काठमाडौं– विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि अत्याधिक बढेको छ । नेपालमा पहिलो पटक चीनबाट फर्किएका नेपालगन्जका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यो कोरोनाबाट हाइ प्रोफाइल मानिएकाहरु पनि संक्रमित भएका छन् ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालमा गत शनिबार कोरोना संक्रमणका सामान्य लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो । सोमबार उनकी श्रीमती सरलासहित डा. रिजालको रिपोर्ट कोरोना पोजेटिभ पछि ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा बसेर उपचार गराइरहेका छन् ।
डा. रिजालले आफू फ्रन्टलाइनमा खटिने चिकित्सक भएकाले संक्रमण हुनु नौलो नभएको बताएका छन् । उनले भनेका छन्, ‘हामी कोरोनालाई जितेर फर्किने छौँ’ । डा. रिजालले भनेका छन् ‘संक्रमित चिकित्सकलाई नराम्रो व्यवहार नगरौं । सबैको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई सम्मान गरौं । कोरोनाले कसैको स्तर हेर्दैन सचेत बनौं ।’
उद्योगी विनोद चौधरी
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका थिए । । आफूलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको तर पनि कोरोनाबाट संक्रमण भएको बताएका छन् । उनी चिकित्सकको सल्लाहमा होम आइसोलेशनमा छन् ।
आफूमा कोरोना संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका थिए ।
प्रदेश १ का सामाजिक विकासमन्त्री मन्त्री जीवन घिमिरे
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा भदौ– १५ गते राति १० बजे कोरोना रिपोर्ट पोजेटिभ आयो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि उच्च ज्वरो आएको थियो ।
हाल होम आइसोलेशनमा रहेका मन्त्री घिमिरेको अवस्था सामान्य रहेको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।
अख्तिायारका प्रमुख आयुक्त नवीन घिमिरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई साउन २७ गते कोरोना संक्रमण पुष्टि भयो । उनका ड्राइभर र पछुवा गाडीमा हिड्ने सात प्रहरीलाई कोरोना संक्रमण भएपछि उनको पिसिआर परीक्षण गरिएको थियो ।
घरमै आइसोलेशनमा बसेर कोरोना संक्रमणलाई जितेका छन् । उनीसँगै अख्तियारका ४१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
पूर्वमन्त्री जीवनबहादुर शाही
कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पनि कोरोना संक्रमण भयो । सुर्खेतबाट हुम्ला जान प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परीक्षण गराएका उनको असार २९ गते संक्रमण पुष्टि भएको थियो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको प्रत्यक्ष निगरानीमा आफ्नै घरमा आइसोलेशनमा बसेका शाहीले कोरोनालाई जितिसकेका छन् । उनले भनेका छन्, ‘संक्रमितलाई मायाममताको बढी खाँचो हुँदो रहेछ । मान्छेलाई कोरोनाले नभएर मनोविज्ञानले गलाउने रहेछ ।’
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलाइ पनि साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने तथा पखाला लाग्ने भएपछि पुष्टि पश्चात् होम आइसोलेशनमा बसेका थिए । पाण्डे पनि अहिले सामान्य दैनिकीमा फर्किसकेका छन् ।
बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडाअध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको स्वाब परीक्षण गरिएको थियो ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा गत भदौ १ गते तामाङको रिपोर्टमा उनीसहित उनकी ९ वर्षीया छोरीलाई कोरोना पुष्टि भएको थियो ।
१४ दिनदेखि होम आइसोलेसनपछि तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जनाए । उनले भनेकी छिन्, ‘कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्दछु’ ।
वीरगञ्जका मेयर विजय सरावगी
कोरोनाको हटस्पट बनेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई साउन १५ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले लेखेका थिए, ‘तपाईंको सेवामा अनवरत रुपमा लाग्दालाग्दै कोरोना संक्रमणको चपेटामा परें । उपचारमा छु । छिट्टै कोरोनालाई जितेर फेरि तपाईंहरुको सेवामा फर्किने छु’ । अहिले उनी संक्रमण मुक्त भैसकेका छन् ।
प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव साउन १९ मा कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा बसे । उनीसँगै मन्त्रालयका ७ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि हुनुअघि मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली सहितको बैठकमा सहभागी थिए । त्यसपछि गरिएको प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रदेश १ सांसद कुसुम श्रेष्ठ
धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गरेकी नेकपा सांसद कुसुम श्रेष्ठलाई साउन २८ गते कोरोना संक्रमण पुष्टि भएपछि सांसद श्रेष्ठले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधान रहन आग्रह गरेकी थिइन् ।
उनीसँगै उनका श्रीमान नयन श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु होम आइसोलेसनमै बसिन् ।
प्रतिनिधिसभा सांसद प्रदीप यादव
प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई गत साउन १६ गते कोरोना संक्रमण पुष्टि भयो । आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि सांसद यादवले फेसबुकमार्फत जानकारी गराएका थिए । संक्रमणपछि हाम आइसोलेशनमा बसेका उनी संक्रमण मुक्त भइसकेका छन् ।
लोकगायक प्रेमराजा महत
अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदुत समेत रहेका लोकगायक प्रेमराजा महत अमेरिकामा नै कोरोना संक्रमित भए ।
उनले सामाजिक सञ्जाबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउँदै होम आइसोलेशनमा आफ्नै डाक्टर छोरा सरगम महतको निरीक्षणमा बसेका थिए । उनले कोरोना मुक्त भएपछि भने, ‘जुन रोग औषधिबाट निको हुन्छ भन्ने आशा छैन । कोरोनालाई सानो रोग नसम्झनु, ठूलै पनि होइन, नडराउनु ।’
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । उनले आइसोलेसनबाटै जनताको सेवामा निर्देशन दिँदै सेवारत हुने जनाएका छन् ।
संक्रमणबाट ज्यान गुमाएकाहरु:
पूर्वन्यायधीस माधवप्रसाद चालिसे
पूर्वन्यायधीस माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भयो ।
७० वर्षीय चालिसे लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित थिए । उनले २०७० असार २५ गतेबाट तत्कालीन पुनरावेदन अदालत पोखराबाट मुख्य न्यायाधीसमा सेवा निवृत्त हुन् ।
हेल्थ असिस्टेन्ट मनरा सिसवा
कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी ३७ वर्षीय मनरा सिसवाको भदौ १५ गते मृत्यु भयो । सिसवा नेपालमा कोरोनाका कारण ज्यान गुमाउने पहिलो स्वास्थ्यकर्मी पनि हुन् ।
महोत्तरीका सिसवालाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । गाउँमै औषधि पसल सञ्चालन गर्दै आएका उनी बिरामीको सेवामा सक्रिय हुँदाहुँदै बिरामी परेकी थिइन् ।