कोभिड–१९ का कारण सबै शैक्षिक संस्था बन्द छन् । पाँच महिनादेखि न त पाठनपाठन हुन सकेको छ न त स्थगित परीक्षा नै । धेरै विद्यार्थीलाई परीक्षा कहिले हुन्छ वा हुँदैन, कहिले, कसरी हुन्छ भन्ने प्रश्नले चिमोटिरहेको छ ।
वैकल्पिक शिक्षाका विभिन्न माध्यमबाट विद्यार्थीलाई शिक्षण सिकाइमा जोड्ने प्रयास भए पनि त्यसले सबैलाई समेट्न सकेको छैन । केही निजी संस्थाले अनलाइबाट शिक्षण गरेको भए पनि दूरदराजका विद्यार्थीले यसको सदुपयोग गर्न सकेको देखिँदैन ।
खुला विश्वविद्यालयले रोकिएका परीक्षा अनलाइनबाट गर्ने भनिरहँदा सबैभन्दा बढी विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयले भने दसैँ, तिहारपछि परिस्थिति सहज भएमा वार्षिक परीक्षा पुरानै परिपाटीबाट गर्ने भनिरहेको छ । कक्षा १२ देखि एमफिलसम्मका विभिन्न सत्रका परीक्षा हुन सकेका छैनन् ।
- तीन घण्टा कक्षाकोठामा बसेर लिइने परीक्षा प्रणाली परिमार्जन नगरे शैक्षिक क्षति हुने निश्चित छ । त्यसैले त्रिविले तीन घण्टे वार्षिक परीक्षाको वैकल्पिक मार्ग खोज्ने बेला आएको छ ।
सरसर्ती हेर्दा त्रिवि वार्षिक परीक्षा पुरानै परिपाटीबाट गर्ने मनसायमा पुगेको देखिन्छ । त्रिविले यसो भनिरहँदा कोरोना भाइरसको संक्रमण कहिले सामान्य हुँदै जाला र परीक्षा दिने भन्ने कुराले परीक्षार्थीको मनोविज्ञानमा नकारात्मक असर परिरहेको छ । अब पनि वार्षिक परीक्षा तीन घण्टा कक्षाकोठामा बसेर नै लिने पद्धति परिमार्जन नगर्ने हो भने शैक्षिक क्षति हुने निश्चित छ । त्यसैले त्रिविले यतिका धेरै विद्यार्थीको भविष्यलाई अन्धकार बनाउनुभन्दा तीन घण्टे वार्षिक परीक्षाको वैकल्पिक मार्ग खोज्ने बेला आएको छ ।
यो शिक्षण तथा परीक्षा प्रणालीमा सुधार ल्याउने अवसर र चुनौती दुवै हो । तीन घण्टे परीक्षाबाट होइन, विद्यार्थीले जानेका ज्ञान, सिपलाई मापन तथा मूल्यांकन गुर्नपर्छ त्यसलै उसले गरेका कार्यबाट उसको क्षमताको मापन गरौँ । पेपर एन्ड पेन्सिल टेस्टबाट विद्यार्थीको वास्तविक सिकाइ मूल्यांकन हुँदैन ।
अहिले सिकाइमा भर्चुअल, जुम, माइक्रोसप्टजस्ता प्रविधिको प्रयोग बढेको छ । यिनै प्रविधिहरूको पर्याप्त प्रयोग गरेर भए पनि परीक्षाको अन्योललार्इं हटाउन जरुरी देखिन्छ । समयसापेक्ष हाम्रा सिकाइ प्रक्रिया परिवर्तन हुन नसक्दा शैक्षिक गुणस्तर अपेक्षित रूपमा बढ्न सकेको देखिँदैन । तीन घण्टे परीक्षाले विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्न सकिँदैन । विश्वविद्यालयले छुट्टै कार्यविधि बनाएर आफ्ना आंगिक क्यापस तथा प्राध्यापकहरूलाई विश्वासमा लिएर अगाडि बढ्न सक्नुपर्छ । अनलाइनबाट परीक्षा लिनबाट त्रिवि पछि हट्यो भने उसले ठूलो अवसर गुमाउने निश्चित छ ।
अहिलेको अवस्थालाई हेर्दा कोरोनाको प्रभाव घट्ने अवसथा देखिँदैन । कोरोनाको प्रभाव कम भएपछि परीक्षा लिनेभन्दा पनि नवप्रवर्तनको खोजीमा लाग्ने कि ? अब विद्यार्थीको परीक्षा लिने (स्तरीकृत परीक्षा) सवालमा विभिन्न सफ्टवेयरको विकास गरेर भए पनि परीक्षा लिनु सान्दर्भिक देखिन्छ । त्रिविले आफ्ना प्राध्यापकलाई विश्वासमा लिन सक्ने हो भने यसै अवस्थामा परीक्षा सञ्चालन सम्भव छ ।
