भनिन्छ ‘बिहानले दिनको संकेत गर्छ ।’ बिहानी दैनिकी मानवीय तथा सामाजिक–साँस्कृतिक व्यवहारमा महत्वपूर्ण मानिन्छ । समाजलाई उत्प्रेरित गरिरहेका व्यक्तित्वहरुको बिहानी दैनिकीलाई नेपाली पब्लिकले ‘मर्निङ मेसेज’ रुपमा समेट्दैछ । यो पटक रक्षा नेपालका संस्थापक तथा अध्यक्ष मेनुका थापाको ‘मर्निङ मेसेज’ ।
जसरी हामी आलु किन्दा ‘फ्रेस’ आलु खोज्छौं, दाग लागेको आलु कसैले किन्दैनौ, वा मन पराउदैनौं । त्यस्तै सधैं सुकिलो, मुकिलो, फरासिलो, मिजासिलो, फुर्तिलो मानिसमात्रै सबैलाई मन पर्छ । हेर्दै दिक्क लाग्ने, बोली सुन्दै वाक्क लाग्ने मान्छे सायद मलाई मात्रै हैन, कसैलाई मन पर्दैन ।
त्यसैले म आलु नै बनेछु भने पनि ‘फ्रेस’ खालको आलु बन्नुपर्छ, डुंगडुङ्ग्ती गनाउने, कुहिएको आलुु बन्नु हुन्न भन्ने कुरो बच्चैदेखि जान्ने अवसर मिल्यो । मलाई मेरी आमाले ‘सेल्फ केयर’ गर्ने बानीको विकास सानैदेखि गराइदिनुभयो । अतः के खाने, के नखाने, कस्तो संगत गर्नेदेखि लिएर आफूलाई कसरी वा हिफाजत गर्ने भन्नेसम्म जानिने रहेछ ।
मानिसका शरीरका विभिन्न अंगले समाज र जीवनलाई समेत योगदान दिन सक्दछ भन्ने चेतनाको पनि विकास हुँदै गयो । त्यही चेतनाको कारण विगत १७ वर्षदेखि यौनजन्य हिंसाको चपेटामा परेका मनहरु र आफ्नाले नै चिथोरेका तनहरुको ‘केयर’मा समर्पित छु ।
अरुलाई खुुसी दिन खोज्नेले पहिले आफू खुसी हुनुपर्छ र अरुलाई सम्हाल्न खोज्नेले पहिले आफू सम्हालिनु पर्छ भन्ने कुरोको थोरै भएपनि ज्ञान पाएकोले यौनजन्य हिंसा र बलात्कारको पीडा भोगेर मानसिक र शारीरिक रुपमा टुक्रिएकाहरुको सारथी बन्न सबैभन्दा पहिले आफ्नो शरीर, मन र दिमागलाई ‘फिट’ राख्नुपर्छ भन्ने कुराको आत्मसात् गरेकी छु ।
त्यसैले म सधैं ‘प्रोफेसनल क्यालेन्डर’ र ‘पर्सनल क्यालेण्डर’ अनुसार चल्ने गरेको छु । ‘प्रोफेसनल क्यालेन्डर’ अन्तर्गत भेटघाट, इमेल, इन्टरनेट, पीडितहरुसँगको साक्षात्कार आदिलाई राखेको छु । ‘पर्सनल क्यालेन्डर’ अन्तर्गत योग, ध्यान, साधना, संगीत, साहित्य र मनोरञ्जनलाई राखेको छु ।
‘मर्निङ सोज द डे’ भन्ने कुरोलाई आत्मसात् गर्दै २४ घण्टा नै ‘फ्रेस’ रहनु छ भने बिहानीपखको समयलाई सकेसम्म शान्त र सौम्य बनाउने कोसिस गर्छु ।
