‘फेरि कहाँ आउँछ र घुमेर
यो बालापनको उमेर’
वसन्त सापकोटाको यी शब्द र संगीतले समीक्षा अधिकारीको मधुर स्वर पायो । अनि त गीत फैलिन बेरै लागेन । किन यति सारो लोकप्रिय भयो गीत ? संगीत समीक्षाका अनेक पाटा होलान्, तथापि यसमा सुहाएको समीक्षाको स्वरको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रह्यो ।
३ साउन, २०६२ मा माछापुच्छ्रे–४, कास्कीमा जन्मिएकी उनले जुन बालापनको गीत गाइन्, त्यो उनकै उमेरको कथा थियो । त्यसैले पनि त्यसमा उनले हृदय मिसाउन सफल भइन् । ८ कक्षामा पढ्दै गर्दा यो गीत गाउने जुन अवसर उनले पाइन्, त्यो उनको प्रतिभा–जीवनको महत्त्वपूर्ण घुम्ती साबित भयो । चर्चित गीतले उनको स्वर पायो । कोरोना सन्त्रासका कारण भइरहेको बन्दाबन्दीका क्रममा कुराकानी गर्दा उनले आफ्नो संगीत–यात्राको केही घुम्ती सम्झिन् ।
१. सरप्राइज कल
कास्कीको लाहाचोक गाउँमा असारे चटारो सुरु भएको थियो । त्यही गाउँमा धान रोप्न मेला गएकी थिइन् समीक्षा अधिकारी । उनको मोबाइलको घण्टी बज्यो । एउटा मुठीको बिउ हातमै राखिन् । अर्को हात पानीमा चप्प चोबिन्, हात झड्कारिन् अनि फोन रिसिभ गरिन् । फोन काठमाडौंबाट संगीतकार वसन्त सापकोटाले गरेका थिए । वसन्तले भने, ‘तिमी पर्सि नै काठमाडौं आउनुपर्छ गीत गाउन ।’
२. काठमाडौं एक्सप्रेस
समीक्षालाई एकछिन त विश्वासै लागेन । अन्जु पन्त, मेलिना राईले गीत गाउँदा हेरेर उनी कल्पना गर्थिन्– मैले पनि यसैगरी गीत गाउन पाए ! उनको पनि त्यो दिन आउने भयो । लाग्यो हिलोमै बुर्कुसी मारौं । तर, मेलामा थिइन् । घरमा भनिन् । गीत गाउन काठमाडौं आउने भइन् । काठमाडौं आउनुअघि उनले सपिङ गरिन् । नयाँ लुगा किनिन् । काठमाडौं आउन नयाँ लुगाचाहिँ किन ? उनी भन्छिन्, ‘घरमा बस्दा पो जस्तो लाए पनि कसैले केही भन्दैन । काठमाडौं नै आउँदा त चाहियो नि ।’
समीक्षा आफ्नी फुपूको साथ लागेर काठमाडौं आइन् । काठमाडौं आएपछि मात्रै थाहा पाएकी हुन् गीत चलचित्र ‘नाइँ नभन्नू ल– ५’ को रहेछ । उनले पहिलो पटक स्टुडियो पसेर ‘बालापनको उमेर’ बोलको गीत गाइन् । पहिलो पटक स्टुडियो छिरेकी समीक्षा, पहिलो पटक भेटेका मान्छे, पहिलो पटक समातेको माइक्रोफोन केही नौला जस्ता लागेनन् उनलाई ।
उनले निर्धक्क गीत गाएर बाहिर आएपछि सबैले तारिफ गरे । उनी खुसीले पुलकित भइन् । त्यसबखत उनी खुसी बोकेर गाउँ फर्किइन् । गाउँ फर्कँदा उनीसँग खुसीसँगै गीत गाएर कमाएको १० हजार रुपैयाँ थियो ।
३. नाम–गुमनाम
चलचित्र ‘नाइँ नभन्नू ल– ५’मा समावेश समीक्षाको स्वर धेरैले रुचाए । चलचित्र चल्नुमा गीतले राम्रो भूमिका खेल्यो । समीक्षाको स्वर लोकप्रिय भयो । तर, त्यतिबेला मिडियाले उनलाई खासै खोजेनन् । उनले दोस्रो पटक वसन्त सापकोटाकै संगीतमा अर्को गीत गाइन्– वनमा काफल पाक्यो । जसमा उनी निकै भावुक सुनिइन् । गीतको म्युजिक भिडियोमा पनि आफैंले अभिनय गरिन् ।
त्यसपछि उनी मिडियामा पनि छाउन थालिन् । त्यसयता उनले थुप्रै गीतमा आवाज भरिन् । भाइरल गायिकाको ट्याग नै पाइन् । भाइरल भन्दा रमाइलो लागे पनि आफूलाई स्थापित गायिकाका रूपमा चिनाउने चाहना हो उनको । त्यसैमा साधनारत छिन् ।
४. गीत रिलिजको तनाव
