काठमाडौं– लकडाउन होस् वा निषेधाज्ञा सडकमा मोटरगाडीहरु सामान्य अवस्थामा जस्तो ताँती नभएपनि ट्राफिक प्रहरीको काम भने रोकिएको छैन । उनीहरु सडकमै छन्, ड्यूटी’मै छन् । मात्र भूमिका अलि फरक भएको छ ।
अहिले चोकमा सवारी वयवस्थापन गर्नुपर्दैन, पहिलेजस्तो सिट्ठी फुकीराख्नु पर्दैन, हात दायाँबायाँ घुमाउँदै संकेत गर्नु पर्दैन तर सडकमा निस्केका सवारीको पास, के कारणले निस्केको सोधपुछ लगायतमा उत्तिकै व्यस्त छन् ।
दिनको दुई पटक पालोमा ११ घण्टा खटिनु पर्ने ट्राफिक प्रहरीहरुलाई संक्रमित हुने दर बढि छ । पछिल्लो समय ट्राफिक प्रधान कार्यालय बग्गीखाना नै शिल गर्नुपर्ने अवस्था समेत बन्यो ।
तसर्थः उनीहरु सजग देखिन्छन् । मुखमा अनवरत सिट्ठी हुने उनीहरुको मुखमा अहिले मास्क अनिवार्य छ । जसले गर्दा पहिलेजस्तो सिट्ठी फुकिरहनु पर्दैन । पञ्जा, फेस शिल्ड र कतिपयले पिपिई सेट लगाउँदा ट्राफिक प्रहरीको हुलिया नै बदलिएको छ ।
कलंकीमा खटिएका ट्राफिक प्रहरी केशव घिमिरे भन्छन् ‘आपत र विपत भनेर कहाँ हुन्छ काम नै यस्तो भएपछि, झन् यस्तो बेलामा त कर्तव्य बढी हुन्छ, गर्नै पर्यो ।’
जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएपनि अग्रपंक्तिमा रहने ट्राफिक प्रहरीलाई भने यो व्यवस्था छैन ।
फोटो कथाः श्रुति श्रेष्ठ/नेपाली पब्लिक