यसपटकको ‘शैली संवाद’मा चलचित्र निर्देशक तथा समीक्षक दीपेन्द्र लामासँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
पत्रकारिता गर्दा गर्दै चलचित्र निर्देशनमा कसरी आइपुग्नुभयो ?
बाल्यकालदेखि नै फिल्म निकै हेर्थें । काठमाडौंमा सीमित फिल्म हलहरुमा भन्दा पनि, दुई तीन रुपैयाँ तिरेर सुकुलमा बसेर भिडियो फिल्म हेर्थ्याैँ । त्यही बेलादेखि फिल्ममा एक किसिमको लत बस्यो ।
पत्रकारिता गर्दा चलचित्र, रङ्गमञ्च र कलासाहित्यसम्बन्धी बिट हेर्न थालें । झन्डै १८ वर्षको पत्रकारितापश्चात् केही फरक गर्ने मन भयो । रुचिको विषय फिल्म नै थियो । लामो समयको सेल्फ अध्ययन र छोटो कार्यशालाहरु लिएर फिल्म लेखन र निर्देशनमा आएको हुँ ।
नेपाली चलचित्रको विकासक्रमलाई कसरी हेर्नुभएको छ ?
नेपाली भाषामा नेपालबाहिर बनेको पहिलो चलचित्र 'सत्य हरिशचन्द्र' र नेपालभित्रै बनेको पहिलो 'आमा' हो । आमा २०२२ सालमा रिलिज भयो । त्यतिखेर हिन्दी चलचित्रमा काम गरिरहेका प्राविधिकलाई बोलाएर निर्माण गरिने भएकाले सुरूवातमा हिन्दी चलचित्रबाट बढी प्रभावित भएको देखिन्छ । त्यसैले एक किसिमको असन्तुष्टि थियो ।
नेपाली चलचित्रमा मौलिकताको खोजी सुरूवातबाटै भएको हो । त्यो खोज पूरा भएको छैन । नेपाली फिल्मको छुट्टै पहिचान हुनुपर्छ भनेर आवाज उठाउने र कलम चलाउनेमा म पनि पर्छु । अरु साथीहरुले पनि काम गरिरहनुभएको छ । नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान अझै बनाउन सकेकाे छैन ।
तपाईं चलचित्र समीक्षक पनि भएकाले, नेपाली चलचित्रको स्वर्ण युग भनेर कुन समयलाई मान्नुहुन्छ ?
मेरो मूल्यांकनमा नेपाली फिल्मको स्वर्ण युग भन्ने नै छैन । स्वर्ण युग हुनका लागि त्यो कालमा एकदमै उत्कृष्ट फिल्म बन्नुपर्याे । ती फिल्म अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिनुपर्याे । अन्तर्राष्ट्रिय वृत्तमा नेपाली फिल्मको गन्ती हुन पर्याे त । त्यो अहिलेसम्म भएको छैन । त्यसैले म नेपाली फिल्मको स्वर्ण युग भनेर खासै देख्दिन ।
विदेशी चलचित्र हेरेर हामीले सिक्ने कुरा के हुन सक्छन् ?
