कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले पहिलो चरणमा ‘लकडाउन’ गर्यो, दोस्रो चरणमा ‘निषेधाज्ञा’ जारी । तर परिणाममा नियन्त्रणको संकेत देखिएको छैन, अझ दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ ।
भाद्र पहिलो सातादेखि सरकारले जारी गरेको निषेधाज्ञा जारी छ, अब के गर्ने भन्ने निर्णय आजभोलि होला । निषेधाज्ञाले कोरोना संक्रमण फैलिन कम भएको देखिएन, बरु समुदाय स्तरमै फैलिसकेको कोरोना संक्रमण अझ फैलियो, मृतकको संख्या बढ्दै गयो ।
मृत्यु संख्या बढे पनि, कोरोना संक्रमितको संख्या भुसको आगोसरि फैलिए पनि उपत्यकाको सडकमा निस्किँदा यो महामारीप्रति नागरिक खासै सचेत पाइएन । अघिल्लो पटकको लकडाउनको तुलनामा सवारी साधन बढी नै चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै कोरोनालाई ‘हाच्छ्यूँ–साच्छ्यूँ गरेर उडाइदिने’ रोकका रूपमै लिएको हो कि भन्ने कुरा सवारी साधनको चाप र बिहान पसलमा देखिने भीड हेर्दा अनुभूत गर्न सकिन्छ ।
यसै सन्दर्भमा हामी आइतबार उपत्यकाका विभिन्न ठाउँमा पुग्यौं र ट्राफिक प्रहरीले ‘चेक’ गर्ने स्थानको वस्तुस्थिति बुझ्यौं ।
महाराजगञ्जको नारायणगोपाल चोक देखि शिक्षण अस्पतालको मूल गेटसम्म पुग्दा सवारी साधनको आवागमन बाक्लै थियो ।
महाराजगञ्जपछि हामी लाग्यौं बालुवाटारतिर । प्रहरी छेकबार राखेर सडकमा थिए, तर जाँच भने शून्य । उनी गफमै मस्त थिए । बालुवाटार भएर गुडेका कुनै पनि सवारी साधनको ‘चेक’ भएन । हामी त्यहाँ फोटो खिच्न थाल्यौं । त्यसपछि आइरहेका एक दम्पतिलाई सिपाहीले सोधे, ‘कता हिँड्नु भएको ?’
श्रीमानले उत्तर दिए, ‘बुढी बिरामी छ, जँचाउन हिँडेको ।’ प्रहरीले ‘क्रस चेक’ गरेनन् । बरू हवल्दारको आवाज सुनियो, ‘ओइ केटा, राम्रोसँग चेक गर है ।’ प्रधानमन्त्रीनिवास छेउके प्रहरी चेकिङ्ग यति फितलो छ भने अरू ठाउँमा के होला भन्ने कूतुहलका साथ लाग्यौं कमलपोखरीतर्फ । कमलपोखरीमा प्रहरी कार्यालय छ, अनि ट्राफिक कार्यालय पनि । त्यहाँ त पक्कै पनि चेकजाँच कडाइ होला भन्ने लाग्यो ।
कमलपोखरी चोक जैन मन्दिरअघिल्तिर पिपिई लगाएका एक ट्राफिक प्रहरी रजिस्ट्रर बोकेर बसिरहेका थिए, अन्यचाहिँ बर्दीमा देखिन्थे । हामी त्यतै उभिएर सोधखोज गर्न थाल्यौ । धेरै सवारी साधनमा ‘प्रेस’ लेखेको पाइयो, जसलाई प्रहरीले सोधपुछ गरेको पाइएन । केहलाई हामीले नै सोध्न थाल्यौं । कोही रिसाए, कोही झर्किए, कोही हतार–हतार भागे ।
प्रहरीको चेकिङ बाइक–स्कुटरलाई बढी थियो, गाडीलाई थिएन । हामीले प्रहरीलाई सोध्यौं, ‘तपाई हरु बाइक स्कूटरलाई मात्र चेक गर्नुहुन्छ, गाडीलाई चाहिँ किन गर्नुहुन्न ?’
प्रश्न भुइँमा खस्न नपाउँदै प्रहरीले पहिल्यैदेखि रोकिराखेको गाडी देखाएर भने, ‘पास नभएको गाडी पनि त रोकेका छौं ।’
त्यत्तिकैमा उनले एउटा बाइक रोके र सोधे, ‘कहाँबाट आउनुभयो सर ?’
बाइकवालाले उत्तर दिए, ‘हस्पिटल गएर आएको ।’
प्रहरीः को छ हस्पिटलमा ?
बाइकवालाः आफैं बिरामी हो सर ।
प्रहरीः बिरामी भएर पनि बाइक चलाउने ?
