२०६० साल भदौ २२ गते आफन्तकहाँ खाना खाएर घर फर्कँदै गर्दा बेपत्ता भएका शिक्षक डबल साउदको अझै अत्तोपत्तो छैन । अछाम रामारोशनका साउदलाई तत्कालीन विद्रोही माओवादीले २५ गते एक कार्यक्रममा ‘सफाया’ दिएको परिवारलाई जानकारी दियो । आफन्तले लास देखाउन आग्रह गरे । तर माओवादीले देखाएन । यसकारण साउदका आफन्त उनी फर्कने आसमा तड्पिरहेका छन् ।
‘बुबाको हत्या भएको अझै पत्याउन सकेका छैनौं,’ साउदका माइला छोरा विवेक भन्छन्, ‘अझै बुबा फर्कनुहुन्छ कि भन्ने आस लागिरहन्छ ।’
बुबा बेपत्ता भएपछि धेरै रात अनिँदो बसेको र बुबाको खोजीमा भौँतारिएको सम्झँदै साउदका अर्का छोरा विनोद भन्छन्, ‘मारिएकै हो भने पनि बुबालाई किन मारियो भन्ने पनि थाहा छैन ।’
‘बुबाले माओवादीलाई हानि हुने केही काम गर्नुभएको थिएन, १४ हजार रुपैयाँ चन्दा र मौसम करबापत अन्नबाली पनि दिनुभएकै थियो,’ विवेक भन्छन्, ‘कम्तीमा किन मारेको भन्ने मात्रै थाहा पाए पनि मन अलि हल्का हुन्थ्यो ।’
विवेक र विनोदले बुबो खोजी गरिदिन तत्कालीन एमालेका नेता भीम राउललाई गुहारे । उनले पनि केही गर्न नसक्ने बताएपछि उनीहरू निराश भए ।
यसरी बेपत्ता भएका थिए शिक्षक डबल
डबल साउद शिक्षक थिए । २०६० सालमा एसएलसी उत्तीर्ण छोरा विनोदलाई थप अध्ययनका लागि कैलालीको टीकापुरसम्म पुर्याएर घर फर्किए । त्यही बेला माओवादीले ‘पार्टीले बोलाएको’ भन्दै साउदलाई लग्यो । केही दिनपछि आवश्यक लत्ताकपडा लिएर आउँछु भनेर साउद घर फर्किए । बाटोमा पर्ने आफन्तकहाँ खाना खाए । त्यसपछि कहाँ गए, अहिलेसम्म पत्तो छैन ।
- ‘बुबाको हत्या भएको अझै पत्याउन सकेका छैनौं,’ साउदका माइला छोरा विवेक भन्छन्, ‘अझै बुबा फर्कनुहुन्छ कि भन्ने आस लागिरहन्छ ।’
परिवार नै संकटमा
माओवादी द्वन्द्वका कारण दाङ घोरही उपमहानगरपालिका–१७ ओखराकी सुशीला चौधरीको परिवारमा ठूलो संकट आइप¥यो ।
२०५९ सालमा उनकी दिदी रामकली चौधरीले तत्कालीन माओवादीका जिल्ला नेतासँग विवाह गरिन् । उनले जनवादी विवाह गरेको ८–९ महिना मात्रै भएको थियो । एकदिन उनी अचानक बिरामी परिन् । उनलाई तत्कालीन महेन्द्र अस्पताल पु¥याइयो । त्यतिबेलै आइपुग्यो तत्कालीन शाही सेनाको गाडी ।
सेनाले उनीसहित तीन जनालाई नियन्त्रणमा लियो । साँझपख उनका फुपू र पुसाईलाई छाडिदियो । उनकी दिदीलाई आँखामा कालोपट्टी बाँधेर अर्कै ठाउँमा लगेर राखिएछ । घरमा यस विषयमा सबैलाई जानकारी गराए उनका पुसाईले । त्यतिबेला उनी सानै थिइन् ।
उनकी आमाले गाउँमा सबैलाई ‘खोज्न जाऊ न’ भनेर बिन्ती गरिन् । सबैले ‘हुन्छ, हुन्छ’ भनेर टारे । कारण, सेनाको डरले कोही खोज्न निस्कने अवस्था थिएन । नजिकै घोराही ब्यारेकमा उनलाई राखिएको थियो । तर, आफन्तहरू डरका कारण जान सकेका थिएनन् ।
आमाले रामकलीलाई खोेजिन् । तर, कहाँ लगेर राखियो ? उनलाई भनिएन । विभिन्न बहानामा टारियो ।
