ललितपुर– रातो मत्स्येन्द्रनाथको रथ तान्न पुल्चोक पुगेका स्थानीय र प्रहरीबीच आज झडप भएको छ । प्रहरीले रथ तान्न स्थानीयलाई रोकेपछि झडप भएको हो ।
‘शान्तिपूर्ण तरिकाले रथ तानेको बेला प्रहरीले बल प्रयोग गरेर रथ तान्न दिएन,’ स्थानीय राजुबाबु शाक्य भन्छन् ।
त्यस्तै, राजेश बज्राचार्य राज्यले जनताको सांस्कृतिक भावनासँग खेलबाड गरेको बताउँछन् । उनी भन्छन्, ‘राज्यको उदासीनता र लकडाउनबाहेक केही कुराको ठोस निर्क्याेल निकाल्न नसक्नुले आजको भिडन्तको स्थिति आएको हो ।’
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको बताए । उनका अनुसार प्रहरीले पानीको फोहोरा हान्दा समेत बेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको हो ।
झडप कसरी ?
गुठी संंस्था र सरोकारवालाबीच रथ तान्ने विषयमा ११ बजे निर्णायक बैठक हुँदै थियो । त्यसैले बिहान ९।३० बजे नै पुल्चोकमा भेला भर्इ दबाबमूलक कार्यक्रम गर्ने तयारी भएको थियो । सोहीअनुसार स्थानीयवासी पुल्चोकमा भेला भए । राजुबाबुले भने, ‘राज्यले हाम्रो संस्कृति संरक्षणका बारेमा केही निर्णय गरेन । रथ तान्न नपाएको यत्रो समय भयो । आज त रथ तानेर संस्कृति जगेर्ना गर्ने भनेर आएका हौं ।’
स्थानीयले रथ तान्न थालेपछि प्रहरी प्रशासन आइपुगेको थियो । प्रहरीले निषेधाज्ञाका कारण देखाई रथ यात्रा रोक्न आग्रह गरेको थियो । स्थानीयले रथ तान्न नछाडेपछि उनीहरूमाथि पानीको फोहोरा फ्याँकिएको थियो । यसपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्ने थाले । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गर्यो ।
रथ यात्रा राेकिएकाे इतिहास
धेरैपटक मत्स्येन्द्रनाथको रथयात्रा तान्न ढिलाइ भएको इतिहास छ । वि.सं. १८७५ मा मत्स्येन्द्रनाथको रथ मंगलबजारमा पुग्दा रथ पूरै भत्किएको थियो । त्यस्तै, वि.सं २०७२ को महाभूकम्पका कारण भैँसीपाटीमा रथ बिग्रेकाले रथ यात्रा केही महिना रोकिएको थियो ।
मंगलबजारका श्याम महर्जन भन्छन्, ‘धर्म, संस्कृतिबारे अज्ञानी जनसेवीले कसरी हाम्रो सेन्टिमेन्टलाई सम्बोधन गर्छन् ।’ उनले आगामी दिन रथ यात्रा कसरी अगाडि बढाउने भन्ने बारेमा वार्ता हुने जानकारी दिए ।
गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको हो ।