काठमाडौं– गएको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट आज ६ महिला ६ पुरुष गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज काठमाडौंमा १ जना, ललितपुरमा १ जना, चितवन, तनहुँ र कपिलबस्तुका १/१ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै, बारा, भक्तपुर, चितवन र धादिङका १/१ जना तथा काठमाडौंमा २ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट २ सय ५१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो २४ घण्टामा संक्रमित भएका मध्ये ३२० जना महिला र ८०० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सहित नेपालमा ४१ हजार ६४९ जनालाई कोरोना संक्रमण भएको छ ।
वितेको २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार १ सय १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् । देशभरका संस्थागत आइसोलेसनमा १० हजार ४९३ रहेका छन् । होम आइसोलेशनमा ७ हजार ६१५ जना बसेका छन् । देशभर ६ हजार ७६७ जना क्वारेन्टिनमा रहेर उपचार गराइरहेका छन् ।
देशभरका आईसीयूमा १४१ जना उपचाररत छन् । आसीयूमा सबैभन्दा धेरै बागमती प्रदेशका रहेका छन् ।