केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भने, ‘बेसार–पानी पिउनुस्, हाच्छियुँ गर्नुस्, कोरोना लाग्दैन ।’ धेरैले प्रधानमन्त्रीको उक्त भनाइलाई उडाए ।
प्रतिपक्षी दलका नेता एवं सांसद गगन थापा र प्रधानमन्त्रीबीच त उक्त भनाइलाई लिएर कटाक्षको दोहोरी नै चल्यो । सामाजिक सञ्जालमा थुप्रै ट्रोल बनाइयो । तर, प्रधानमन्त्रीको उक्त भनाइ सत्यनिकट भएको बताउँछन्, नेपालका आयुर्वेदिक चिकित्सकहरू ।
‘खानपान र जीवनशैली सुधार्ने हो भने कोरोना भाइरससँग डराउनुपर्दैन,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत तथा चिकित्सक डा. अमितमान जोशी भन्छन्, ‘नेपाली भान्छा नै एक हिसाबको उपचार केन्द्र हो ।’
भाइरसभन्दा भय बढी !
भनिन्छ, घाउभन्दा सम्भावना बढी दुख्छ । त्यस्तै भएको छ, कोरोना भाइरसको मामलामा । अपनाउन सकिने सामान्य सुरक्षा पनि नअपनाई मान्छेहरू त्रासैत्रासमा बाँचिरहेका छन् । भाइरसले भन्दा त्रासले मान्छेलाई झन् रोगी बनाएको तर्क गर्छन् डा. जोशी ।
तथांकअनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा शनिबारसम्म १८५ जना कोरोनाका बिरामीको उपचार भयो । त्यसमध्ये १७६ जना पूर्ण रूपमा निको भइसकेका छन् । अहिले पनि केन्द्रमा एक सय जना उपचाररत छन् । उनीहरूको स्वास्थ्यमा सुधार भइरहेको छ ।
डा. जोशीका अनुसार प्रायः बिरामी सात दिनको उपचारपछि निको भएका छन् । विश्व तथ्यांकअनुसार कोरोनाका बिरामी निको हुन १२ लाग्छ । यसले कोरोनाको उपचारमा आयुर्वेदिक उपचार विधि प्रभावकारी भएको प्रमाणित गरिदिएको छ ।
डराउने होइन, प्रतिरोधी क्षमता बढाउन सुभाव
कोरोनासित डराउने भन्दा पनि रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक चिकित्सकले सुझाएका छन् । कीर्तिपुर आयुर्वेदिक कलेजका प्राध्यापक डा. प्रमोद भट्ट भन्छन्, ‘रोगलाई प्रतिरोध गर्ने क्षमता बढाउने हो भने कोरोनालाई सजिलै जित्न सकिन्छ । त्यसका लागि खानपान र जीवनशैली सुधार्नुपर्छ ।’
‘जीवनशैली सुधार्नुस्, नडराउनुस्’
डा. अमितमान जोशी,
अनुसन्धान अधिकृत तथा चिकित्सक
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
मानव शरीरमा असर गर्ने भाइरस वा रोगको संख्या बढ्दो छ । सन् २००२ मा देखिएको सार्स, २०१२ मा देखिएको मर्स भाइरसजस्तै नोबल कोरोना पनि भाइरसकै एक प्रजाति हो ।
चीनबाट कोरोना भाइरस सुरु भएपछि नै हामीले नेपालमा पनि संक्रमित भेटिनु नौलो भएन । संक्रमण हुनुअघि नै कोरोना संक्रममण फैलियो भने के गर्ने भनेर विभिन्न चरणमा छलफल गर्यौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र अस्पताल पनि भएकाले यो रोगलाई सहयोग गर्ने औषधि उत्पादन गर्नुपर्छ भनेर हामी टिम बनाएरै लागिपरेका थियौं ।
