यसपटकको ‘शैली संवाद’मा कवि, लेखक, समालोचक महेश पौड्यालसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
साहित्यमा कसरी प्रवेश गर्नुभयो ?
मेरो बुवा साहित्यको शिक्षक, मेरो पहिलो अंग्रेजीको गुरु हुनुन्थ्यो । अनि पुस्तक पढ्नुपर्छ, लेख्नुपर्छ भन्ने उत्प्रेरणा बुवाबाटै पाएँ । साहित्यिक परिवेशमा हुर्कने अवसर पाएर पनि साहित्यमा रुचि बढेको मान्छु ।
दिदीले साहित्यमा विद्यावरिधी गर्नु भएको छ । मेरो दाइ पनि प्राध्यापक हुनुन्छ । उहाँहरुले पढ्दा–लेख्दा मैले धेरै कुरा जाने । घरमै साहित्यिक माहोल भयो । जसले गर्दा आज म साहित्यको सिकारु भएको छु ।
कोरोनाको कारण साहित्यिक गतिविधि कति प्रभावित भएका छन् । अबको साहित्य सिर्जनामा कोरोनाको दीर्घकालीन प्रभाव कस्तो रहला ?
अहिले प्रविधिको माध्यमबाट फरक तरिकाले गतिविधिहरु भइरहेका छन् । भौतिक उपस्थिति जस्तो प्रभावकारी त नहोला, तैपनि यो बेला भर्चुअल माध्यमबाट चलायमान भएको छ ।
हामीले मान्छेलाई केन्द्रमा राख्दै मान्छे शक्तिशाली हुन्छ भनेर मानेका थियौं । हाम्रा सिर्जनाभित्र ती प्रष्ट आउथे । यतिखेर कोरोना भाइरसले मानव सभ्यतालाई नै अप्ठ्यारो पारिरहेको छ । भनेपछि मान्छे शक्तिशाली होइन रहेछ । मान्छे अहिले केन्द्रबाट सरेर नेपथ्यमा पुगेको छ । आफैलाई शक्तिशाली घोषणा गरेको मान्छे सदैव सर्वशक्तिमान नहुने रहेछ भन्ने बोध अब आउने साहित्यले अंगिकार गर्ने मैले देखेको छु । अब आउने साहित्य सिर्जनाहरुमा वातावरण कथ्य वा पृथ्वी केन्द्र हो, मान्छे केन्द्र होइन भन्ने परिवर्तन साहित्यमा आउँदै गरेको अनुमान गरेको छु ।
कोरोनापछिको नेपाली साहित्यलाई लिएर कत्तिको आशावादी हुनुन्छ ?
पहिले पनि रोगब्याधी, महामारी नआएका होइनन् । युद्धका त्रासदी नभएका होइनन् । प्राकृतिक प्रकोप भैरहन्छन् । तर मान्छेको सिर्जना जस्तो जर्जरतामा पनि उम्रने सक्ने पीपल जस्तै हो । भोलि अवस्था ठिक भएपछि हाम्रा लेखक साहित्यकारहरुको सिर्जनाको ठूलो बाढी आउने छ । जसले अबको एक वा आधा शताब्दी प्रभावित पारिरहन्छ भन्नेमा विश्वस्त छु ।
अहिलेको साहित्यमा युवा पुस्ताको रुचि कत्तिको छ ?
म एकदमै युवापुस्तासँग रहेर काम गर्न रुचाउने लेखक हुँ । यद्यपि मेरो सम्बन्ध अग्रज स्रष्टाहरुसँग त्यतिकै सानिध्यता छ ।
मैले दुई प्रकारका युवा स्रष्टा देखेको छु । एक प्रकारका युवाहरु फेसनमा आकर्षण छन् । केही कवि, लेखकहरुभव्य रुपले सफल भए । स्टेजमा सफल भए, प्रफमेन्समा सफल भए । देश विदेश गए । त्यो देखेर सिको गरेर आउने एउटा युवा पुस्ताको जमात छ । उनीहरुलाई मैले भन्ने गरेको छु, ‘तिमी आफू जसरी उभिनुपर्छ, अरु जसरी उभिन खोज्नु त्यो दुरगामी नहुन सक्छ ।’
अर्को थरी युवा छन्, जो समर्पणभावले आएका छन् । लेखक बन्न होइन कि, आफूसँग एउटा दृष्टिकोण छ, दृश्य छ, केही भन्नु छ, त्यसलाई स्थापित गर्न खोजिरहेका छन् । यस्ता थोरै युवाहरुको पक्षमा उभिनुपर्छ भन्ने सोचमा म छु ।
नेपालमा समालोचनाको स्थिति कस्तो छ ?
