टर्कीकी गायिका हेलेन बोलेकको २८८ दिनको भोक हड्तालपछि ३ अप्रिल २०१९मा भएको सहादतपछि फेरि अर्की न्यायप्रेमी योद्धाको उस्तै प्रकृतिको सहादतले तरंग पैदा गरेको छ ।
भोक हड्तालको २३८औं दिनमा टर्कीकी न्यायप्रेमी योद्धा एब्रु तिम्तिकको अगस्ट २७ मा मृत्यु भयो । अस्पतालमा भर्ना भएकी तिम्तिकको मुटुले काम गर्न छोडेको थियो । मृत्यु शैयामा पुग्नेबेलासम्म उनको शरीरको वजन केवल तीस किलो थियो । यस घटनाले र विश्वका न्यायप्रेमीहरूलाई थप आक्रोशित र संवेदनशील बनाएको छ ।
तिम्तिकको जन्म सन् १९७८ मा कुर्दिश परिवारमा भएको थियो । उनी मानव अधिकारवादी वकिल थिइन । उनी १८ जना वकिलहरुमध्यकी एक थिइन्, जो सन् २०१७ सेप्टेम्बरमा पक्राउ परेका थिए । ती सबै प्रोग्रेसिभ लयर्स एसोशियसन र पिपल्स ल ब्यूरोका सदस्य थिए । सन् २०२०को मार्चमा अदालतले उनलाई १३ वर्ष ६ महिनाको जेल सजाय तोेकेको थियो ।
उनको मृत्युलाई लिएर टर्किस राजनीतिकर्मी नेस्रिन नास आफ्नो द्विटरमा लेख्छन्, ‘म दुःखी छु । उनी केवल निस्पक्ष न्याय चाहन्थिन् । राज्य, जसले आफ्ना नागरिकको निस्पक्ष न्यायको मागप्रति कानमा तेल हालेर बस्छ । हामी कता जाँदैछौं ?’
यसैगरि संगीतकार जुल्फु निवानेली लेख्छन्, ‘उनको मृत्यु टर्कीमा मानवता, न्याय र विवेकको मृत्यु हो ।’ यसैगरि टर्कीकै विपक्षी पार्टीका एक नेता सेज्गिन तान्रीकुलुले आफ्नो अन्तर्वार्तामा भनेको छन्, ‘धिक्कार छ उनीहरूलाई, जसले एब्रुलाई जेलमुक्त गर्ने निर्णय दिन सकेनन् । हामीले उच्च अदालतलाई यो मुद्दा हेर्न भनेको थियौं ।’
अंकारा बार एसोसियशनका प्रमुख भन्छन्, ‘उनीहरुले एब्रु तिम्तिकको महिनौं लामो निष्पक्ष न्यायको चित्कारलाई सुनेनन् । तिनीहरू जसले कानमा तेल हालेर बसे र बेवास्ता गरे, न्याय र विवेकको कत्लेआम गरेका छन् ।’ सँग–सँगै युरोपियन यूनियनदेखि मानव अधिकारवादी र वकिलहरूका अन्तर्राष्ट्रिय संगठन पनि यो घटना दुःखद् रहेको भन्दै टर्कीको एकेपी सरकारलाई यसको जिम्मेवार रहेको बताएका छन् ।
- टर्कीको ओटोमन साम्राज्यद्वारा लाखौं अरमेनियनहरूको कत्लेआम गरिएको घटना इतिहासमै कुख्यात छ । सन् १९१५ देखि १९२० सम्म चलेको सो दमनमा लाखौं मानिसहरूको हत्या गरियो भने हजारौं मानिसहरू देश छोड्न बाध्य भए ।
तिम्तिकले २०२० जनवरीदेखि भोक हड्ताल सुरुवात गरिन् । गैरन्यायिक धरपकड, हत्या, स्वतन्त्र न्यायपालिका, निस्पक्ष सुनुवाइको अधिकार, बन्दीहरूसँगको मानवीय व्यवहारलगायत उनका माग थिए । भोक हड्तालकै क्रममा मृत्यु वरण गर्ने उनी चौथो कैदी हुन् । योभन्दा अगाडि नै हेलेन बोलेक, इब्राहिम गोचेक र मुस्तफा कोचाकको भोक हड्तालमै मृत्यु भैसकेको छ ।
