बाग्लुङ– ढोरपाटन नगरपालिकाकाे भदौ १७ गते भोजीखोलामा आएको बाढीमा परी ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । बाढीमा परी वडा–९ का ४० जनाभन्दा बढी बेपत्ता भएको र १३ जनाको शव भेटिएको वडा–७ का वडाध्यक्ष दीपक थापाले बताए ।
उनले भने, ‘हालसम्म १३ वटा मात्रै शव भेटियो । चालिसभन्दा बढी मानिस बेपत्ता छन् ।’
थापाका अनुसार वडा–९ मा मात्रै मानवीय क्षति भएको छ र अन्य वडामा बाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युतलगायत पूर्वाधारमा क्षति पुगेको छ ।
थापाले यतिबेला उद्धार कार्य जारी रहेको बताए । उनका अनुसार उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।
भोजीखोला
भोजीखोलामा यस किसिमको विनाशकारी बाढी नआएको उनले बताए । उनले भने, ‘यस किसिमको क्षति गरेको अहिलेसम्म थाहा पाइएको थिएन । बाजेको पालादेखि पनि यस किसिमको क्षति भएको थिएन । अहिले अकस्मात् यस्तो स्थिति ल्यायो ।’
उनले घटनास्थलको निरीक्षणपछि खोलाको मुहान फुटेको र आसपासमा पहिरो खसेर खोला बढ्दै गएको बताए । उनले भने, ‘काटिएका रुख खोलामा खसेर पानी थुनिँदै थुनिँदै आएको देखिन्छ । बीच बीचमा ब्लक भएको पानी एकैचोटि खोलिँदा यस्तो क्षति भएको भन्ने अनुमान गरेका छौँ ।’
राहत
केन्द्र सरकारबाट बाढीपीडितका लागि केही राहत उपलब्ध भएको उनले जानकारी दिए । उनले भने, ‘वडाहरुले यतिबेला उद्धारको काम गरिरहेको छ । त्यस्तै, क्षतिको तथ्यांक निकाल्ने काममा खटिएका छौँ । स्थानीय तहबाट हुने काम हामी गर्दै छौँ । केन्द्र सरकारले यसमा सहयोग गर्नुपर्छ ।’