जीवन–यात्राको हिसाबले सहयात्राका लागि १० महिना निकै छोटो समय हो । तर जनयुद्धकी एक योद्धा टीका बास्तोला ‘रेखा’का लागि जीवन बिताउन श्रीमान् भिम गिरीसँगको त्यति सहयात्रा काफी भइदियो । जनयुद्धकै क्रममा २०६० मंसिर १७ गते भीमलाई काठमाडौंको क्षेत्रपाटीबाट तत्कालिन राज्यसत्ताले बेपत्ता बनाएको थियो ।
भिम बेपत्ता पारिएको १८ वर्ष बित्यो, रेखाको हृदयमा उनीप्रतिको प्रेम, सम्मान उतिकै छ । रेखाका आँखाभरि उनकै झझल्को मात्र छ । रेखा आफैं पनि त्यो बेला माओवादीको काठमाडौं जिल्ला सदस्य थिइन् । पछिल्लो समय भने पार्टीको जिम्मेवारीबाट बाहिरिएर ललितपुरको नागदहमा व्यावसायिक तरकारी खेती गरिरहेकी छिन् ।
उनलाई आफूले काम गर्ने बारीमा श्रीमान् बोटविरुवा भएर आए कि जस्तो अनुभूति हुन्छ । ती बोटविरुवाको माध्यमबाट श्रीमान्ले बातचित गरेजस्तो लाग्छ । ‘बिहान उठ्दा बाहिर आइराख्नु भएको हुन्छ कि, झ्यालमा आएर सुटुक्क बोलाउनु हुन्छ जस्तो लाग्छ । हामी युद्धकै क्रममा भेटेर छुटिएको हुनाले एकदमै सुटुक्क कतै भेटिन्छ कि महसुस हुन्छ,’ उनले भनिन् ।
- ‘उहाँ हुनु भएको भए आन्दोलनको नयाँ बाटोबारे विचार विमर्श हुन्थ्यो । उहाँ मेरो आत्मनिर्भर हुने बाटो देखेर अवश्य खुसी हुनुहुन्थ्यो ।’ तर, कहाँ होलान् त भिम ?
श्रीमान् वरिपरी नै छन् कि ! उनी नोटाल्जिक भइरहन्छिन् । आन्दोलनका क्रममा सँगै हिडेका बाटोहरूमा पुग्दा उनलाई आज पनि झल्को आउँछ । उनी भएको भए पार्टी संगठनको सवालमा होस् वा विचारका मुद्दामा, घनिभूत छलफल हुन्थ्यो– उनलाई लाग्छ । वैचारिक मतमा भिमको प्रष्ट अडान हुन्थ्यो ।
पार्टीकै मुद्दा बेचेर व्यक्तिगत लाभको अग्लो महल उक्लेकाहरू प्रशस्त छन् अहिले । तर उनी सकेसम्म पार्टीलाई आर्थिक भार बोकाउनु हुन्न भन्थे । आत्मनिर्भर हुने बाटो सुझाउँथे । तर त्यतिबेला उनीहरु युद्धमा थिए ।
‘उहाँ हुनु भएको भए आन्दोलनको नयाँ बाटोबारे विचार विमर्श हुन्थ्यो । उहाँ मेरो आत्मनिर्भर हुने बाटो देखेर अवश्य खुसी हुनुहुन्थ्यो ।’ तर, कहाँ होलान् त भिम ? के होला उनी र उनी जस्ता बेपत्ताहरूको अवस्था ? यस्तो कुरा सम्झँदा भने उनलाई बारम्बार पीडा हुन्छ । उनी जीवन जिउने क्रममा आइपर्ने तमाम समस्याविरुद्ध एक्लै पनि संघर्ष गरिरहेकी छन् । श्रीमान् भइदिएको भए आज यी कुरा भोग्न पर्दैनथ्यो भन्ने उनलाई महसुस हुन्छ । उनी भिमहरूको योगदानलाई राज्यले कदर गरेको हेर्न चाहन्छिन् ।
राज्यले आजसम्म उनको प्रश्नको जवाफ दिन सकेको छैन । एकदिन भेट होला र संकल्पको बाटो फेरि हिडिन्छ भन्ने आशा लाग्छ । आफ्नो जीवनकालमै उनी श्रीमान्, अन्य बेपत्ता योद्धाहरू र उनीहरूसँगै छुटेको वर्गीय आन्दोलनको मियो खोज्न चाहन्छिन् ।
भन्छिन्, ‘सरकार हामीलाई थकाउन चाहन्छ । कतिले व्यवहारिक अप्ठ्याराहरूका कारण बेपत्ता प्रियजनको श्राद्ध पनि गरिसके । तर मैलेचाहिँ हार खाएको छैन र खान्नँ पनि । उहाँको खोजीमै जीवन बिताउने प्रण लिएको छु । उहाँकै प्रेरणा र प्रेममा विचलित नभई समाजमा अडिएर केही नमूना काम गर्ने सोच छ ।’
