काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत हुने भएका छन् । बुधबार बेलुका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने सहमति भएको बुझिएको छ ।
नेकपाको सचिवालयले गौतमलाई १४ फागुनमा राष्ट्रिय सभामा पठाउन सरकारलाई आग्रह गरेको थियो । तर त्यही दिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू उक्त निर्णय नमान्ने जनाएपछि गौतमको राष्ट्रिय सभाको यात्रामा 'ब्रेक' लागेको थियो ।
पछिल्लो समयमा नेकपामा विवाद बढेपछि गौतम कहिले ओलीतर्फ त कहिले प्रचण्डतर्फ लागेर अस्थिर भएको आरोप लाग्दै आएको थियो । तर प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने सचिवालयको निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा थिए ।
बुधबार भएको दुई अध्यक्षबीचको भेटवार्तामा गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने र खतिवडालाई अझै ६ महिना मन्त्री बनाउने सहमति भएको छ । ६ महिनापछि गौतमलाई मन्त्री बनाउने सहमति भएको स्रोतले बताए ।
स्रोतका अनुसार गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने, अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई १९ गते राजीनामा दिन लगाएर २३–२४ गते पुन मन्त्री पदको शपथ खुवाउने सहमति भएको छ ।
नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री भएको ६ महिनामा प्रतिनिधि अथवा राष्ट्रिय सभाको सांसद हुनुपर्ने व्यवस्था छ । जब कि खतिवडाको सांसदको पद गत २० फागुनमा सकिएको थियो । तर पनि उनी ६ महिना मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री पदमा बहाल भएका थिए । उनलाई राजीनामा गराएर दुई,चार दिनपछि पुनः मन्त्री पदको शपथ खुवाउने सहमति भएको स्रोतले बताए ।
पार्टी संकट टार्न वामदेवको यात्रा
१३ साउनमा पार्टीको स्थायी कमिटी बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि विवाद झन बढेको थियो । प्रचण्ड–नेपाल समूहले बालुवाटारमा नै गएर बैठक बसेका थिए । त्यही दिन गौतमले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव ल्याएका थिए ।
गौतमको उक्त प्रस्तावपछि ओलीमाथि दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब कम भएको थियो । ओली गौतम भेट्न भैँसेपाटी नै पुगेका थिए । पछिल्लो समयमा ओली पनि गौतमको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसकै वरीपरि सहमति गर्न राजी भएका थिए । अझ प्रचण्ड–नेपाल समूहले त ओलीको निर्देशनमा ६ बुँदे प्रस्ताव बाहिर आएको आरोप लगाएका थिए ।
उक्त ६ बुँदे प्रस्तावपछि ओली–गौतम सम्बन्ध नजिकिएको थियो । तर गौतमले केही दिन पहिला ओलीलाई भेटेर आफू राष्ट्रिय सभामा जाने र गत १४ फागुनमा भएको सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राखेका थिए । उक्त अडानपछि ओली झन् अप्ठेरोमा परेका थिए ।
यो वर्ष मात्र गौतमले ओली संकटमा परेको समयमा २ पटक काँध थापेर बचाएका छन् । संकटबाट गौतमले बचाएकाले ओली पनि धर्मसंकटमा परेकाले प्रचण्ड र ओलीले मध्यमार्गी बाटो अपनाएको स्रोतले बताए ।
ओलीलाई वैशाख १७ मा दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको थियो । ओलीले राजीनामा दिनै परे गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावपछि गौतम ओलीको पक्षमा लागेका थिए । २० गतेको सचिवालय बैठमा भने ओलीले गौतमको कुनै प्रस्ताव नगरेपछि २४ गते गौतम पुनः प्रचण्ड–नेपाल समूहमा फर्केका थिए । २४ गते ओली सचिवालयमा अल्पमतमा परेपछि बैठक छोडेर हिँडेका थिए ।
जारी स्थायी कमिटी बैठकमा पनि ओलीको राजिनामा माग्ने काम रोकिएन । तर गौतमले ६ बुँदे प्रस्ताव ल्याएपछि ओलीको संकट टरेको थियो । त्यही गुण तिर्न पनि ओली गौतमलाई राष्ट्रिय सभामा लिन सहमत भएको बताइन्छ । गौतमलाई राष्ट्रिय सभामा लैजान प्रचण्ड– नेपाल समूह भने सुरुवाट नै सहमत छ ।