यो घटना र यसपछि उत्पन्न प्रतिक्रियाहरूले पनि टर्कीको लोकतन्त्र, मानव अधिकार, सामाजिक न्यायको अवस्था कस्तो छ भन्ने कुराको राम्रो छनक दिन्छन् । यसले टर्कीमा मानवअधिकार, न्याय र पत्रकारितामाथिको दमन निरन्तर कायम छ भन्ने कुराको पुष्टि गर्दछ ।
रेजेप तायप इर्डोगान सरकारको अभिव्यक्ति स्वतन्त्रताप्रतिको रवैया निकै दमनकारी रहेको कुरा सम्बन्धित रिपोर्ट र विश्लेषणहरूले स्पष्ट पार्छन् । आतंककारी कानुनअन्तर्गत आलोचनात्मक टिप्पणी गर्ने जुनसुकै पत्रकार मिडिया हाउसबाट निकालिन सक्छ या गिरफ्तार हुन सक्छ । त्यसमा पनि निशानामा पर्ने अधिकांश कुर्दिशहरू नै हुने गर्छन् । अल्पसंख्यकहरूमाथि दमनका श्रृंखलाहरू भोग्दै आएको टर्कीमा अहिले पनि लोकतन्त्र, सामाजिक न्याय र अभिव्यक्ति स्वतन्त्रता संकटमा छन् ।
टर्की एउटा मुस्लिम बाहुल्यता रहेको मुलुक हो । यो त्यही मुलुक हो, जहाँ अर्मेनियन, कुर्दिश र ग्रीकहरूलाई भयानक दमन र संहार गरिएको थियो । टर्कीको ओटोमन साम्राज्यद्वारा लाखौं अरमेनियनहरूको कत्लेआम गरिएको घटना इतिहासमै कुख्यात छ । सन् १९१५ देखि १९२० सम्म चलेको सो दमनमा लाखौं मानिसहरूको हत्या गरियो भने हजारौं मानिसहरू देश छोड्न बाध्य भए ।
प्रथम विश्व युद्धको दौरान दुश्मनहरूसँगको साँठगाँठको आशंकामा त्यतिखेरको सरकारले अरमेनियनहरूमाथि दमनको सुरुवात गरेको थियो । जस अन्तर्गत १९१५ अप्रिलमा उसले कैयौं अर्मेनियन बुद्धिजीवीहरूको हत्या ग¥यो । त्यतिखेरको सत्तधारी सरकारले अल्पसंख्यकहरूमाथि अत्याचार गर्ने सवालमा जर्मनीको हिटलरको शैलीलाई पछ्याएको थियो । यसरी टर्कीमा अहिले पनि उग्र राष्ट्रवादको नाउँमा फासिवादको अभ्यास गरिएको छ । जहाँ अल्पसंख्यक, महिला, पत्रकार, बुद्धिजीवी र सरकारका आलोचकहरू कोही सुरक्षित छैनन् ।
- न्यायको भोक झन् पछि झन् बढ्दो छ संसारभरि । यो भोक त्यतिखेरसम्म साम्य हुनेछैन, जबसम्म मानव जाति जीवित रहनेछ । समानता र न्यायको सपना अजर–अमर छ, जतिसुकै एब्रु तिम्तिकहरूको बलिदान किन नहोस् ।
फासिस्ट सत्ताहरूको निम्ति जहिले पनि अभिव्यक्ति स्वतन्त्रता खतरा बनेर उभिन्छ । संवेदनशील विषयमा लेख्ने, बोल्ने पत्रकार, बुद्धिजीवी, लेखक र चिन्तक उनीहरूको निशानामा पर्छन् । धरपकड, जेल–नेल, गैह्रन्यायिक हत्या उनीहरूका निम्ति सामान्य कुरा हुन जान्छन् । जुन कुरा हामीले छिमेकी मुलुक भारतमै पनि देखिरहेका छौं भने नेपालमा पनि त्यसका संकेतहरू देखिन थालेका छन् । भिन्न मतप्रतिको असहिष्णुता बढ्दो क्रममा छ । विश्व पूँजिवादको स्वतन्त्रता र समानताका सपनाहरूमाथि धावा बोल्ने अभियान जारी छ ।