बाइकवालाः आफैंलाई सुइ लाएर हस्पिटलबाट आको, सारै नातागत भाको छ । जान दिनुस न सर ।
उनको उत्तर सुनेर प्रहरी हास्न थाले ।
हामी पनि ‘जनता नै जब्बर भए पछि कसको के लाग्छ’ भन्दै त्यहाँबाट लाग्यौँ दरबारमार्गतर्फ ।
सधैँ व्यस्त रहने अनि पार्किङ्गको लागि ठाउँ नै नपाइने दरबारमार्ग सुनसान थियो । पसल सबै बन्द थिए । पार्किङ्गमा भने अघिल्लो लकडाउनको भन्दा धेरै सवारी देखिन्थे । ट्राफिक र प्रहरीचाहिँ आराम गरेर बसेका देखिन्थे, सवारीहरू निर्बाध चलिरहेका थिए ।
दरबारमार्गपछि हामी लाग्यौँ भद्रकालीतर्फ । भद्रकालीमन्दिर छेउको आकाशे पुल तल प्रहरीले सधैँ ‘चेक’ गर्छ । हामी पुग्दा त्यहाँ पनि सवारीहरू निर्बाध चलिरहेका थिए । प्रहरीलाई मन लागे कुनै सवारीलाई रोकेर सोध्थे । मानौं कि उनीहरू बालखेल ‘अक्कड–बक्कड बम्बे बोल’ खेलिरहेका छन् वा ‘लक्की ड्र’मार्फत चेक हुँदैछ । हाीले भद्रकालीको आकाशे पुलबाट फोटो खिच्न थालेपछि भने उनीहरू अलिक सर्तक देखिए ।
केहीबेरपछि हामीले ट्राफिक प्रहरीसँगै बसेर सोधपुछ गर्न थाल्यौं । त्यतिबेला ट्राफिक प्रहरीका नायब निरीक्षकले हामीसँग गुनासो गरे– नक्कली प्रेस कार्डका कारण हामी हैरान छौं ।
उनले कतिपय परिचय पत्र बुझ्न गाह्रो भएको भन्दै हाम्रो सहयोग मागे । यसै सन्दर्भमा हामीले केही प्रेस लेखिएका सवारीचालकलाई सोधपुछ गर्यौं ।
एउटा बाइक रोकेर सोध्यौँ । उनले आफू टेलिभिजनको पत्रकार भएको जवाफ दिए । हामीले अलिक निजीखोजी गरेपछि खुल्यो उनी टेलिभिजन सञ्चालन गर्ने कम्पनीका लेखपाल रहेछन् ।
सोध्यौं, ‘लेखाको मान्छे किन फिल्डमा हिँड्नु भएको ?’
उनले आफू पैसा जम्मा गरेर आएको भन्दै बैंकको नगद जम्मा भौचर देखाए ।
सोधपुछ हुँदै गर्दा बाइकको पछि आइरहेको फक्सवागन गाडीमा सवार दुई जना ट्राफिकलाई गाली गर्न थाले । हामीले गाडीको फोटो खिच्यौं ।
उनीहरू ‘गाडीको फोटो किन खिचेको’ हामीसँगै रिसाए ।
सोध्यौं, ‘तपाइँहरू अत्यावश्यक सेवा दिँदै हुनुहुन्छ ? औषधि वा खाद्यान्नको गाडी हो ?’
हाम्रो प्रश्नमा हच्किँदै उत्तर दिए, ‘हामी बिमा समितिबाट हो । अफिस खोल्ने अनुमति छ ।’
हामीले अनुमति पत्र देखाउन आग्रह गर्यौं । उनीहरू उल्टै झर्किए, ‘तपाईंहरू कुन मिडिया हो, परिपचत्र देखाउनुस् पहिले !’
हामीले उनीहरूको अनुमति–पत्र देखाउन फेरि अनुरोध गर्यौं । त्यसपछि झर्किंदै गाडी रफ्तार बढाए । प्रहरी पनि हेरेको हेर्यै भए ।
यसरी केही बेर त्यहाँ रहँदा थाहा भयो– कोही सवारीमा मलामी लेखेर, कोही औषधि सप्लाइको नक्कली परिचयपत्र लिएर, कोही सरकारी कर्मचारी भन्दै हिँडिरहेका थिए । सरकारले अत्यावश्यक सेवाप्रदायकबाहेक कुनै सरकारी कार्यालय पनि सञ्चालन नगर्नू भनेर आदेश जारी गरेको अवस्थामा जुन सजगता देखिनु पर्ने हो, त्यो देखिएन ।
सरकारले सोचेजस्तो काम गरेन भनेर आलोचना गरिरहँदा नागरिकले गरिरहेको यस्तो लापरवाहीले काठमाडौं उपत्यका अर्को भेनिस या साओपाउलो बन्नेतिर त जाँदैन भन्ने सन्त्रास बढ्नु स्वाभाविक हो ।