बालापनको उमेर गाएर समीक्षा गाउँ फर्किइन् । मन भने काठमाडौंमै थियो, गीतमा थियो । गीत कहिले रिलिज हुन्छ भन्ने छटपटी थियो । स्कुलको पढाइ चलेकै थियो । एकदिन स्कुल हिँड्ने बेला खबर पाइन्– आज गीत रिलिज हुँदै छ ।
घरमा नेट थिएन । टेलिभिजनमा कहिले बज्छ, थाहा छैन । उनले सोच बनाइन् ‘ट्याब’ स्कुल लान्छु र डाउनलोड गरेर ल्याउँछु । तर, स्कुलको नियमविपरीत भएकाले समीक्षाको ट्याब शिक्षकले खोसिदिए । उनी रुँदै घर फर्किन् ।
घर नजिकैका दाइले डाटाबाट उनको गीत सुनाइदिए, भिडियो देखाइदिए । उनी गीत गाउँदाभन्दा सुन्दा–हेर्दा झन धेरै खुसी भइन् ।
५. शिक्षकको तारिफ
स्कुलका कार्यक्रममा गीत गाउँथिन् । अन्जु पन्त, मेलिना राई उनलाई खुब मन पर्ने । गायिका बन्ने सपना देख्थिन् । उनको सपनामा परिवारको पूर्ण साथ थियो । उनको स्वरको सदैव प्रशंसा गर्थे । पहिलो गीत रेकर्डपछि भने उनको प्रशंसाको दायरा फराकिलो बन्यो । रेडियो, टेलिभिजन सबैतिर उनको गीत बज्न थाल्यो । स्कुलका साथी र गुरुहरूले पनि उनको स्वरको तारिफ गरे ।
स्कुलमा ट्याब खोसिदिने शिक्षकले पनि भने, ‘राम्रो गाइछौ, अझै राम्रो गर्नू ।’ शिक्षकको कुरा सुनेपछि उनले गीत रिलिज हुनेबित्तिकै हेर्न नपाएको पीडा भुलिन् । स्कुल तथा मेलामा गीत गाउँदै हिँड्ने समीक्षा औपचारिक रूपमा गायिका भइन् ।
६. गीत रेकर्डअघि
स्कुलका प्रायः कार्यक्रममा गीत गाउनु पर्दा समीक्षाको नाम पहिलो नम्बरमा पर्थ्याे । उनी खुसी हुँदै गीत गाउँथिन् । सबैले तारिफ गर्थे, उनी फुरुक्क पर्थिन् । तर, उनी आफैंलाई भने आफ्नो स्वर खास छ भन्ने लाग्दैनथ्यो । एकदिन उनको गाउँमा चलचित्र ‘छक्का–पञ्जा–३’को छायांकन टोली पुग्यो । फिल्मको सुटिङ हेर्न पुगेकी समीक्षाले त्यहीँ गुनगुनाइन्– यो आँखामा तिमी छौ ।
फिल्म खिचिरहेका पुरुषोत्तम प्रधानलाई समीक्षाको स्वरले खिच्यो । उनले स्कुलको कक्षामा पुगेर गीत गाउन लगाए । समीक्षाले पनि धक फुकाएर गाइन् । पुरुषोत्तमले भिडियो खिचे । काठमाडौं आएपछि पुरुषोत्तमले त्यो भिडियो चलचित्र निर्देशक विकासराज आचार्यलाई सुनाए । आचार्यले गीत आफ्नो फेसबुकमा पोष्ट गरे । वसन्त सापकोटाले पनि समीक्षाको स्वर सुने । त्यहीँबाट सुरु भयो समीक्षाको सांगीतिक करिअर ।
७. बेफुर्सदिला दिन
हिजोआज समीक्षा निकै व्यस्त छिन् । गीत गाउनु, रियाज गर्नु फेरि गीत गाउनु उनको दैनिकी । कोरोनाका कारण भएको लकडाउनले गर्दा पढाइ पनि छैन । यसले पनि उनलाई गायनमा सहजता थपिदिएको छ । रियाजका लागि समय निस्किएको छ । भन्छिन्, ‘पढाइ हुँदा त जति नै समय निकाल्छु भने पनि मिल्दैनथ्यो । अहिले समय पाएकी छु ।’
उमेरभन्दा पाको र भर्सटाइल आवाज समीक्षालाई फापेको छ । यसैले उनलाई अहिले भ्याइनभ्याइ छ । लकडाउनको प्रारम्भिक चरणमा उनले दिनमा दुईवटासम्म गीत रेकर्ड गराइन् । त्यसबेला उनको घाँटी बस्यो । चेकअप गराउँदा थाहा भयो घाँटीमा त ‘ठेला’ उठेछ । उनले झन्डै एक महिना आराम गरिन् । अहिले सन्चो भइसकेको छ । उनको सपनै गीत–संगीत हो । संगीतको सुरुवाती दिनमै श्राेता–दर्शकको उधुम माया पाएकी समीक्षा औपचारिक ज्ञानसहित सांगीतिक जीवनको लामो यात्रामा निस्कने सोचमा छिन् ।