- ‘कुनै बेपत्ता परिवारले आश मारे पनि ती साथीहरूको पक्षमा पनि हामी बोल्ने छौं । हजारौं वर्ष लागे पनि हाम्रा आफन्तले पुस्तौंसम्म खोजी गर्ने छन् ।’
जनयुद्धमा लाग्दै त्यागेको भौतिक सुखसुविधाको मोह अब पनि उनलाई छैन । उनको श्रीमान् जस्तै हजारौं बेपत्ता र सहिद भएका छन् । हजारौं शरीरका अंग गुमाएर, गोलीका छर्रा जीउमा बोकेर बाँच्न बाध्य छन् । ती सबैको बलिदानी मुलुकको परिवर्तनका लागि थियो । त्यो भावनाको एउटा प्रतिनिधि पात्र ठान्छिन् आफूलाई ।
राज्यले बेपत्ताको अवस्थाबारे प्रमाणिकरण गर्न सक्छ भने जुन अवस्था भएपनि परिवार स्वीकार्न तयार छन् । ‘युद्धमा आफूमध्ये जो पनि मर्न सकिने सम्भाव्यतालाई स्वीकारेरै हिँडेको हो । सत्य स्वीकार्न गाह्रो छैन । तर राज्य कहिलेसम्म गैर जिम्मेवार हुन सक्छ ? प्रश्न यहाँ छ,’ उनले भनिन् ।
सबैको अवस्था सोच एउटै हुँदैन । बेपत्ता भएको १२ वर्ष पुगिसकेपछि राज्यले पनि नफर्केको मान्ने कानूनी मान्यता रहेको र पारिवारिक अड्चन खोल्न कतिपय बेपत्ताको परिवारले श्राद्ध पनि गरिसकेका छन् । भन्छिन्, ‘कुनै बेपत्ता परिवारले आश मारे पनि ती साथीहरूको पक्षमा पनि हामी बोल्ने छौं । हजारौं वर्ष लागे पनि हाम्रा आफन्तले पुस्तौंसम्म खोजी गर्ने छन् ।’
बच्चाको अभाव खट्किन्छ
पछिल्ला दिनमा उनलाई श्रीमानका यादसँगै बच्चाको अभाव खट्किन्छ । कति योद्धाले युद्धकालमै सन्तान जन्माएर हुर्काए । तर उनीहरूको ध्यान पार्टीको जिम्मेवारी र जनताको मुक्तिमा केन्द्रित थियो, बच्चा पाउनेबारे सोचेनन् । आज कम्तिमा एउटा बच्चा भएको भए आफ्नो बुबाको योगदानको खोजी गर्ने नयाँ पुस्ता हुन्थ्यो भन्ने उनलाई लाग्छ ।
‘हिजो पो युद्धमा हामी वर्गीय लडाईंको अर्कै मिसनमा थियौं । त्यो बेला हामीले बच्चा वा भविष्यका बारेमा सोचेनौं, देशमा गणतन्त्र ल्याउनु नै हाम्रो सन्तान भएसरह ठानेका थियौं । तर मसँग न त मिसन बाँकी भो, न बच्चा न श्रीमान् । बच्चा भएको भए यति वर्षको हुने थियो होला, आफ्नो बुबाको खोजीका साथ हुन्थ्यो होला भन्ने कल्पना आउँछ,’ उनले भनिन् । यद्यपि श्रीमानका परिवारले दिएको सम्मान र मायाले उनी एक हद खुसी छिन् । साँइला जेठाजुका ४ छोराछोरी उनले आफैंसँग राखेर हुर्काएकी छन् । वार्षिक १० लाखजतिको कारोबार हुने उनको फार्ममा तिनै छोराछोरीले सघाउँछन् ।
जनयुद्धमाथिको ‘ट्यागिङ’
अहिले उनी दैनिक ६ घण्टा फार्ममा काम गर्छिन् । फुर्सदको समय अध्ययनमा लगाउँछिन् । अनावश्यक कुरा नसोचियोस् भन्नेमा उनी सचेत छिन् । अध्ययन सँगसँगै उनी जनयुद्धका योद्धा तथा तिनका परिवारसँग जोडिइरहन्छिन् । जनयुद्धलाई न्यायपूर्ण आन्दोलनका रुपमा स्थापित गरिराख्नु उनको सपना । यसबारे पीडित साथीहरूसँग छलफल गर्छिन् ।
