काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुमा बढेको ज्ञापनपत्र विवाद उत्कर्षमा पुगेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विभिन्न माग राखी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई एकल हस्ताक्षरमा ज्ञापनपत्र बुझाएपछि विवाद बढेको हो ।
संगठनका संयोजक ऐन महरले संगठनको मर्यादाविपरीत सहसंयोजकले आफूखुसी ज्ञापनपत्र बुझाएको भन्दै आपत्ति जनाइरहेका छन् । ‘ज्ञापनपत्र बुझाएको मलाई थाहा नै छैन,’ महर भन्छन्, ‘संयोजकलाई थाहा नदिई कसैले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ भने गलत हो । त्यसो गर्नेलाई संगठनको नियमअनुसार कारबाही हुन्छ ।’
तामाङको तर्क छ, ‘विद्यार्थी हितमा काम गर्न कसैले रोकेर रोकिँदैन ।’
भदौ १२ गते सहसंयोजक तामाङले एकल हस्ताक्षरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई इमेलमार्फत २१ बुँदे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्बन्धित ११ र विश्वविद्यालय शिक्षासँग सम्बन्धित १० बुँदाको माग इमेलबाट मन्त्रीलाई पठाएका हुन् । यस विषयले अहिले अनेरास्ववियुमा चर्को विवाद भएकाे छ ।
के छ ज्ञापनपत्रमा ?
ज्ञापनपत्रमा जारी शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने, सिकाइ सहजीकरण निर्देशिका– २०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन पर्ने उल्लेख छ ।
त्यस्तै, ११ कक्षा भर्नाका लागि गत वर्षको मापदण्डअनुसार जानुपर्ने, १२ कक्षाको परीक्षाका लागि होम सेन्टरको व्यवस्था हुनुपर्ने र परीक्षा असोजमै हुनुपर्ने माग गरिएको छ ।
विद्यालय तहमा पाठ्यक्रम र पाठ्यभार परिमार्जन गरी दसैं तिहारलगत्तै पठनपाठन सुरु गर्नुपर्ने, कोरोना महामारी नियन्त्रण भयो भने विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध वैकल्पिक सिकाइ प्रक्रियालाई अघि बढाउनुपर्नेलगायत माग गरिएको छ ।
ज्ञापनपत्रमा शैक्षिक वातावरण बनाउन आइसोलेसन र क्वारेन्टिन भएका विद्यालयमा डिइन्फेक्सन गर्न र क्वारेन्टिनको वैकल्पिक व्यवस्था गर्नसमेत माग गरिएको छ ।
संगठनको नियम मिच्नेलाई कारबाही हुन्छ : महर
अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले नेपालमा पनि असर गरेको छ । नेपालमा अधिकांश स्थानमा निषेधाज्ञा जारी भएको छ । यस्तो अवस्थामा हाम्रो संगठनको पनि केही काम हुन सकेको छैन । अहिले पनि आधिकारिक रूपमा केही गतिविधि भएको छैन । यसमा अरू कसैले केही गरेको भए मलाई कुनै जानकारी छैन । यस्तो भयावह अवस्थामा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन ।
म पनि क्वारेन्टिनमा बसेको थिएँ । अहिले मानिसले जीवन बचाउन धेरै मेहनत गर्नुपर्ने अवस्था आएको छ । घरभित्रै बसेर जीवन बचाउनुपरिरहेको अवस्थामा संगठनका कुनै पनि गतिविधि हुन असम्भव छ । संगठनले सार्वजनिक अथवा अन्य केही पनि गतिविधि गरेको छैन ।
बाहिर बाहिर कसले के गरेको छ ? त्यो खोज्दै जाने कुरा भएन । यदि संगठनले कहीँ काम वा केही गतिविधि गरेको भए मैले नै हो बोलाउने र छलफल चलाउने । संगठनको संयोजक नै म हुँ । मलाई नै थाहा छैन भने अरु कसले के गरेको छ, त्यो संगठनलाई जानकारी हुने भएन ।
संगठनका कार्यक्रम भएमा मसँग नै छलफल हुन्छ । मैले नै हस्ताक्षर गर्ने हो । तर अहिले त्यस्तो केही भएको छैन । जहाँसम्म अरु साथीहरूले ज्ञापनपत्र बुझाएको कुरा भन्नुभयो, त्यो मलाई थाहा छैन । मसँग कुनै छलफल पनि भएको होइन । सल्लाह तथा छलफल नै नभई भएको कुराको मलाई जानकारी हुने कुरै भएन ।
आरोप प्रत्यारोपको कुरा पनि आएको छ । यसबारेमा म छलफल गर्दै छु । आरोप प्रत्यारोप हुनु दुःखद कुरा हो । यसबारे पत्ता लगाएर छानबिन गराउँछु । संगठन विधि पद्धतिमा चल्छ, अनुशासनमा चल्छ । त्यसकारण जुन उद्देश्यका साथ संगठन एकता भएको हो, त्यो बचाउनुपर्छ । यहाँ कसैलाई पनि मनलाग्दी गर्ने छुट छैन ।
संयोजक नै सबैथोक हो भन्ने भ्रम नपाले हुन्छ : तामाङ
