विश्वमै कोरोना संक्रमितको ग्राफ उकालो लाग्ने क्रममा थियो । सबैतिर एक त्रास फैलिएको थियो । यसैबीच मकवानपुरका एक युवालाई विदेशमा रहँदा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिए । सुरुमा उनी आत्तिए, ‘कोरोना पो भयो कि !’
खाडी मुलुकमा कार्यरत उनले अस्पताल पुगेर पिसिआर परीक्षण गराए । नभन्दै उनको शंका सही साबित भयो । उनमा कोरोना संक्रमण पुष्टि भयो । उनले डाक्टरसँग सल्लाह गरे, ‘अब के गर्ने ?’ डाक्टरले उनलाई घरमै आइसोलेसनमा बस्न सुझाए ।
- उनी सधैंझैँ साथीसँगै बसे । नियमित काममा गए । सधैं तातो पानीमा बेसार मिसाएर पिए । १५ दिनपछि पुनः पिसिआर परीक्षण गराए ।
साथीसँग मिलेर बसेका उनी अन्योलमा परे, कसरी सुरक्षित हुने ? बसिरहेको ठाउँ छोडेर अन्यत्र बस्ने सम्भावना थिएन, आर्थिक हिसाबले । बसिरहेकै ठाउँमा बस्दा अन्य साथीमा संक्रमण सर्ने डर । रोजगारी गुम्ने खतरा । उनलाई एकछिन संसार नै अँध्यारोजस्तो भयो । सोचे, ‘केयर गर्छु, काम पनि छोड्दिनँ, बसिरहेको ठाउँ पनि छोड्दिनँ ।’ उनी सधैंझैँ साथीसँगै बसे । नियमित काममा गए । सधैं तातो पानीमा बेसार मिसाएर पिए । १५ दिनपछि पुनः पिसिआर परीक्षण गराए । दोस्रोपटक पनि उनमा कोरोना संक्रमण देखियो ।
यस बीचमा उनलाई डरचाहिँ थियो, कसैले थाहा पाए वा आफूबाट अर्को मान्छेमा संक्रमण भयो कि भन्ने । भन्छन्, ‘दोस्रो पटक पनि संक्रमण देखिएपछि केही दिन निदाउन सकिनँ । तर, कोरोना जित्ने आँट थियो ।’ तेस्रो पटकको पिसिआर परीक्षणमा उनी कोरोनामुक्त भए । अहिले उनी ठीकठाक छन् ।
०००
गत फागुन १४ गते बेल्जियम गएकी बाग्लुङकी एक महिला चैत नलाग्दै नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनीसँगै नेपाल आएकी साथीलाई कोरोना संक्रमण भयो । त्यतिबेला उनी बाग्लुङ पुगिसकेकी थिइन् । कोरोनाका सामान्य लक्षण पनि देखिएका थिए उनलाई । तर, घरमै निको हुन्छु भनेर बसेकी उनी अस्पताल भर्ना भइन् । १७ दिनको अस्पताल बसाइ उनलाई जेल जस्तै लाग्यो । नर्स र डाक्टर छेउमा आउन डराउँथे ।
- आफू संक्रमित हुनेभन्दा पनि आफूबाट छोराछोरीलाई संक्रमण होला भन्ने पीर थियो ।
उनी सम्झाउँथिन्, ‘मलाई केही भएकै छैन, तपार्इंहरू किन डराउनुभएको ? मबाट कोरोना सर्दैन ।’
हस्पिटल बसाइमा उनमा कोरोनाका लक्षण देखिएनन् । त्यसैले हस्पिटलले पनि खासै सेवा दिनु परेन । उनका परिवारले पीर गरे । उनलाई पटक्कै पीर लागेन । उनी भन्छिन्, ‘यस्ता सानातिना रोग त कति पचाइयो जिन्दगीमा ।’ तर अस्पताल बसाइका कारण आफूलाई ‘प्रेसर हाई’ भएको उनले सुनाइन् ।
१७ दिनको हस्पिटल बसाइपछि गाउँ फर्किएकी उनलाई गाउँका कसैले भेटेनन् । उनी पनि घरबाट बाहिर ननस्किएरै बसिन् । ‘बाहिर निस्कँदा कसैले केही भन्ने पो हो कि भन्ने डर लागिरह्यो,’ उनले भनिन्, ‘कोरोना लागेर मान्छे मर्ने रोगचाहिँ होइन । अरू नै ठूला रोग भएका मानिस त यसै पनि मरिहाल्छन् ।’
कोरोना परीक्षण गर्नेका कुरा
डा. ज्योति आचार्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको ल्याब नेतृत्व गर्छिन् । पिसिआर परीक्षणको सुरुवाती दिनमा उनको मन डाराउँथ्यो । अन्य देशमा कोरोना महामारीले उग्र रूप लिएपछि नेपालमा कोरोना भित्रियो ।
जब देशमा २/४ जना मात्रै संक्रमित थिए । त्यतिबेला हस्पिटलको काम सकेर घर फर्किँदा हरेक दिन उनलाई ‘कतै म पनि संक्रमित भएँ कि !’ भन्ने लागिरह्यो । उनलाई आफू संक्रमित हुनेभन्दा पनि आफूबाट छोराछोरीलाई संक्रमण होला भन्ने पीर थियो । देशमा संक्रमित बढ्दै जाँदा उनमा यो डर हराउँदै गयो ।
भन्छिन्, ‘सुरक्षाका सबै मापदण्ड अपनाएकै छु । हामी बस्ने ठाउँको हावा पनि विशेष खालको बनाइएको हुन्छ । जहाँ जीवाणु पास हुन सक्दैन । डर नभए पनि रोगसँग सतर्कचाहिँ हुनुपर्ने उनको सुझाव छ । उनले आफ्नो घर र छिमेकमा पनि फरक खालको व्यवहार भोग्नु नपरेको बताइन् ।
उनले यस समय एकदमै चुनौतीपूर्ण रहेको भन्दै व्यवस्थापनमा पनि चुनौती रहेको बताइन् । आफूहरू चुनौतीका बाबजुत पनि उच्च मनोबलका साथ स्वाब संकलनमा जुटिरहेको उनी बताउँछिन् ।