काठमाडौं– रातमा निन्द्रा नपरेको थुप्रै भयो । सुत्नुभन्दा अघि सोच्ने गर्छन्, अर्को बिहान देख्नेछु या छैन । त्यस्तै बेचैन र छटपटीमा बित्ने गर्छ झापाका रजित राजवंशीको प्रत्येक रात ।
तीन वर्षअघि रोजगारीकालागि कतार आएका रञ्जितको सात महिनाअघि मृगौलामा समस्या देखिएको थियो । आठ महिना विदामा घरमा आएको बेलामा उपचारका लागि अस्पताल पुग्दा चिकित्सकले किड्नीको तत्काल अप्रेसन गर्न सुझाएका थिए । तर, काम गर्ने कम्पनीको आईडीको म्याद सकिन लागेकाले उपचार नगरी कतार फर्किनु प¥यो ।
फर्किएलगतै लकडाउन सुरु भयो । यता किड्नीको समस्या पनि बढ्दै गयो । स्वाथ्य बिग्रिन थालेपछि घर फर्किनका लागि उनलाई कम्पनी टिकट पनि काटिदियो । बीचमा उडान रद्द हुँदा फर्किन पाएनन् । त्यो समयमा फर्किन पाएको भए उनको उपचार भैसक्थ्यो ।
राजंवशी भन्छन्, “कम्पनीले बस्न र खान नदिएको भए बिरामी अवस्थामा सडकको बास हुन्थ्यो ।” पछिल्लोपटक उडान सुरु भएपछि फर्किनका लागि पिसिआर गर्दा उनको रिपोर्टमा ‘इन्कन्कोलोसीप’ आएपछि तनावमा छन् ।
त्यस्तो रिपोर्ट आउनुको कारण थियो, किड्नीको समस्याले रुघा, खोकी र शरीर तात्नु । तर, रिपोर्टमा कोरोना संक्रमण देखिएको थिएन । दोस्रो टिकट ३१ तरिखमा थियो । रिपोर्टमा इन्कन्कोलोसीप आएपछि उनी आउन पाएनन् । टेष्टको लागि ५ सय खर्च भएको थियो ।
उपचारका लागि कतारको एक अस्पताल पुगे । किड्नीको तत्काल अप्रेसन गर्नुपर्ने भएपनि कोरोनाका कारण त्यहाँ अप्रेशन हुन सकेको थिएन । त्यसैले उनी नेपाल फर्किन खोजेका थिए । अप्रेसन गर्नुपर्ने बिरामीलाई दुःखाई कम गर्ने समान्य औषधी दिएर अस्पतालले फर्कायो । रञ्जित भन्छन् ,“चिकित्सकले तत्काल अप्रेसन गर्न सुझाउनु भएको छ, फर्किन ढिला भयो भने यही मर्छु होला ।”
घर फर्काई दिनका लागि दूतावास र ट्राभल एजेन्सीमा पनि धाइरहेको थुप्रै समय भएको छ । तर, रिपोर्टका कारण फर्किन नसकेको उनी बताउँछन् । दूतावासले सरकारले यस बिषयमा निर्णय नगरेको तर घर फर्काइदिन पहल गरिदिने बताएको उनले सुनाए ।
यता वैदेशिक रोेजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उपचारका लागि नेपाल फर्काउने विषयमा दूतावाससंग छलफल भैरहेको जानकारी दिए ।
के छ वैदेशिक रोगार ऐनमा ?
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ (१) (ख) मा भएको व्यवस्था अनुसार दफा ३२ बमोजिम स्थापित ‘वैदेशिक रोजगार कल्याणकारी कोष’को प्रयोग र सञ्चालन सो ऐनको दफा ७५ रहेको छ ।
दफा ७५ मा कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्था गर्दै उपदफा (१) मा करार बमोजिम सुविधा नपाएका कामदारलाई इजाजत–पत्र वालाले स्वदेश फिर्ता गर्नुपर्ने, त्यसै गरी उपदफा (२) मा कामदार रहेको मुलुकमा ‘महामारी’ परी कामदार तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारी मार्फत फिर्ता गर्ने भन्ने व्यवस्था रहेको छ ।
विदेशमा गम्भीर प्रकृतिको फौजदारी कसुरको अभियोग लागेमा कसुरको प्रतिरक्षा तथा वहस–पैरवी गर्न, बिरामी भई अलपत्र भएमा तथा कामदारको मृत्यु भई शव अलपत्र परी नेपाल ल्याउन र निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न कोषको प्रयोग गरिने ऐनमा उल्लेख छ । यो काम वैदेशिक रोजगर बोर्डले गर्छ ।