अहिले प्रशस्त लाईब्रेरीको उपलब्धताले र प्रविधिको माध्यमबाट यही बसिबसी कुन देशमा समालोचनाको अवस्था के छ भनेर सजिलै अध्ययन गर्न सकिन्छ । अहिले छाप्ने ठाउँहरु धेरै भए । पत्रपत्रिका छन्, जर्नल निस्किन्छन् । अनलाइन मिडिया छन् । यसकारण समालोचना गर्न आउने बाटाहरु प्रशस्त छन् ।
पहिल्यैदेखि नेपाली समालोचना एउटा रोइलोबाट ग्रसित थियो । समालोचनाको नाममा आग्रह पुवाग्रह पालेर समालोचना लेख्ने परिपाटी छ भनेर आरोप लाग्ने गर्थ्यो । त्यो आरोप अहिले पनि कायम छ। यसको अर्थ तटस्थ समालोचकको संख्या अत्यन्तै न्यून छ ।
अर्को नराम्रो पक्ष अहिलेको युवापुस्ता समालोचना लेख्न एकदमै कम आएका छन् । जसरी कविता लेख्ने, कथा लेख्ने, नाटक खेल्ने प्रतिभा आएका छन्, सोहीअनुरुप समालोचना लेखनमा कम छन् । हामीलाई समालोचक चाहिनेबेलामा स्वाट्टै घटेको छ ।
यसरी समालोचना गर्ने समालोचकको संख्या घट्नुको कारण के हुनसक्छ ?
समालोचना एउटा जोखिमपूर्ण काम हो । कमजोरी भनियो भने लोकप्रिय हुदैन वा मान्छे रिसाउला भन्ने डरबाट समालोचकहरु ग्रसित छन् । यस्तो डरबाट मुक्त हुनु जरुरी छ ।
अर्को सजिलै कुनै पत्रपत्रिकाले तपाईको समालोचना छाप्दैन । समालोचना त प्राज्ञिक विषय हो, छापिए पनि पाठक थोरै हुन्छन् । भाइरलको जमनामा पपुलर नहुने भनेर नलेखेका पनि हुन सक्छन् । अझ अर्को त समालोचना गर्न सक्ने प्रायप्त ज्ञानको अभावले पनि जो कोहिल्यै लेख्न आँट गर्ने विपनि होइन ।
रङ्गमन्चसँग जोडिएर थुप्रै काम गर्नुभएको छ। रङ्गमन्चलाई कसरी लिनुहुन्छ ?
म स्कुल पढ्दादेखि नै नाटक लेख्थें, निर्देशन गर्थें । पछि म काठमाडौ आएपछि बालनाटक लेखें । ‘आमा नहुँदाको एक साँझ’ शैली थिएटरमै मञ्चनन भएको थियो। ‘बिगौती त खाने खाने’ भन्ने नाटक म आफैले निर्देशन गरेर मन्चन गराए ।
गुरुकुलमा गएर नाटक हेर्थे । पछि शैली थिएटरका अध्यक्षको आग्रहमा केही रसियन नाटक अनुवाद गरें, ती मञ्चन भए । ‘सरकारी निरीक्षक’ भन्ने नाटकमा अभिनय पनि गरें, नवराज जीको निर्देशनमा । नाटकलाई अलि बढी समय दिनुपर्ने हुन्छ । आगामी दिन फेरि गरौंला भन्ने मनमा छ ।