सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम सधैं चर्चाको विषय बनिरहने व्यक्ति हुन् । पार्टी एकताका लागि सबैभन्दा दौडधुप गर्ने नेता भए पनि एकता हुँदा गौतमले नै थाहा पाएनन् । यसरी एकतामा उनलाई साधन मात्र बनाइयाे ।
वाम गठबन्धनबाट चुनाव लड्दा हारको कारणमा उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै षड्यन्त्र गरेर हराएको भन्दै आएका छन् । जुन कुराले ओली–गौतम सम्बन्ध लामो समयसम्म तिक्ततापूर्ण रह्यो । बर्दियाबाट चुनावमा पराजित भएका गौतमले ओलीविरुद्धको मोर्चा ‘भैँसेपाटी गठबन्धन’ नै बनाए ।
गौतमले चुनाव हारेदेखि २० वैशाखसम्म ओलीइतर समूहको नेतृत्वमा बसेर ओलीलाई सधैँ अप्ठेरोमा पारे । गौतमले नै ओलीइतर समूहको भेला बैठकको चाँजोपाजो मिलाउँथे । यो गौतमको नियति थियो कि नियत भन्ने प्रसंग उठेको छ ।
भैँसेपाटी गठबन्धन भन्दा पहिले नै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग मिलेर डोल्पादेखि काठमाडौंसम्म उपनिर्वाचन लडेर प्रतिनिधिसभामा आउन धेरै प्रयास गरे । जसको सारथी बनेका थिए महासचिव विष्णु पौडेल । तर ओलीले नै गौतमको यो अभिलाषामा ठेस लगाएको उनको आरोप छ ।
उपनिर्वाचनबाट चाहना पूरा नहुने भएपछि ओलीविरुद्ध करिब एक वर्ष चलेको मोर्चाको सुरुमा ललितपुरको एक हाउजिङमा बैठक बसेको थियो । त्यसपछि गौतमको घरमै सुरु भएको थियो भैँसेपाटी गठबन्धन ।
चुनावमा पराजय भएपछि प्रचण्डसँग मिल्नु गौतमको नियति थियो । किनकि उनले प्रचण्डसँगको सङ्गत ओलीका विरुद्ध रिस साँध्न र पद नपाएको कारणले हो कि विधि र विधानका लागि हो ? प्रस्ट भएको छैन । तर ओलीलाई एक्ल्याउँदै गएका गौतम एकाएक वैशाख १७ गते ओली क्याम्पमा पुगे ।
ओली क्याम्पमा जानु गौतमको नियत नभएर नियति भएको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् । उनले भने, ‘उहाँलाई जसले जति पटक धोका दिए पनि तपाईंलाई फलानो जिम्मेवारी अथवा पद दिन्छु भनेपछि मक्ख पर्नुहुन्छ । अनि उसैसँग मिल्न जानुहुन्छ । यही अस्थिरताले नै धोका पाउनुहुन्छ ।’
वामदेवको नियति
१८ जनाको पदावधि २० फागुनमा सकिँदै गर्दा गत वर्ष ९ माघमा राष्ट्रिय सभाको निर्वाचन भयो । उक्त निर्वाचनमा ओलीले प्रतिनिधिसभाका पराजित गौतम र नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बन्न आग्रह गरे । तर गौतमले संविधान संशाेधन गरेपछि मात्र उम्मेदवार बन्ने अडान राखे । उनले आफू राष्ट्रिय सभामा प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन भए मात्र जाने भन्दै राष्ट्रिय सभामा गएनन् ।
१६ जना नेकपाका नेताहरु राष्ट्रिय सभामा निर्वाचित भए तर गौतम आफ्नै अडानका कारण गएनन् ।
उनले बर्दियामा चुनाव हारेर पनि चुप बस्न सकेनन् । त्यो उनको प्रतिनिधिसभामा गएर प्रधानमन्त्री हुने रहरले पछ्याइ रह्यो । त्यही पछ्याइले उनलाई डोल्पादेखि काठमाडौंको यात्रा तय गरे तर कहीँ कतै केही पाएनन् ।
गौतमका राजनीतिक टर्निङ प्वाइन्ट