- भिम भन्थे– पार्टी संगठनलाई दुरुपयोग गर्नुहुँदैन, आफ्नो मिहिनेत र श्रममा बाँच्नुपर्छ । आफूलाई त्यही बाटो हिडाएर उनीसँगै हिडेको महसुस गर्छिन् रेखा । मन न हो, श्रीमान नहुनुको पीडाले बेला–बेला बेस्सरी पोल्छ उनको छाती ।
जनयुद्ध न्यायपूर्ण आन्दोलन थियो, यो देशका लागि जरुरी थियो भन्ने पुष्टि नगरी नेतृत्व सत्ताको सजिलो बाटो हिँडिसक्यो । नेतृत्वले गरेको कमजोरीका कारण जनयुद्धलाई एक ‘आंकत’का रूपमा ‘ट्यागिङ’ गरेको उनलाई मान्य छैन । भन्छिन्, ‘भोलीका पुस्ताले जनयुद्धलाई ठिक ढंगले बुझ्ने सत्य इतिहास छोडेर जानका निम्ति हामीले नै काम गर्नुपर्ने छ । नत्र हामीलाई हेर्ने दृष्टिकोणमा अन्याय हुन सक्छ । सहिद, बेपत्ता र घाइतेका परिवारले हामीलाई धिक्कार्नेछन् भन्ने लाग्छ ।’
यसका लागि योद्धा तथा प्रभावित परिवार मिलेर युद्धकालका सामग्री संग्रहित तथा दस्तावेजीकरण गर्नेबारे छलफल चलिरहेको छ । संग्रहित गर्नुपर्ने स्रोतहरु प्रशस्त छन् । हरेक परिवारसँग चरम पीडा र गौरवका अनुभव छन् । योगदानका स्मरण छन् । हरेक बेपत्ता, सहिदका केही न केही अवशेष, उसले पढेका किताब, लुगा वा प्रयोग गरेका सामग्री परिवारसँग छन् । कमसेकम ती सामग्रीलाई संग्रहालयका रूपमा राख्ने दीर्घकालिन योजना बनाउनुपर्छ भन्ने लागेको छ । युगौंसम्मका लागि संग्रहित गर्न सकिन्छ भन्ने लाग्छ । तर ठोस कार्ययोजना बनाउन सकेका छैनन् ।
उसो त तिनै काम गर्न पनि पैसा लाग्छ नै । हिजो युद्धबाहेक सबै कुरा गौण भनेर हिँडेकी उनी आज नेतृत्व नै पैसा र शक्तिको चक्रब्यूहमा फसेको देख्छिन् । अहिले धेरै योद्धा सीप न पढाइको अवस्थामा निकै दुःखदायी जीवन बाँच्न वाध्य भएको उनको गुनासो छ । तर यति हुँदाहुँदै पनि क्रान्तिलाई अभिलेखिकरण गर्न हरसम्भव प्रयास गर्न उनको पहल जारी छ ।
भौतिक रूपमा सँगै नभएपनि मन, दिमाग र हरेक गतिविधिमा श्रीमानसँगै भएको उनलाई आभास हुन्छ । संसदीय प्रणालीमा रूपान्तरण गर्न युद्धविराम गरेको पार्टीलाई नेतृत्वले त्यही सत्ताको गुलाम बनाएपछि नियमित जिम्मेवारीबाट बाहिरिएर उनी कृषिकर्ममा जुटेकी हुन् । श्रीमानका विचारलाई सम्झँदै उनले आत्मनिर्भर हुन यो बाटो रोजेकी हुन् ।
भिम भन्थे– पार्टी संगठनलाई दुरुपयोग गर्नुहुँदैन, आफ्नो मिहिनेत र श्रममा बाँच्नुपर्छ । आफूलाई त्यही बाटो हिडाएर उनीसँगै हिडेको महसुस गर्छिन् रेखा । मन न हो, श्रीमान नहुनुको पीडाले बेला–बेला बेस्सरी पोल्छ उनको छाती । तर रोएर बस्नु उनको जीवनको सर्त होइन, न समाधान नै । उनी आफ्ना श्रीमान् जसरी जनयुद्धका क्रममा बेपत्ता भएकाहरूको खोजीमा निरन्तर जुटेकी छन् । बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न बारम्बार आन्दोलन गर्दै आएका छन्, उनी ती आन्दोलनको नेतृत्वमा हुन्छिन् ।