मुख्यत: इम्युनिट रेस्पोन्स राम्रो भयो भने कोरोनाले केही गर्ने सक्दैन तर इम्युनिटी सिस्टम राम्रो भएन भने कोरोनाले बिगार्ने हो । इम्युनिटी सिस्टम सन्तुलन राख्ने जडीबुटी कुन कुन हो, त्यसलाई छानेर औषधि बनायौं । जसमा खनिज, आइरनको मात्रा र भिटामिन सी पाइने जडीबुटीलाई समावेश गर्यौं ।
नेपाल सरकारले यहाँ आइसोलेसन बनाउने निर्णय गरिसकेको थियो । हामीलाई आयुर्वेदिक औषधि दिने स्वीकृति पनि प्राप्त भयो । सुरुमा २० जनामा औषधि प्रयोग गर्यौं । सबै छक्क पर्ने गरी उनीहरू सात दिनमै निको भए । अहिले विश्वको डाटामा १२ दिनसम्मा निको भएको रेकर्डहरू थिए । यहाँ आएका ९१ प्रतिशतलाई नै ७ दिनमै निको पारेर पठायौं । बाँकी १० दिनसम्ममा निको भएर गए ।
सामान्यतयाः भाइरसहरू ८० प्रतिशत आफै निको हुन्छन्, हाम्रो आयुर्वेदको उपचारबाट शतप्रतिशतै निको भएर जानुलाई सकारात्मक रूपमा लिनुपर्छ । यहाँ गर्भवती महिला, डायलासिस गरेका, प्रेसर, सुगरसँगै कोरोना संक्रमण भएर आएर बिरामीसमेत औषधिपश्चात् कोरोनामुक्त भएर घर गएका छन् ।
- मास्क लाएर कुनै व्यक्तिसँगै बसेर कुरा गर्नु भन्दा टाढा बसेर कुरा गर्नु उपयुक्त हुन्छ ।
अहिलेसम्म मैले ३०३ जना बिरामीलाई नजिकबाट हेर्दा उचित खाना, आयुर्वेद सप्लिमेन्ट लिएर मानसिक तनाबलाई हटाउन पाए सजिलै कोरोनामुक्नत हुन्छौं भन्ने लागेको छ । कोरोनाबाट मृत्यु हुनेहरू कुनै न कुनै जटिल रोगसँग लडेकाहरू नै बढी छन् । यस प्रकारको मृत्युलाई पनि कोरोनाबाट मृत्यु भएको भन्ने डब्लूएचओको मान्यता छ । यसैकारण मृत्यु दर दिन प्रतिदिन बढ्दो छ ।
मृत्युदर बढेकाले झनै डराएर बसेका छौं । रोगले भन्दा डरको मृत्यु बढेको छ । अहिले आत्महत्या र राम्रो उपचार नपाएर मर्नेहरू धेरै छन् । एक जोडी १९ महिना र दूधे बालक लिएर उपचारका लागि आएका थिए । श्रीमान् श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको छ तर दुवै बालकमा कोरोना नेगेटिभ छ । त्यो जोडीले बालकहरूलाई छोड्ने ठाउँ नभएर सँगै ल्याएका थिए ।
कोरोना जस्तो भाइरसका लागि रोगसँग लड्ने क्षमतालाई सन्तुलन गर्ने जरुरी हुन्छ । यसका लागि आजैदेखि भान्छामै पाइने अदुवा, मरिच, पिपली, बेसार, तुलसी, टिम्मुर, दालचिनी, अमला आदि प्रयोग गर्नुपर्छ । मास्क लाएर कुनै व्यक्तिसँगै बसेर कुरा गर्नु भन्दा टाढा बसेर कुरा गर्नु उपयुक्त हुन्छ । गुर्जो थिचेर निस्केको १० मिलि रस दैनिक खान पाए त इम्युनिटी पावर सन्तुलन हुन्छ ।
यस्ता सामान्य कुराहरूमा सरकारलगायत सबै स्वास्थ्य विज्ञले ध्यान दिएर मासमा पुर्याउन सकेमा अरूले दिने भ्याक्सिनको आशा गर्नुपर्दैन । भ्याक्सिन पनि प्रभावकारी हुन्छ र सर्वसुलभ हुन्छ भन्ने पनि छैन ।
खानामा के के प्रयोग गर्ने ?