मानव अधिकारवादीहरूको विश्लेषण अनुसार टर्कीमा उग्र राष्ट्रवादको नाउँमा फासिवादकै अभ्यास भइरहेको छ । साथै उनीहरूको पछिल्लो रिपोर्टले के दावी गर्छ भने टर्कीका महिलाको कूल जनसंख्याको आधा हिस्सा हिंसाबाट प्रभावित छ । त्यहाँ पनि महिलाहरू घरभित्रै सुरक्षित छैनन् । त्यसैगरि अल्पसंख्यक आदिवासी कुर्दहरूको बीस प्रतिशत उपस्थिति रहेको टर्कीमा उनीहरूको कुर्दिश भाषालगायत अन्य भाषालाई राज्यले कुनै हैसियत प्रदान गरेको छैन ।
नेल्सन मण्डेलाले सन् १९९२ मा टर्कीद्वारा प्रदान गरिएको अतातुर्क शान्ति अवार्ड अस्वीकार गरे । यसको कारण थियो टर्की सरकारको कुर्दमाथिको दमन । यो घटनापछि टर्कीको प्रेसले मण्डेलालाई ‘कुरुप आतंककारी मण्डेला’को संज्ञा दियो । अर्मेनियन नरसंहार, कुर्दिश नरसंहार र ग्रिकमाथिको दमन टर्कीको इतिहासमा नमेटिने घाउ हुन् ।
- न्यायप्रेमीहरूको सम्झनामा सधैं–सधैं जीवित रहनेछिन् एब्रु तिम्तिक, जसले एकपटक फेरि जीवित न्यायप्रेमीहरूको निद्रा खल्बल्याएर गएकी छिन् ।
यतिखेर पूँजिवादी व्यवस्थाका संरक्षकहरू लोकतन्त्र, शान्ति, कानुनको रक्षा, मानव अधिकार र राष्ट्रवादको नाउँमा जनतामाथि दमन गरिरहेका छन् । शान्ति, समृद्धि र धर्मकै हवाला दिएर समाजलाई थप आतंकित बनाउने होडमा छन् शासकहरू । त्यसो त तानाशाह हिटलरले पनि समाजवादकै नारा दिएका थिए । पूँजिवादका पक्षपोषकहरू पनि शान्ति र लोकतन्त्रकै नारा दिन्छन् । हाम्रै छिमेकी मुलुकमा अमन–चयन, धर्मरक्षा, लोकतन्त्र र समृद्धिकै नारामुनि हिन्दू फासिवादको अभ्याससहित अल्पसंख्यक र भिन्न विचारमाथि दमन गर्दैछ हिन्दू फासीवादी मोदी सरकार ।
शासकहरू हरदम उद्धत छन् न्यायको हत्या गर्न । तर न्यायको भोक झन् पछि झन् बढ्दो छ संसारभरि । यो भोक त्यतिखेरसम्म साम्य हुनेछैन, जबसम्म मानव जाति जीवित रहनेछ । समानता र न्यायको सपना अजर–अमर छ, जतिसुकै एब्रु तिम्तिकहरूको बलिदान किन नहोस् । गीतहरू गाइने नै छन्, जतिसुकै हेलेन बोलेकहरूको सहादत किन नहोस् ।
अन्याय, असमानता र विभेद मरणशील छ, चाहे त्यो जतिसुकै शक्तिशाली देखियोस् । संसारभरिका अत्याचारी शासन र सत्ताहरुको भाषा मिलेजस्तै संसारभरिका न्यायप्रेमीको भाषा र सपना पनि एउटै हुने गर्छ । त्यो हो मुक्ति । एउटै आवश्यकता छ, न्यायको आवाज र कदमलाई त्यो विन्दुसम्म पुर्याउनु, जहाँ पुगेर सारा अत्याचारी, हैकमी र विभेदपूर्ण कुरुपताहरूको नामोनिशान नरहोस् ।
न्यायप्रेमीहरूको सम्झनामा सधैं–सधैं जीवित रहनेछिन् एब्रु तिम्तिक, जसले एकपटक फेरि जीवित न्यायप्रेमीहरूको निद्रा खल्बल्याएर गएकी छिन् । उनको सहादतले न्यायप्रतिको भोक झनै बढाएको छ । न्यायपूर्ण लडाइँको विरासत नयाँ पुस्तालाई छोडेर जाने विरांगनाप्रति तलका पंक्तिहरूसहित भावपूर्ण श्रद्धाञ्जली–
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा लगाउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।
(प्रतिबन्धः कृष्णसेन इच्छुक)