रेखा र भिमसँगै युद्ध लडेका कतिपय सहयात्री अहिले सत्तामा छन् । युद्धकालमा सहयात्री बेपत्ता वा सहिद हुँदा आफैंलाई परेजतिकै दुःखी हुने ती साथीहरू अचेल रेखाहरूका मुद्दा मन पराउँदैनन् । भन्छिन्, ‘हाम्रा कुरा सुन्दा उनीहरू मुख बटार्छन् । पार्टीको नेतृत्वले नै बाटो बिराइसकेकोमा म ढुक्क छु ।’
- २०७० सालमा पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएकी उनी पार्टी सदस्यता नवीकरण गर्न चाहन्छिन् । तर, कुन पार्टीबाट ? दोधारमा छिन् । सैद्धान्तिक रूपमा स्खलित भएर एकीकरणमा गएको नेकपाको सदस्य हुन उनको नैतिकताले मानिरहेको छैन । अहिले आफूलाई ‘पूर्वमाओवादी हुँ’ भन्नुमै उनलाई गर्व छ ।
क्रान्ति सधैँ सिधा रेखामा हिँड्दैन, शान्ति प्रक्रियामा जानु बेठिक थिएन भन्ने उनले बुझेकी छिन् । हिजो युद्धविराम गर्दा संसदीय सिद्धान्त र प्रणालीलाई रूपान्तरण गरेर जनताको शासन स्थापित गर्ने भन्ने थियो । तर संसदीय व्यवस्थामा सामेल भइसकेपछि नेतृत्व पुरानै प्रणालीमै विलय भइदियो । तत्कालिन संसदीय प्रणालीसँग सिधा लड्न नसके घुमाउरो बाटो अपनाउन सकिन्थ्यो भन्ने लाग्छ उनलाई । आफ्नो व्यक्तिगत जीवनशैलीदेखि वैचारिक तहसम्मै नेतृत्वमा आएको स्खलनसँग उनी सहमत हुनै सकिनन् ।
म्युनिष्ट पार्टीको एकीकरण हुनु राम्रो भएको भएपनि विचार, नीति र सिद्धान्त ठिक नभएपछि त्यसले जनतालाई सही न्याय दिन नसकेको उनको ठम्याई छ । आफ्ना श्रीमान र उनीसँगै बेपत्ता वा बलिदान हुने योद्धाहरूको अवमूल्यन भयो भन्ने उनलाई लाग्छ ।
कुन पार्टीको सदस्य हुनु ?
भिम बेपत्ता पारिएपछि पार्टीमा झन् जिम्मेवार भएर उनले काम गरिन् । भन्छिन्, ‘उहाँ फर्किने अपेक्षासहित शान्ति प्रक्रियादेखि पछिल्ला घटनासम्म पनि निरन्तर पार्टी, संगठन र जनताका कामभन्दा पर कहिल्यै सोचिएन ।
तर हामीले जे सोचेर माओवादी पार्टीमा हिड्यौं, हाम्रो रगत, पसिना बगायौं, हाम्रा मान्छे गुमायौं, हाम्रा तत्कालिन नेताहरूलाई जुन गौरवले लिन्थ्यौं, पछिल्लो समय त्यो राजनीतिक धरातल, आस्थालाई नै बिर्सन सक्ने उहाँहरूको व्यवहारले हामीलाई मर्माहत बनाएको छ ।’
२०७० सालमा पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएकी उनी पार्टी सदस्यता नवीकरण गर्न चाहन्छिन् । तर, कुन पार्टीबाट ? दोधारमा छिन् । सैद्धान्तिक रूपमा स्खलित भएर एकीकरणमा गएको नेकपाको सदस्य हुन उनको नैतिकताले मानिरहेको छैन । अहिले आफूलाई ‘पूर्वमाओवादी हुँ’ भन्नुमै उनलाई गर्व छ । माओवादलाई आत्मसात् गरेर भएको जनयुद्धको आधारलाई आफ्नो सिद्धान्त मान्दै उनी जीवन बिताउन चाहन्छिन् ।
उसो त तत्कालिन नेतृत्वसँग असन्तुष्ट नेता, कार्यकर्ता मिलेर नयाँ पार्टी–संगठन बनेका छन् । एक झिल्को आशा नपलाएको होइन । तर ती पार्टीहरूको भुमिका पनि उनलाई आशा जगाउने खालको रहेन ।
उनलाई लाग्छ– ती संस्थाहरू पनि कुण्ठा व्यक्त गर्ने ठाउँ मात्र बने । आवश्यक परे अहिले पनि देशका लागि लड्न तयार हुने उनी आफूहरुलाई परिचालन गर्ने पार्टी तयार नभएको निष्कर्षमा छिन् ।
फोटोहरु रेखा बास्तोलाको फेसबुकबाट