काठमाडौं- पाँच दिनदेखि वीर अस्पतालको आइसियूमा उपचाररत धादिङकी स्मिता भुजेलको दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
भदौ १० गते गम्भीर अवस्थामा अस्पातल पुर्याइएकी सुत्केरी स्मितालाई पिसिआर रिपोर्ट नआएको भन्दै सुरुमा आसियूमा भर्ना गरिएको थिएन । आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । जसको रिपोर्टिङ नेपाली पब्लिकले गरेको थियो ।
त्यसको २२ घण्टापछि पिसिआर रिपोर्ट आएपछि मात्रै आइसियू कक्षमा लगिएको थियो । तत्काल आइसियू राख्नुपर्ने बिरामीलाई ढिला गरी लैँजादा तीन दिन भेन्डिलेटरमा राखेर उपचार गर्नुपरेको थियो ।
अहिले उनको अवस्था पहिलेभन्दा सुध्रिएको छ । तर, आइसियूमा लगेको पाँच दिनपछिको पुनः परीक्षणमा कोरोनाको रिपोर्ट भने पोजेटिभ आएको छ । अस्पताल ल्याउँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लक्षण देखिए पनि रोपोर्ट भने नेगेटिभ आएको थियो । तर, अस्पतालमा आइसियूमा उपचार गर्दा गर्दै उनको रिपोर्ट पोजेटिभ भयो ।
श्रीमतीमा कोरोना देखिएपछि छोराको चिन्ता
श्रीमतीमा कोरोना संक्रमण देखिएपछि दीपक भुजेल तनावमा छन् । उनी भन्छन्, 'तीन दिनपछि आस मारेको बिरामीको अवस्था सुध्रिएको थियो । अब फेरि के हुने हो भन्ने डर लागिरहेको छ ।'
वीर अस्पतालमा कोरोना संक्रमित भएका र नभएका दुवै बिरामीको उपचार हुने गरेको छ । अस्पतालका चिकित्सकले संक्रमित र संक्रमित नभएका दुवै बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । जसले गर्दा त्यहाँ उपचारका लागि जाने बिरामी र आफन्तमा कोरोना संक्रमण हुने जोखिम रहन्छ ।
अस्पताल ल्याएपछि श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि दीपकलाई एक महिनाको छोरालाई संक्रमणबाट कसरी बचाउने हो भन्ने चिन्ताले घेरेको छ । भन्छन्, 'हामी त जोगिऔंला, छोरालाई कसरी जोगाउनु ।' पछिल्लो समय अस्पताल कोरोना संक्रमण फैलाउने स्थान भएको छ ।
कोरोना संक्रमित भएकी स्मितालाई आइसियूबाट कोभिड क्याबिनमा सारिएकाे छ । उनको छातीमा निमोनिया पनि देखिएको अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए ।
आर्थिक तनाव : कोरोना उपचार अस्पतालले बेहोर्ने
उनको उपचारमा अहिलेसम्म एक लाखभन्दा बढी खर्च भइसकेको छ । ज्याला मजदुरी गरेर परिवार पाल्ने दीपकलाई उपचार खर्च धान्न धौधौ परेको थियो ।
गाँउबाट सरसापट गरेको पैसा पनि सकिएको दीपक बताउँछन् । उपचार खर्च छुटका लागि उनले वडाबाट सिफरिस पनि मगाएका छन् । स्मितामा कोभिड संक्रमण देखिएपछि अब उनको उपचारमा लाग्ने उपचार खर्च भने अस्पतालले बेहोर्नेछ ।
स्वाथ्यकर्मी संक्रमित हुँदा उपचारमा समस्या
वीर अस्पतालमा उपचाररत चिकित्सक तथा स्वाथ्यकर्मीहरु संक्रमित हुँदा बिरामीको उपचारमा समस्या भएको छ । अहिलेसम्म २० जना संक्रमित भइसकेका छन् । उनीहरुको पनि अस्पतालकै कोभिड वार्डमा उपचार भइरहेको छ । केही स्वाथ्यकर्मीहरु होटल क्वारेन्टिनमा रहेका छन् ।
अस्तालमा कोरोना संक्रमित र शंकास्पद दुवै खालका बिरामी उपचारमा आउने भएकाले स्वाथ्यकर्मी संक्रमण भएकाे हाे । कोभिड वार्ड बाहेकका वार्डमा स्वास्थ्य सुरक्षा सामग्री पुर्याउन नसक्दा पनि स्वाथ्यकर्मी संक्रमितको संख्या बढेको अस्पतालले जनाएको छ ।
एउटै चिकित्सकले संक्रमित भएका र नभएका दुवै बिरामी हेर्नुपर्ने बाध्यताले पनि संक्रमण नभएका बिरामी र आफन्तमा सर्ने जोखिम पनि रहेको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले चिकित्सक तथा स्वाथ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएमा स्वाथ्यकर्मीको संख्या बढाउनुपर्ने अवस्था आउन सक्ने बताउँछन् । उनी भन्छन्, 'बिरामीको संख्या बढ्दै जाने र स्वाथ्यकर्मी संख्या घट्दै जाँदा उपचारमा समस्या हुन्छ, संख्या थप्नुपर्ने अवस्था देखिन थालेको छ ।'
वीर कोभिड अस्पताल बनाइने
कोभिडका बिरामीको संख्या बढ्न थालेपछि वीर अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी गरिएको छ ।
अस्पतालमा अन्य रोगको उपचार गराई रहेका बिरामीलाई ट्रमा सेन्टरमा सारी कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउने तयारीका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भएको कोरोना फोकल पर्सन डा. कार्कीले बताए ।
कोरोना संक्रमित भएका र नभएकालाई एउटै अस्पतालम राखेर उपचार गर्दा संक्रमणको जोखिम भएकाले छुट्टै राखेर उपचार गरिने तयारी गरिएको बताइएको छ । कोरोना संक्रमित भएका र नभएका बिरामीको उपचार स्वास्थ्यकर्मीले ढुक्क भएर गर्न नसक्ने डा. कार्कीको बुझाइ छ । 'कोभिड अस्पताल बनेमा ढुक्क भएर स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्न सक्छन्,' उनले भने ।
डा. कार्कीका अनुसार कोभिड बिरामीका लागि दुईवटा वार्डमा ३० बेड छुट्टाइएको छ । एउटा आर्को छुट्टै वार्डमा भएको २० बेडमध्ये १६ वेड सञ्चालनमा रहेको छ । त्यसमा अझ आठ वटा बेड पनि थपिँदै छ ।
इमेरन्जेन्सी आइसोलेसनमा ५ वटा वेड छुट्टाइएको छ । कोभिडका ५ वटा छुट्टै आइसियू र ५ वटा भेन्टिलेटरसहितको क्याबिन छुट्टाइएको छ । तर, एउटा वार्डमा ७ बेडलाई एउटा मात्रै शौचालय रहेको छ । अस्पताल पुरानो भएकाले धेरै पूर्वाधार थप्न नसकेको डा. कार्की बताउँछन् ।
कोभिडका बिरामीको उपचार खटिने स्वाथ्यकर्मीलाई राख्ने होटल क्वारेन्टिन संख्या बढाउन बजेट अपुग भएको अस्पतालले जनाएको छ ।
यसअघिको सम्बन्धित समाचार पढ्नुहोस्
वीर अस्पताल अपडेटः २२ घण्टापछि पिसिआर रिपोर्ट, बल्ल लगियो आइसियूमा, अवस्था नाजुक