मैले विद्यार्थीको ज्वलन्त विषयहरूका बारेमा चासो राखेको हुँ । मैले विद्यार्थीको हकहितका लागि १२ गते २१ बुँदे ज्ञापनपत्र शिक्षामन्त्रीलाई बुझाएको हुँ । अनेरास्ववियु विद्यार्थीको संगठन हो । यसले विद्यार्थीको पक्षमा बारेमा बोल्छ, आवश्यक परेमा आन्दोलन गर्छ । यो संगठन सत्ताको गुणगान गाउन बनेको होइन । सरकारका राम्रा कामका समर्थन र नराम्रा कामको आलोचना गर्ने क्षमता राख्छ ।
यो संगठन विद्यार्थीको आशा र भरोसाको केन्द्र हो । यसले देशका सबै विद्यार्थीका पीरमर्का बुझ्छ । उनीहरूका समस्यासँग जुध्न तयार हुन्छ । उनीहरूलाई परेका समस्याको गाँठो फुकाउँछ । जुन काम अहिले पनि अनेरास्ववियुले गरेको हो । विद्यार्थीबाट निजी स्कुलहरूले मनपरी शुल्क असुलेका छन् । उनीहरूबाट विभिन्न बहानामा शुल्क असुलेर दुःख दिन थालिएकाे छ । यो संगठन मूकदर्शक बनेर बस्न सक्छ ? बस्न हुन्छ ? बस्न सक्दैन, अहिले पनि संगठनले त्यही गरेको हो । म यो संगठनको नेतृत्वको हैसियतले विद्यार्थीको पक्षमा बोलेको हुँ ।
हामीले सडकमा निस्केर नारा जुलुस गर्न भनेका होइनाैँ । संगठनको विधि पद्धतिअनुसार काम गराैँ भनेका हौ र गरेको हुँ । कोरोना भाइरसको महामारी छ, सबैलाई थाहा छ । महामारीमा पनि निजी विद्यालयले किन शुल्क असुली गरिरहेका छन् ? यसबारे बोल्नुपर्दैन ? पर्छ र म बोलेको हुँ । शिक्षा क्षेत्र कोरोनाबाट धेरै प्रभावित भएको छ । यही अवस्थामा पनि शिक्षा क्षेत्रमा केही काम गर्नुपर्छ । धेरै विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको कुरा छ ।
पाठ्यपुस्तक नपुगेको ठाउँमा पाठ्यपुस्तक पुर्याउनुपर्छ भनेको हुँ । आधाभन्दा बढी समय सकिएकाले वैकल्पिक रुपमा पनि केही सोच्न सकिन्छ भने सोचाैँ भनेको हुँ । मैले विद्यार्थीको पक्षमा बोलेर गल्ती गरेको हो ? मैले त विद्यार्थीको हकहितमा बोलेको हो । कुनै दलालको पक्षमा बोलेको होइन ।
मैले उठाएका विषय गलत छन् भने बहस गर्न आए हुन्छ, म तयार छु । मैले एकतर्फी रुपमा हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएको हो । तर मैले विधि विधान र समझदारी भत्काएको होइन । यो सबै भत्काउने संयोजक ऐन महर नै हुनुहुन्छ । असार २३ गते होटल हार्दिकमा संगठनको छुटै भेला गर्नुभयाे । उहाँले नै विधि विधान मिचेर गुटको भेला गर्नुभएकाे हाे ।
सबै कुरा मानिसको चेतनामा भर पर्छ । चेतनाको उपज नै हो आरोप प्रत्यारोप पनि । यस्तो आरोप प्रत्यारोप लगाएको देखेर दया लागेर आएको छ । कस्ताे 'स्कुलिङ' र चेतना दिइएछ ? आफैँलाई दुःख लागेको छ ।
समस्याको समाधान अधिवेशन
विधि पद्धतिमाथि यति धेरै कुरा उठेपछि यसको समाधान महाधिवेशन हो । संयोजकले नै गुटको भेला गरेपछि विधि पद्धति भत्किएको छ । अब यसको समाधान महाधिवेशन हो । जति सक्दो चाँडो अब महाधिवेशन गर्नुपर्छ । होइन भने समस्या बल्झँदै जान्छ । संयोजक नै सबै थोक हो भन्ने होइन । यो राजतन्त्र होइन, राजाले थाहा पाएपछि मात्र अरुले थाहा पाउनुपर्छ भन्ने होइन । यो त गणतन्त्र हो । संयोजकले थाहा नपाएको कुरा तल्लो कमिटीका साथीहरूले पनि थाहा पाउन सक्छन् । म त सहसंयोजक हो ।
त्यही भएर सबै कुरामा सरसल्लाह गरेर जाने भनिएको थियो । तर उहाँले २३ गते हार्दिक होटलमा गुटको भेला गरेर अमूक नेताहरूको गुणगान गाउन र अमुक नेताहरूलाई जथाभावी बोल्न लगाउनुभयो । गुटको भेला गर्दै नेताहरूलाई जथाभावी भन्ने छुट उहाँलाई कसले दियो ? उहाँ मात्र संगठन होइन । यो संगठन विधि पद्धतिमा चल्छ ।
यो संगठन कसैको गुणगान गाउन बनेको होइन । यसले विधि पद्धति मान्छ । गुट गुटका भेला गरेर नेताहरूको आलोचना गर्दै हिँड्ने छुट छैन । यसको समीक्षा हुन्छ ।
आफू पनि विद्यार्थीको पक्षमा नबोल्ने अरुले बोलेपनि मलाई थाहा छैन भन्दै हिँड्ने कस्तो प्रवृत्ति हो ? म राम्रा काम गर्न चाहन्छु । यो काम सके मिलेर गर्ने हो भएन भने अथवा संयोजक नै गुट बनाउँदै हिँडेपछि मैले कता खोज्न जानु त्यही भएर ज्ञापनपत्र बुझाएको हो । यो राम्रो काम हो । यस्ता राम्रा काम गर्न कसैले मलाई रोक्न सक्दैन ।