मेस्सीले फुटबल जगतमा पाएको सफलता, सम्मान, चर्चा तथा ख्याति यी सबैलाई हेर्दा लाग्छ, यो सबै उनको शान्त र सरल स्वभावबाट मात्र सम्भव भएको हो ।
मैदानबाहिर होस् वा भित्र, मेस्सी शान्तिको स्वरुप हुन् । सबैअघि साधारण तरिकाबाट उपस्थित हुने गर्छन् । मैदानभित्र पनि उनी सरल स्वाभावका साथ आफ्नो कलालाई प्रर्दशन गर्छन् ।
यी सबकुरा उनको खेलबाट पनि प्रमाणित भैसकेको छ । किनकि मेस्सीले आजसम्म केबल २ पटकमात्र रातो कार्ड पाएका छन् । ८ सय ६८ खेलमा मात्र २ पटक रातो कार्ड पाउनुले पनि मेस्सी सरल रुपमा फुटबल खेल्छन् भन्ने कुरालाई सिद्ध गर्छ ।
उनले यी दुवै कार्ड आफ्नो देश अर्जेन्टिनाबाट खेल्ने क्रममा पाएका हुन् । मेस्सीले क्लबबाट खेल्दा कहिल्यै रातो कार्ड पाएका छैनन् । आजको मितिसम्म उनले ७ सय ४ गोल गरेका छन् भने २ सय ९८ पटक असिस्ट गरेका छन् ।
जुनसुकै खेलमा विपक्षी खेलाडीको टाउको दुखाई मेस्सी नै हुने गर्छन् । उनलाई कसरी रोक्ने, कसरी उनको खुट्टामा बल पुग्न नदिने भनेर सोझो बांगो सबै खालका योजनाका साथ विपक्षी खेलाडी उनको सामु आउँछन् । यी दौरानमा उनलाई नियमविपरित छिर्के हानेर लडाउनेदेखि तान्ने सबै भएका छन्, त्यही पनि मेस्सी आवेशमा आउँदैनन् । केही पनि नभएजसो गरी खेलमा फर्किन्छन् ।
मैदानमा विपक्षी खेलाडीले भौतिक आक्रमण मात्र होइन, मनोवैज्ञानिक आक्रमण पनि गर्छन् भनेर उनले बुझेका छन् । त्यसैले उनी त्यस्तो अवस्थामा पनि आक्रोशित नभई आफूलाई खेलबाहेक अरु कुरामा ध्यान लैजाने काम गर्दैनन् । पूर्ण रुपमा खेलमा ‘फोकस’ हुन चाहन्छन् ।
रातो कार्ड १ः हंगेरीसँगको अन्तर्राष्ट्रिय फ्रेन्डली म्याच
मेस्सीले पहिलोपटक सन् २००५ को १५ अगस्टमा हंगेरीसँग भएको खेलमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । विडम्वना त्यो खेल मेस्सीको पहिलो अन्र्तराष्ट्रिय खेल थियो । उनले यही खेलबाट अर्जेन्टिनाको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
१८ वर्षको उमेरमा उनी अतिरिक्त खेलाडीको रुपमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मेस्सी लिस्सन्ड्रो लोपेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए । मैदानमा प्रवेश गरेको ४३ सेकेन्डमा नै रातो कार्ड पाएपछि उनको पहिलो अन्तर्राष्ट्रिय खेल यतिकै सकियो ।
हंगेरीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा हंगेरीका डिफेन्डर भिल्मोस भान्जाकलाई जर्सी तानेको कारण उनी मैदानबाट बाहिरिएका थिए ।
यो मैत्रीपूर्ण खेलमा १० जनामा सिमित रहेको अर्जेन्टिनाले नै हंगेरीलाई हराएको थियो । खेलमा अर्जेन्टिना २ र हंगेरीले १ गोल गरेको थियो ।
रातो कार्ड २ः कोपा अमेरिकामा चिलीसँग
सन् २०१९ को जुलाई ६ ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा मेस्सीले दोस्रो पटक रातो कार्ड पाए । ब्राजिलमा आयोजित कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि अर्जेन्टिना र चिलीबीच भएको खेलमा मेस्सीले कार्ड पाएका हुन् ।
रेफ्रीले मेस्सीलाई खेलको ३७ औं मिनेटमा रातो कार्ड देखाएका थिए । १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टिममा प्रवेश गरेका उनी यतिबेलासम्म भने अर्जेन्टिना फुटबल टिमको कप्तान बनिसकेका थिए ।
आफ्नो खुट्टामा बल पार्नका लागि मेस्सी र चिलीका गारी मिडिल एक आपसमा प्रतिस्पर्धा गर्दै ठेलाठेल गर्दा रेफ्रीले मेस्सीसँगै मिडिललाई पनि रातो कार्ड देखाएका थिए । रेफ्रीले उनीहरुलाई रातो कार्ड दिनुपूर्व मैदानमा उनीहरु सामान्य भनाभनको अवस्थामा पनि पुगे ।
यो विषयमा पछि भिडियोमा हेर्दा भने मेस्सीलाई मिडिलले एकपछि अर्को गर्दै लगातार आक्रामण गरेको देखिएको थियो । दुवै देशका एक एक खेलाडी बाहिरिएका यो खेलमा अर्जेन्टिनाले चिलीलाई हराएको थियो । यो खेलमा अर्जेन्टिनाले २ र चिलीले १ गोल गरेको थियो ।
एजेन्सीको सहयोगमा