अहिले विश्व कोरोना भाइरसका कारण आतंकित छ । सँगै, रोग कति र आतंक कति भन्ने बहस पनि भइरहेको छ । कोरोना के हो ? कोरोना भए–नभएको कसरी पत्ता लाग्छ ? उपचार छ कि छैन ? यस्ता अनेक प्रश्न उठिरहेका छन् । कोरोना र यसको परीक्षणका लागि अपनाइएका विधिबारे गरिने यी स्वाभाविक जिज्ञासा हुन् ।
के हो कोरोना ?
आनुवांशिक संरचनामा आरएनए जैविक तत्त्व भएको विषाणु भाइरसको समूहलाई कोरोना भाइरस भनिन्छ । यसको बाह्य रूप कीट अर्थात् श्रीपेचजस्तो देखिने भएकाले वैज्ञानिकले यसलाई अंग्रेजी भाषामा ‘कोरोना’ नाम दिएका हुन् ।
कोरोना सर्वप्रथम सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा देखिएको थियो । चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने बजारमा यसको पहिलो संक्रमण देखिएको हो । त्यसको केही महिनामै यो भाइरस विश्वभर फैलियो ।
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आउने मानिसलाई यो सर्ने गर्छ । यसले सुरुमा घाँटी, श्वासनली र फोक्सोमा आक्रमण गर्छ र बिस्तारै ती अंगलाई नियन्त्रणमा लिई मानिसलाई गम्भीर समस्यामा पार्छ ।
आरडिटी टेस्ट भनेको के हो ?
मानिसको शरीरमा कोरोना भाइरस संक्रमणविरुद्ध लड्न एन्टिबडी छ कि छैन भनेर हेर्न गरिने परीक्षण विधि हो, ¥यापिड डाइग्नस्टिक टेस्ट (आरडिटी) ।
आरडिटीले भाइरस शरीरमा प्रवेश गरेपछि शरीरले बाह्य पदार्थसँग लड्न सक्ने तत्त्वको विकास भएको छ कि छैन भनेर हेर्न सहयोग गर्छ । आरडिटी टेस्ट विगतमा मान्छेलाई भाइरस लागेको थियो कि थिएन भनेर हेर्न प्रयोग गरिन्छ । संक्रमित मानिसमा रोगसँग लड्न एन्टिबडी विकास भएको छ कि छैन भनेर आरडिटी टेस्टबाट थाहा पाउन सकिन्छ ।
यो विधिबाट कोरोना परीक्षण गर्नु सरल, सहज र छिटो मानिन्छ । आरडिटी टेस्ट गर्दा शरीरमा एन्टिबडी भएको अवस्थामा यसको नतिजा पोजिटिभ आउँछ । यस्तो किसिमको टेस्टले मानिसको शरीरमा कोरोना भाइरसको संक्रमण भएको रहेछ भने कम्तीमा तीन दिनपछि परिणाम देखाउन सक्छ । आरडिटी रिपोर्ट पोजिटिभ भएको मानिसमा कोरोना भाइरस छ कि छैन भनेर पहिचान गर्न पिसिआर टेस्ट गर्नुपर्ने हुन्छ ।
आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ र पिसिआरको रिपोर्ट नेगेटिभ आएमा कुनै समयमा मानिसलाई कोरोना भाइरस सङ्क्रमण भएको थियो तर अहिले सङ्क्रमण नरहेको भनेर बुझ्नुपर्ने हुन्छ । आजको मितिसम्ममा यस्तो परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता दिएको छैन ।
अविश्वसनीय आरडिटी
नेपाल सरकारले पनि कोरोना भाइरसको जोखिम बढेसँगै सुरुमा आरडिटीको सहायताबाट परीक्षण गरेको थियो । यस क्रममा ३ लाख १८ हजार ४ सय ६१ जनाको आरडिटी परीक्षण गरिएको थियो । जसमा १८ हजार ९ सय ६३ जना मानिसमा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा आरडिटी परीक्षणले कोरोना भाइरस संक्रमितको नतिजा नेगेटिभ र स्वस्थ व्यक्तिको नतिजा पोजेटिभ देखाएपछि युवाले यसको विश्वसनीयतामाथि प्रश्न उठाउँदै सडकमा विरोध प्रदर्शन गरे । परीक्षणको दायरा फराकिलो बनाउने भन्दै स्वास्थ्य मन्त्रालयले चीनबाट ओम्नी समूहलाई आरडिटी मेसिन ल्याउन अनुमति दिएपछि स्वास्थ्य मन्त्रालयले पनि अर्को आलोचना खेप्नुपरेको थियो ।
पिसिआर टेस्ट भनेको के हो ?
मानव शरीरमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन प्रयोग गरिने परीक्षण विधि हो रियल टाइम पिसिआर टेस्ट । यसले मानव शरीरमा भाइरस छ छैन भनेर हेर्ने काम गर्छ । पिसिआर परीक्षणले मानिसको शरीरको नमुना भाइरसको जैविक तत्त्व (आरएनए) छ कि छैन भनेर जाँच्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता दिएको पिसिआर विधि संसारभर विश्वसनीय र भरपर्दो मानिन्छ ।
पिसिआर परीक्षणबाट मानव शरीरमा भएको एकभन्दा बढी जिनलाई पहिचान गर्न सकिन्छ । यसले मानिसको शरीरमा आज भाइरस छ कि छैन भनेर निक्र्योल गर्छ । यो टेस्ट मानिसको शरीरमा भएको स्वाबबाट गर्ने गरिन्छ ।
पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा मानिस कोरोनामुक्त छ भन्ने प्रमाणित हुन्छ । त्यस्तै, रिपोर्ट पोजेटिभ आएमा मानिसमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ । मानिस संक्रमण भएमा ६–७ दिनभित्रमा लक्षण देखिन सुरु हुन्छ ।
पिसिआर टेस्टको नतिजा आउन १०–१४ दिनमा लाग्ने गर्छ । भाइरस लागेर मानिस निको भएको छ भने उक्त समयमा पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आउँछ ।