- भिटामिन सी ५ सय मिलि दैनिक– अम्बा, कागती आँप आदि)
- जिंक– ३० मिलि दैनिक
- सेलोनियम– खसीको खुट्टाको सुप
- भिटामिन डी– (कम्तीमा १५ मिनेट घाममा बस्ने)
- राम्रो निन्द्रा, उचित खानाको साथमा नरिवलको रस पनि एकदमै उपयुक्त हुन्छ ।
‘उपचार हुन्छ, नआत्तिनुस्’
डा. जितेन्द्र श्रेष्ठ
संयोजक, कोरोना उपचार समिति
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धाता
कोभिड–१९ का कारण नेपालमा पहिलोपटक महिलाको मृत्यु भयो । टिचिङ हस्पिटलमा सुत्केरी गराएकी ती महिलामा महाराजगन्जबाट डिस्चार्जपछि कोरोना पोजिटिभ देखियो र धुलिखेल अस्पतालमा उपचार क्रममा निधन भयो ।
पहिलोपल्ट निधन भएकाले अस्पताल, आफन्त सबै डराएका थिए । टिचिङ अस्पतालमा रहेका गाइनो विभागका सम्भावित १४ संक्रमितलाई जेठ ३ गते यहाँ ल्याइएको थियो । पछि पछि कोभिड पोजिटिभहरू धेरै आए के गर्ने, कसरी व्यवस्थापन गर्ने ? आयुर्वेद अस्पतालमा आयुर्वेदिक औषधि त दिनुपर्यो, कुन कुन औषधि दिँदा राम्रो हुन्छ भनेर हामी विभिन्न तहमा छलफल ग¥यौं ।
छलफलबाट कोरोना संक्रमितका लागि उपयुक्त आयुर्वेदिक औषधि दिने निक्र्योल गरियो । श्वासप्रश्वासअन्तर्गत कस्ता औषधि दिने भनेर हामीले अनुसन्धान गर्यौं । हामीले सुरुमा असार २५ गते २० जना कोरोना पोजिटिभलाई भर्ना गर्यौं । म र डा. अमितमान जोशीलगायतका टिम खटियौं । पूर्वअनुमान गरेर निर्माण गरेको औषधि सबै जनामा प्रयोग गर्यौं । साथमा अरू आयुर्वेदिक खानपान र रहनसहनलाई अपनाउँदै ती बिरामीको उपचारमा ग¥यौं ।
उपचारपछि २० जनैको स्वाब परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आयो । यसकारण आयुर्वेदिक चिकित्सा प्रणालीप्रतिको बिरामीको विश्वास बढ्यो । त्यहाँ उपचार गरेकामध्ये तीन जना बिरामी भक्तपुर क्यान्सर अस्पतालका नर्सहरू थिए । उनीहरूले धेरैलाई आयुर्वेदिक अस्पताल र औषधिबारे बताएका छन् ।
ती बिरामी निको भएपछि यहाँ बिरामीको संख्या बढ्न थाल्यो । बेडको संख्या बढाउनैपर्नै दबाब हामीमाथि पर्यो । तालिम केन्द्रमा जम्मा २० जना राख्न सकिन्थ्यो । चिकित्सा अध्ययन केन्द्रको भवनलाई क्वारेन्टिन बनाएर कीर्तिपुर नगरपालिकाले बिरामी राखेको थियो । संयोग नै भन्नु पर्छ तीन चार दिनदेखि सो भवन खाली थियो । त्यहाँ हामीले १६५ जनाको बेड तयार गर्यौं । अहिले पहिलाको २० र १६५ गरेर जम्मा १८५ जनासम्मको क्यापासिटी छ ।
- प्रत्यक्ष रूपमा बिरामीको उपचारमा खटिँदा मुख्यतः बिरामीले मानसिक तनाब लिएको देखेँ । त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु, आत्मबल बढाऔं
बिरामीलाई औषधि सँगसँगै युजिकल थेरापी, मेडिटेसन, योगा, हर्बल टी, बेसार पानी, खाना र खाजाहरूको व्यवस्था गरेका छौं । यहाँ उपचार गर्न स्वास्थ्य सेवा विभागवाट पठाएको हुनुपर्छ । यहाँ रिफर भएकामध्ये ८ जना बिरामीलाई गंगालाल, पाटन र टेकुमा पठाएका थियौं । ती बिरामीहरू हर्ट सर्जरी गरेका, एपेन्डेक्स, किड्नी डायलाइसिस गरेका बिरामीहरू हुन् ।
यहाँ आएका बिरामीले मानसिक चिन्ता बढी लिएको पाएँ त्यसैले पनि हामीले औषधिको साथमा बढी ध्यान, योग लगायत खानपानसम्बन्धी नियम बनाइदिएका छौं ।
