‘अस्थायी जिन्दगीका लागि किन चाहियो स्थायी जागिर ?’ सरकारी जागिर खान निकै करबल गरेपछि उनले बुबाआमालाई सम्झाउँदै भनेकी थिइन् । उनी कार्यक्रम प्रस्तोता बन्न चाहन्थिन्, पत्रकारितामा जीवन अर्पण गर्न चाहन्थिन् । उनले सपनाको दियो निभ्न दिइनन् । जसका कारण उनको परिचय बन्यो, रंग पत्रकार राधिका अधिकारी ।
एक दशक लामो रंग पत्रकारिताको यात्रामा यसपटक उनी निकै खुसी छिन् । खुसीको कारण रहेछ, पुरस्कार । अधिकारी ‘छायाछवि नारी रंग पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने भएकी छिन् । जुन पुरस्कार छायाछवि तीज म्युजिक अवार्डका अवसरमा हरेक वर्ष प्रदान गरिन्छ ।
पत्रकारिताको जग
अधिकारीले सानैदेखि रेडियोमा कार्यक्रम चलाउने सपना देखेकी थिइन् । उनको सपना कक्षा ७ मा पूरा भयो । होस्टे हैसे संस्थाले रेडियो कार्यक्रम उत्पादन गथ्र्यो, विद्यार्थीलाई कार्यक्रममा बोल्ने अवसर र पारिश्रमिक पनि दिन्थ्यो । उनी भन्छिन्, ‘संस्थाले एउटा कार्यक्रमको ३ सय रुपैयाँ दिन्थ्यो । मैले जानी नजानी पत्रकारिता गरेर त्यतिबेलै पैसा कमाएकी थिएँ ।’
यात्रा
अधिकारीले विगत एक दशकदेखि डिजिटल तथा छापा माध्यमका पत्रपत्रिकामार्फत रंगी पत्रकारिता गर्दै आएकी छन् । उनको रेडियो पत्रकारिताको यात्रा हेटाैँडाको नेसनल एफएमबाट २०६४ सालमा सुरु भएको हो । उनले हेटौडाकै रेडियो थाहा सञ्चारमा पनि काम गरिन् । यो यात्रा झापाको पाथिभरा एफएम, पर्वतको रेडियो दिदी बहिनी एफएम हुँदै काठमाडौंको क्यापिटल एफ एम, हेड्लाइन्स एन्ड म्युजिक एफएमसम्म तन्किएको छ ।
त्यस्तै, अधिकारीले कान्तिपुर पब्लिकेसनको सहप्रकाशन नारी म्यागेजिन तथा साप्ताहिकमा चार वर्ष काम गरिन् । हाल उनी नेपाली पब्लिक डटकममा कार्यरत छिन् ।
कुनै बेला रंग पत्रिकारिताका विकृति देखेर पेसाबाट पलायन हुने समेत विचार गरेकी थिइन् । तर, उनलाई अग्रजहरुबाट माया, हौसला र साथ मिल्यो । उनले सोचिन्, भागेर समस्याको हल हुँदैन । यसपछि व्यवस्थित र मर्यादित रंग पत्रकारिता गरिरहने विचार गरिन् ।
पुरस्कार शृंखला
छाया छवि नारी रंग पत्रकारिता पुरस्कारले उनको कलमलाई ऊर्जा थपिदिएको छ । भन्छिन्, ‘पुरस्कार पाउँदा खुसी लागेको छ । बुवा पनि खुसी हुनुभयो होला ।’
यो अधिकारीको पहिलो पुरस्कार होइन । केही समयअघि प्रस्तोता समाज नेपालले उनलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो । वि। सं। २०६४ सालमै गजल मञ्च मकवानपुरले उनलाई गजलश्री सम्मान प्रदान गरेको थियो ।
गीत–यात्रा
अधिकारीको व्यक्तित्वको अर्को पाटो पनि रहेको छ । उनी निकै राम्रा गीत लेख्छिन् । उनका ८ वटा गीत रेकर्ड भइसकेका छन् । उनले ‘किनारा’ सोलो एल्बमसमेत निकालेकी छन् ।
उनको ‘जति छाल आए पनि’ बोलको गीत निकै लोकप्रिय छ । यस गीतमा राज सिग्देलको स्वर रहेको छ । अन्जु पन्तको स्वर रहेको ‘जिन्दगीले आफैंलाई छल्दा खेरि’ गीत पनि निकै लोकप्रिय छ ।