काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।
नेकपामा केही समयदेखि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पक्ष–विपक्ष बहस भएको थियो ।
प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहे पनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनूकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।
गौतमलाई गत फागुन १४ गतेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्न पार्टीका तर्फबाट निर्णय गरेको थियो । तर ओलीले सोही दिन उक्त निर्णय आफुले नमान्ने बताएका थिए ।
ओलीले गौतमलाई राष्ट्रिय सभामा लिन नचाहेपछि उक्त निर्णय अलपत्र परेको थियो । फागुन २० गते खतिवडाको राष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो ।
विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधानअनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन ।
यस्तै, कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।