- ‘न्याय पाउने आस मारिसक्यो । तर, सास वा लास नपाएसम्म आन्दोलन जारी रहनेछ,’ सुशीला चौधरी भन्छिन् ।
त्यसबेला सुशीलाका दाजु अर्जुन चौधरी भूमिगत थिए । उनी २०५८ सालदेखि नै माओवादीमा लागेका थिए । २०६१ साल चैत्र २५ गते उनको हत्या भयो । सुशीला भन्छिन्, ‘हाम्रो परिवारलाई ठूलो चोट पर्यो । २०५८ सालदेखि दाइले घर आउनै छाडेका थिए । उनको पनि २०६१ चैत्र २५ गते हत्या भयो । आमाले अस्पतालबाट आफैँ शव हस्ताक्षर गरेर ल्याइन् ।’
‘न्याय पाउने आस मारिसक्यो । तर, सास वा लास नपाएसम्म आन्दोलन जारी रहनेछ,’ सुशीला चौधरी भन्छिन् ।
‘अझै पनि बाबा फर्किने आसमा कुरिरहेका छौं’
ललितपुर ठेचोकी २३ वर्षीया नग्मा माली र उनकी १८ वर्षीया बहिनी स्वस्तिका माली अझै पनि बुबा फर्किने आसमा छन् । उनीहरूलाई सबैले ‘तिम्रा बाबा मरिसके’ भन्छन् । उनीहरूलाई पत्यार नै लाग्दैन ।
काम गर्न हिँडेका उनीहरूका बुबाको लाससमेत भेटिएको छैन । बुबा हराएको १५ वर्ष बित्यो । तर, उनीहरूका आँखा अझै थाकेका छैनन् । बुबा फर्किआउने बाटो हेरेर बसिरहेका छन् ।
- उनीहरूलाई सबैले ‘तिम्रा बाबा मरिसके’ भन्छन् । उनीहरूलाई पत्यार नै लाग्दैन ।
नग्माले बुबाको खोजीका लागि थुप्रै ठाउँ चहारेकी छिन् । उनले विभिन्न सम्मेलन, आन्दोलनहरूमा भाग लिएकी छिन् । तर, उनले बुबाबारे कुनै जानकारी पाउन सकेकी छैनन् ।
त्यस्तै, उनकी हजुरआमाले पनि बेपत्ता छोराको खोजी गरिन्, कुनै पत्तो लागेन ।
अहिले परिवारमा उनी र बहिनी मात्र छन् । बहिनी जन्मिएकै साल आमाको मृत्यु भयो । बुबा नन्दगोपाल मालीलाई सेनाले सोधपुछका लागि लैजाँदा नग्मा ७ वर्षकी थिइन् । तर, बुबा कहिल्यै फर्किएनन् । उनको बुबाको खोजीका लागि हजुरआमा समेत धेरैपटक धर्ना र जुलुसमा गइन् । उनको पनि ९ महिनाअघि मृत्यु भइसकेको छ ।
एक दिन छाउनीका एक सेनाले हजुरआमालाई भनेका थिए, ‘तपाईंको छोरासँग बालाजुमा म ६ महिनासँगै थिए ।’ यो खबर सुनेर हजुरआमा छाउनी गइन् । उनलाई एउटा ठूलो किताब दिइयो । उनले ‘पढ्न आउँदैन’ भनिन् । पछिल्लो दिन हजुरआमाले वडा अध्यक्षलाई लिएर गइन् । तर, भेट्न पाइँदैन भनेर पठाइयो ।
त्यस्तै, उनले बुबाको खोजी गरिदिन धेरै नेताहरूसँग अनुरोध गरेकी छन् । यसै क्रममा पम्फा भुसाल र जनार्दन शर्मालगायत धेरै नेतासँग भेट गरिन् । एक पटक प्रचण्डलाई समेत भेट्न गइन् । तर, उनले प्रचण्डसँग समस्या राख्न भने पाइनन् ।
उनले भनिन्, ‘त्यस दिन बुबाले २–३ दिन उतै बस्छु, साहुको घरमा मूर्ति बनाउनु छ भन्नुभएको थियो । त्यसपछि उहाँ फर्किनुभएन ।’
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । द्वन्द्वकालमा बेपत्ता पारिएको सूची निकै लामो छ । बेपत्ताको खोजी गर्ने नाममा बेपत्ता छानबिन आयोग पनि बनेको छ । आयोगका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भएको छ । आयोगलाई कार्यकर्ता भर्तीकेन्द्र जस्तो बनाइएको छ । तर, परिणाम शून्यप्रायः छ ।