- बालबालिका उफ्रेको, हाँसेको, चलेको, खेलेको देखेर पाइने आनन्द अन्यत्र पाइदैन । बालबालिकालाई वयस्कले आफूलाई जे मनपर्छ त्यो नगराई, उनीहरुलाई के के मनपर्छ त्यसमा उनीहरुसँगै सामेल हुने, सँगै रमाउने हो भने तनाव समेत व्यवस्थापन गर्न सक्छौं ।
यसको लागि ओछ्यानमा घाम झुल्किनु पहिले उठिसक्छु । विभिन्न ग्रन्थमा बिहान ब्रम्हमुर्हतको समय अर्थात् ६ बजे पहिलेको वायु अमृततुल्य हुने पूर्वीय दर्शन र विज्ञानले भनेकोले बिहानको समय आफ्नो लागि छुट्टाएकी छु ।
उठ्नेबित्तिकै सकुसल बिउँझेकोमा कृतज्ञ हुन्छु । चिसो पानीले नुहाएपछि १ घण्टा ध्यान, साधना, प्राणायाम गर्छु । म शारीरिक व्यायाममा चाहीँ अल्छी छु । नियमित चण्डी र गीता पाठ गर्छु । त्यसपछि खाली पेटमा बेसार र अदुवा राखेको तातोपानी खाने बानी बाल्यकालदेखिकै हो । हरेक दिन बिहानको खाना लिनुभन्दा पहिले २, ३ लिटर मन तातो पानी पिउने बानी बसालेको छु ।
त्यसपछि १ घण्टा बिहानको घाममा सुत्दै, टहल्दै युट्युबमा उत्प्रेरनात्मक प्रवचन सुन्ने गर्छु । विशेषतः समाज सुधारक आदरणीय सदगुरु र रविशंकर, योगी विकासानन्द, योगी राजन (भीमसेन सापकोटा)को युट्युब धेरै हेर्छु, सुन्छु । उहाँहरुको प्रवचन विचारले आत्मा रुपान्तरणमा मद्दत पुगेको छ ।
त्यसपछि मलाई मनपर्ने संगीत सुन्छु, झुम्छु, केही लेख्छु । मनपर्ने संगीतले दिनभरिको लागि उर्ज्जा भरिदिन्छ । बिहानको नास्ता लिनुअघि ‘कुहिएको आलु बन्न नपरोस्’ भनेर मेरो ईस्ट देवता, कुल देवता, पितृ देवता संग आशीर्वाद माग्छु, प्राथना गर्छु ।
बिहानको ९ बजेसम्म मेरो प्रायः मौनु बस्ने बानी छ । मौन बस्दा आफूलाई मज्जाले निहाल्ने मौका मिल्छ । त्यसबेला सकेसम्म मोबाइल फोनलगायतको प्रयोग बाट टाढा रहन्छु । त्योबेला धेरै पटक फोन नउठेर साथीहरुले ‘प्रधानमन्त्रीलाई भेट्न सजिलो, मेनुकाजी’ समेत भन्नुभएको छ । म पनि ठूलै सोच्नुभएछ भनेर दंग पर्छु ।
‘प्रोफेसनल सेड्युल’मा जानुअघि घरमा भएका बालबालिकासँग आधी घण्टा मात्रै भएपनि सँगै बिताउने गर्छु । बालबालिका उफ्रेको, हाँसेको, चलेको, खेलेको देखेर पाइने आनन्द अन्यत्र पाइदैन । बालबालिकालाई वयस्कले आफूलाई जे मनपर्छ त्यो नगराई, उनीहरुलाई के के मनपर्छ त्यसमा उनीहरुसँगै सामेल हुने, सँगै रमाउने हो भने तनाव समेत व्यवस्थापन गर्न सक्छौं । तनाव व्यवस्थापन भयो भने मात्रै हामी सधैं ‘फ्रेस, फिट एण्ड 'फाइन’ हुन्छौं र जीवन ‘फ्यान्टास्टिक’ बन्नेछ ।