विश्वमा परीक्षा प्रणालीका विभिन्न अभ्यासहरू छन् ।
हाल खुला विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गरिरहेको छ । तर त्रिभुवन विश्वविद्यालयले यसबारे अहिलेसम्म निर्णय गर्न सकेको छैन । त्रिविले तीन घण्टे परीक्षाका विकल्पका रूपमा ओपन बुक, प्रयोगात्मक कार्य, सामूहिक कार्य, मौखिक परीक्षा, पेपर टेस्ट, भिडियो रेकर्डका माध्यमबाट विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षा लिएर यो चुनौतीलाई अवसरका रूपमा परिणत गर्न आवश्यक देखिन्छ ।
विश्वका धेरै देशमा पेपर एन्ड पेन्सिल टेस्टबाट विद्यार्थीको सिकाइ उपलब्धिलाई मापन गर्ने परिपाटी छैन तर नेपालमा भने अहिलेसम्म हट्न नसक्नु दुःखद कुरा हो ।
वर्तमान समयमा ओपन बुकका माध्यमबाट पनि विद्यार्थीको सिकाइ क्षमता पत्ता लगाउन सकिन्छ । यसमा विद्यार्थीलाई प्रश्न दिएर पुस्तक अगाडि राखेर लेख्न लगाउन सकिन्छ । विद्यार्थीलाई इलेक्ट्रोनिक कपीबाट प्रश्न पठाएर त्यसको उत्तर पठाउन लगाएर पनि गर्न सकिन्छ । पेपर टेस्ट अर्काे प्रणाली हो । यसमा विद्यार्थीलाई एउटै प्रश्न दिएर तत्काल उत्तरपुस्तिका खिचेर मेसेन्जर, भाइबर र इमेलका माध्यमबाट पठाउन लगाई त्यसैका आधारमा मापन तथा मूल्यांकन गर्न सकिन्छ ।
- पेपर एन्ड पेन्सिल टेस्ट’ विस्थापित गरेर परीक्षा प्रणालीमा नवप्रवर्तन ल्याउन आवश्यक छ । यसका लागि त्रिविले आँट गर्नुपर्ने हुन्छ ।
उच्च तहमा सत्र प्रणाली लागू भएको छ । सम्बन्धित शिक्षकले विद्यार्थीलाई परियोजना कार्य गर्न लगाई त्यसैका आधारमा मूल्यांकन पनि गर्न सकिन्छ । विद्यार्थीको व्यावहारिक ज्ञानको परीक्षण गर्न सकिन्छ । विद्यार्थीलाई परियाेजनात्मक कार्य दिएर त्यसैका आधारमा विद्यार्थीको मूल्यांकन गरेर वार्षिक परीक्षालाई विस्थापित गर्न सकिन्छ । त्यसैले यो तीन घण्टे परीक्षाको धङधङीबाट बाहिर निस्कनुपर्ने हुन्छ ।
त्रिविले विशेष योजना बनाएर यो जिम्मेवारी क्याम्पस र प्राध्यापकलाई दिने हाँट नगरेसम्म हामी तीन घण्टे परीक्षाको सिकार भइरहने कुरामा दुई मत छैन । अन्य देशले गरेका अभ्यास हेरेर तत्काल यो प्रक्रिया अपनाउन सके शैक्षिक क्षति न्यूनीकरण कम हुने निश्चित छ । साथै वर्षौंदेखि चलिआएको पेपर एन्ड पेन्सिल टेस्ट परीक्षा प्रणाली विस्थापित गरेर परीक्षा प्रणालीमा नवप्रवर्तन ल्याउन आवश्यक छ । यसका लागि त्रिविले आँट गर्नुपर्ने हुन्छ ।
काठमाडौं र खुला विश्वविद्यालयले वार्षिक परीक्षाका विकल्पका रूपमा विभिन्न प्रयास गरिरहेका छन् । त्यसलाई हेरेर विद्यार्थीको मनोविज्ञानमा परेको प्रभावलाई कम गर्न सकिन्छ । यदि यो काम तत्काल नगर्ने हो भने शैक्षिक क्षतिको भागेदारी स्वयं त्रिवि हुनेछ ।
(लेखक धर्मदेवी नगरपालिका शिक्षा अधिकृत हुन् ।)