नेपाली फिल्ममेकर, फिल्म समीक्षकले विश्वका कालजयी फिल्म हेरेर धेरै कुरा सिक्न सक्छन् । हामी प्रायः हिन्दी फिल्म हेरेर हुर्केका हौं। भारतभित्रै पनि विभिन्न भाषामा बन्ने फिल्म उद्योग छन् । कलकत्ता, मराठी, कन्नाड भाषाका फिल्महरु राम्रो बन्ने गर्छन् । त्यस्तो किसिमको फिल्म खोजेर हेर्यौं र मनन गर्यौं भने एक किसिमको बहस गर्न सकिन्छ ।
अहिले चलनचल्तीमा रहेका फिल्मभन्दा फरक फिल्म बजारमा ल्याउँदा दर्शकबाट तिरस्कृत हुने अवस्था छ । पछिल्लो समय केही साथीहरुले प्रयोगात्मक तथा कलात्मक भनेर गर्व गर्न सकिने फिल्म बनाउने कोसिस गरे । तर ती फिल्मले बक्स अफिसमा सफलता प्राप्त गर्न सकेनन्, न त फिल्म अवार्ड आयोजकको मन जित्न सके । त्यो हाम्रो दुर्भाग्य हो ।
फिल्मप्रतिको हेराइ–बुझाइ भनेको कुवाभित्रको भ्यागुताको जस्तो छ । त्यो कुवाबाट बाहिर निस्कन जरुरी छ । सबैतिर कस्ता फिल्म बनेका छन, ती फिल्मलाई किन राम्रा भनियो । ती फिल्म हेर्न, बुझ्न र चिन्तन गर्न थालियो भने हामीकहाँ पनि राम्रा चलचित्र बन्छन् होला । त्यसका लागि विदेशी फिल्म हेर्न जरुरी छ ।
नेपाली चलचित्र कहाँनेर चुकेको रहेछ जस्तो लाग्छ ?
नेपाली चलचित्र चुकेको भनेको निर्देशनमा हो । धेरैले स्क्रिप्ट भएनन् भन्छन् । मलाई लाग्छ, राम्रो निर्देशकले राम्रो स्क्रिप्ट छान्न सक्दछ । हामीकहाँ निर्देशक कमजोर भएकाले कुन राम्रो स्क्रिप्ट, कुन नराम्रो भनेर छुट्याउनै सक्नुहुन्न । निर्देशक कमजोर भयो भने स्क्रिप्ट राम्रो हुँदा हुँदै पनि फिल्ममेकिङ कमजोर हुन्छ ।
कहिलेकाहीँ दर्शकले कलाकारले राम्रो अभिनय गरेन भनेर दोष दिनुहुन्छ । त्यसमा पनि निर्देशकको दोष छ । आफ्नो चलचित्रमा कस्तो कलाकार लिँदा पात्रलाई न्याय गर्न सक्छ । कुन कलाकारबाट कसरी काम लिने भनेर निर्देशकले स्क्रिप्टअनुसार कलाकार छनोट गर्नुपर्छ । निर्देशकले आफ्नो कमजोरी ढाक्न अरुलाई दोष दिने चलन छ । त्यो राम्रो होइन ।
कलाकार छनोटमा पछिल्लो समयमा केही ध्यान दिन थालिएको छ, पहिलादेखि चलिआएको ट्रेन्ड ब्रेक हुन लागेको हो ?
ब्रेक हुन-हुन लाग्या हो, भइसकेको छैन । हामी अझै हिरो–हिरोइनको मानसिकताबाट उठ्न सकेका छैनौं । फर्मुला बेसमा नै चलचित्र बन्ने क्रम रोकिएको छैन । कथा लेख्दाखेरि नै एउटा हिरो हुन्छ, हिरोइन हुन्छ । उनीहरुको प्रेम सम्बन्ध वरिपरि नै घुमेको हुन्छ ।
आफूले बनाउन खोजेको फिल्ममा हिरोइन चाहिन्थ्यो कि चाहिँदैनथ्यो । नारीप्रधान कथा हो भने प्रमुख पात्रको प्रेमी चाहिन्छ कि चाहिँदैन । हामी त्यसरी नसोची भटाभट पुरानै किसिमले स्क्रिप्ट तयार गर्छौं । यसरी कथा प्रधानभन्दा पनि कलाकार प्रधान चलचित्र निर्माण हुन्छ ।
निर्मातालाई पहिलो चासो नै हिरोको भन्ने हुन्छ । मैले नयाँ कलाकार लिनुपर्छ भन्दा नयाँ कलाकारमाथि लगानी गर्न चाहनुहुन्न । त्यसपछि बजारमा चलेको टाउको राख्नुपर्ने बाध्यता हुन्छ ।
चलचित्र क्षेत्रमा नयाँ निर्देशक प्रवेश गर्दा स्थापित निर्देशकसँग कस्तो प्रतिस्पर्धा हुन्छ ?
