सिमकोट– हुम्लाको सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताए ।
उनका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण संकलन गरेका थिए ।
आगलागीबाट हरिभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो ।