भने अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ । चिकित्सालयमा कोरोना सङ्क्रमितका लागि छुट्टै ब्लक स्थापना गरिएको छ । सो ठाउँमा रहेका पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ ।
चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाले कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकाहरु प्राकृतिक विधिवाट उपचार गरिने बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा बस्नेहरुलाई प्राकृतिक खानपान र नियमित योग, ध्यान र व्यायाम गराइने भने मनोरन्जनको पनि विशेष ख्याल गरिनेछ । सामान्य लक्षण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।