नयाँ र नौलो सोच लिएर आउने फिल्म निर्देशनसँग स्थापित र पुराना निर्देशक त्यति उत्साहित हुनुहुन्न । एक किसिमले असुरक्षित महसुस हुन्छ होला सायद । अघोषित रुपमा असहयोग हुने गर्छ ।
मेरो हकमा कुरा गर्दा समीक्षक हुँदै आएकाले, हिजो त खुब लेख्थ्यो, हेरौं न यसले कस्तो फिल्म बनाउँदो रहेछ भन्नेजस्तो इगोका रूपमा लिइयाे । केही गरी मिडियामा मेरो चलचित्रले चर्चा पायो भने, ऊ आफैँले चिनेको क्षेत्र हो, चर्चा त भइहाल्छ नि भनिदिए । यस्तो प्रवृत्ति छ ।
तपाईं पत्रकार अनि फिल्म निर्देशक पनि यसरी दोहोरो भूमिकामा रहँदा कुन पक्षबाट बोल्ने भनेर दोधार हुँदैन ?
फिल्म निर्देशक मात्र होइन, लेखक, साहित्यकार उनीहरु सबै समीक्षक नै हुन् । उनीहरुले समाजको समीक्षा गर्छ । समाजको कुरीतिका बारेमा कलाम चलाएर सिर्जना गर्ने गर्छन् । त्यस्तै फिल्म समीक्षकले फिल्म क्षेत्रका कुरा गर्ने हो ।
म हिजो कलमको माध्यमबाट फिल्मको कुरा गर्थें, आज क्यामराको माध्यमबाट । त्यसैले धेरै भिन्नता छ जस्तो लाग्दैन । तर पत्रकारिता र फिल्म समीक्षा गर्दा गर्दै फिल्म निर्देशन गर्न आएँ । यसरी आउँदा आफू स्थापित हुन सक्छु वा सक्दिनँ । सुरक्षित हुन्छु कि हुँदिन भन्ने चिन्ता लागिरहन्छ ।
जसरी पहिला समीक्षा गर्दा अरुको चलचित्रबाट म जे अपेक्षा गर्थें । आफूले निर्देशन गरेका चलचित्रमा त्यो कमजोरी नहोस् भन्ने कोसिस गर्छु ।
आफूले निर्देशन गरेका चलचित्रबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
स्क्रिप्ट तयार गरिन्छ, यसमा काम गर्दा ठीक हुन्छ भन्ने लागेपछि सुटिङ थालिन्छ । पछि फिल्म बनेर दर्शकसमक्ष पुगिसकेपछि प्रतिक्रिया आउन थाल्छन् । समीक्षा हुन थाल्छ तब आफूलाई पनि कमीकमजोरी महसुस हुन्छ । पूर्ण रुपले सन्तुष्ट हुने भन्ने हुँदैन । जति गर्दा पनि केही न केही नपुगेको जस्तो सधैं लागिरहन्छ । यति मात्र हो आफूलाई मन परेको विषयमा काम गर्न पाइएको छ ।
कोरोनाको कारण चलचित्र क्षेत्रमा कतिको असर परेको छ ?
सबै क्षेत्र प्रभावित छन् । कलाका अन्य विधाभन्दा लगानीको हिसाबले फिल्म क्षेत्र अप्ठ्यारोमा परेको छ । धेरै चलचित्र निर्माणको क्रममा थिए । कति निर्माण पूरा गरेर हलमा लाग्ने अवस्थामा थिए । सबैको लगानी के हुने भन्ने आशंका छ ।
त्यस्तै भोलिका दिनमा कोरोना महामारी सकिएर सामान्य अवस्था आउँदा पनि कोरोनाभन्दा अगाडिको माहोल फर्कन्छ भन्ने छैन ।