प्रत्यक्ष रूपमा बिरामीको उपचारमा खटिँदा मुख्यतः बिरामीले मानसिक तनाब लिएको देखेँ । त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु, आत्मबल बढाऔं, ७–८ घण्टा सुतौं, व्यायाम र योगा गरौं, झोलिलो खानेकुरा खाऔं, सुप, गुर्जो, बेसार, ज्वानो, अदुवा, कागतीको रस पिइरहौं । त्यस्तै, बिहान वा बेलुका नुन र बेसारले मुख कुल्ला गरौं । सादा पानीको बाफ लिऔं । यसको गर्दा इम्युनिटी पावर बढ्छ । हत्तपत्त भाइरसले छुन सक्दैन । मुख्यत: डरलाई जित्नुपर्यो ।
आयुर्वेदिक औषधि प्रणालीलाई विश्वास गरेर उपचार गराउन तयार हुनुपर्यो ।
भाइरससित लड्न सक्ने गरी नै मानव शरीर बनेको छ
डा. प्रमोद भट्ट
सहप्राध्यापक, आयुर्वेद क्याम्पस, कीर्तिपुर
रोग प्रतिरोधात्मक क्षमता मान्छेले जन्मजात नै लिएर आएको हुन्छ । यो मान्छेको उमेर अनुसार परिवर्तन हुन्छ । खानपिन, सोचविचाअनुसार पनि रोग प्रतिरोधात्मक क्षमता निर्धारण हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन तीन–चार वटा विषयमा ध्यान दिनुपर्छ । ती हुन्, आहारविहार, औषधि र सोचविचार ।
कोरोना जस्ता भाइरस पहिलेदेखि नै थिए । पहिले मानिसमा रोगसँग लड्ने क्षमता बढी हुन्थ्यो । आयुर्वेद त पहिलेदेखि जीवनको अभिन्न अंग नै थियो । जुन सुकै रोग लाग्दा होस् या घाउचोट लाग्दा जडीबुटीबाटै उपचार गरिन्थ्यो । आयुर्वेदले रोग लाग्न नै नदिने र रोग लागे पनि निको पार्ने अर्थात् समन र स्वधन गर्छ ।
नेपालमा आयुर्वेदिक औषधिबाट सात दिनमै कोरोना निको हुनु सकारात्मक इन्डिकेट हो । वैज्ञानिक समाज लगायत विभिन्न स्वास्थ्य विज्ञहरूको टिमले यस विषयमा रुचि देखाएर थप अनुसन्धान गर्नुपर्छ । यसले नेपाल जस्तो देशलाई आफँैसँग भएको जडीबुटीको प्रयोगले कम खर्चमै उपचार गराउन सहयोग पुग्छ । यस विषयमा हामी जस्ता आयुर्वेदिक चिकित्सकका साथै अन्य सरोकारवालाले उत्तिकै चासो दिनैपर्छ ।
- विदेशीहरूले जडीबुटीलाई के-के औषधिहरू बनाएर बेचिरहेका छन्, तर हामी आयुर्वेदलाई उति चासो दिँदैनौं ।
हावर्ड स्कुल अफ मेडिसिनले रोग प्रतिरोधात्मक क्षमता बढाउन र कोरोनामुक्त भएका व्यक्तिलाई पुनस्र्थापन गर्न आयुर्वेदिक चिकित्सा विधि अपनाएको छ । हामीले पनि यसलाई अचुक विधिका रूपमा प्रयोग गर्न सक्छौं । आयुर्वेदिक औषधिको कुनै ‘साइड इफेक्ट’ छैन । बरु स्वास्थ्यमा हानि पुर्याउने अरु भाइरस एवं जीवाणुलाई शरीरभित्र प्रवेश गर्न दिँदैन ।
आयुर्वेदिक ज्ञान, एक्सरसाइज, योगा, ध्यान, बगैंचा गोडमेल, हिँडडुल, सकारात्मक सोच पनि उत्तिकै आवश्यक छ । हामीले खाने नियमित दाल, भात, तरकारी, अचार एकदमै उपयुक्त छ । नुनपानीले सफा गरेको फलफूल, गुर्जोको लहरा पिसेर र अदुवा, बेसार आदि सेवन गर्नुपर्छ ।
हामीसँग उपलब्ध औषधि नै जडीबुटी हो । विदेशीहरूले जडीबुटीलाई के-के औषधिहरू बनाएर बेचिरहेका छन्, तर हामी आयुर्वेदलाई उति चासो दिँदैनौं । जति आधुनिक जीवनशैलीमा बाँचे पनि आफ्नो धरातल बिर्सनुहुन्न । कोरोना संक्रमितको उपचारका लागि नेपाली जडीबुटी उपयोगी भएको प्रमाणित भइसकेको छ । अब सरकारले आयर्वेदिक औषधि प्रयोग गर्न किन पहल नगर्ने ? यससम्बन्धी अनुसन्धानको दायरा किन नबढाउने ?