१४ फागुनमा नेकपाको सचिवालय बैठकले एकाएक गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बहुमतद्वारा पास गर्यो । तर निर्णय भएको केही घण्टामा नै ओलीले निर्णय नमान्ने घोषणा गरे । ओलीले नमान्ने भनेपछि अहिलेसम्म कार्यान्वयन भएन । उल्टै ६ दिनपछि अर्थमन्त्री युवराज खतिवडालाई नै पुनः अर्थमन्त्रीमा शपथग्रहण गराए ।
राष्ट्रिय सभामा जान्न, गए संविधान संशोधन पछि मात्र जान्छु भन्ने गौतम एकाएक राष्ट्रिय सभामा जान तयार भएपछि ओलीले झन् शंका गरे । अझ ओली निकटहरुले विदेशीको उक्साहटमा गौतम राष्ट्रिय सभामा जान लागेको आरोप लगाएपछि वैशाखमा एक हप्ताका लागि ओली क्याम्पमा फर्के ।
नेकपाको विवाद उत्कर्षमा रहेको त्यो समयमा ओलीका दुवै पद धरापमा थिए । ओलीलाई दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने सचिवालयका ९ जना सदस्यमध्ये गौतम प्रमुख थिए । दबाबमा रहेका ओलीले अन्तिम अस्त्र प्रयोग गर्दै ‘प्रधानमन्त्रीबाट राजीनामा दिनै परे गौतमलाई प्रधानमन्त्री बनाउने’ प्रस्तावबाट गौतम एकाएक हौसिए ।
त्यसपछि गुट परिवर्तन गरेर ओली समूहमा पुगे पनि २० गतेको सचिवालयमा गौतमलाई प्रधानमन्त्री दिने निर्णय नभएपछि पुनः उनी प्रचण्ड गुटमा फर्कन बाधय भए । ओलीको दुवै पद जोगाएर प्रचण्ड गुटमा फर्केका गौतम फेरि साउनमा ओली गुटमा फर्के ।
१० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटीमा पनि दुवै पदबाट राजीनामाको माग मत्थर नभएपछि ओलीले स्थायी कमिटीको बैठक छल्दै गए । अन्ततः विवाद धेरै बढेपछि आजसम्म उक्त बैठक स्थगित छ । अहिले घटनाक्रम अन्यत्रै मोडिँदै विवाद समाधान कार्यदलले प्रतिवेदन बुझाएको छ ।
गौतमले पार्टी एकताका लागि भन्दै अघि सारेको ६ बुँदे प्रस्तावले पनि ओलीमाथि मडारिएको संकट कम भएको थियो । पटक पटक गुट परिवर्तन गर्दै ओलीको संकट टारिदिन तयार हुने गौतम पुन ओलीसँग आमनेसामने भएका छन् ।
गत १४ फागुनमा पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गौतमले भदौमा राखेका छन् । २० भदौमा अर्थमन्त्री युवराज खतिवडाको पदावधि सकिँदै छ । उक्त रिक्त पदमा गौतमले आफूलाई लैजानुपर्ने माग पुन दोहोर्याएका छन् । गौतमले आफू राष्ट्रिय सभा हुँदै मन्त्री हुने इच्छा देखिन्छ । तर ओली अझै खतिवडालाई निरन्तरता दिन चाहन्छन् ।
यसै सन्दर्भम बुधबार ओली र प्रचण्डको भेटवार्तामा गौतमलाई खतिवडाको ठाउँमा प्रतिस्थापन गर्दै राष्ट्रिय सभामा लैजाने सहमति भएको बाहिर आएको छ । तर यही भाद्र २० गते होइन ६ महिनापछि । अर्थात् खतिवडालाई पुनः ६ महिनासम्म निरन्तरता दिएर त्यसपछि गौतमको पालो भन्ने सहमति भएको भन्ने छ । यद्यपि, नेकपा सचिवालयले यसबारे ठोस निर्णय सार्वजनिक गर्न बाँकी नै छ ।
तर अहिले नै गौतमलाई राष्ट्रिय सभामा नलगी ६ महिनाको भाका राख्नु भनेको ६ महिनापछिको नेकपाभित्र राजनीतिक अवस्थाले पुनः निर्धारण गर्नेछ । यता र उता भइराख्नुपर्ने, संकटमा प्रयोग हुनुपर्ने, गौतमको नियत हो कि नियति भन्ने फेरि त्यतिबेलाको राजनीतिक समीकरणले देखाउनेछ ।