मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बाग्लुङको कालिका दर्शन गरी रातसाँझ गरेर पाँचौँ दिन हामी पतिपत्नी पोखरा आइपुगेका थियौँ । उच्च पहाडी क्षेत्रको यात्राले होला, जिउ निकै गलेको थियो ।
बन्दिकाले भनिन्, ‘थप एक दिन पोखरा बसेर थकाइ मारौँ न है ।’
- वास्तवमा कसरी ससाना प्राप्तिमा जोडिएको छ जीवनको सुख । किन मैले यो कुरा उहिल्यै बुुझिनँ ?
मैले उनको प्रस्ताव सहजै स्वीकार गरेँ । पोखरा बस्दा म जहिले पनि फेवाको समीपमा रहन मन पराउँछु । त्यसैले ताल क्षेत्रमा गएर होटल भर्जिनल्यान्डमा एउटा कोठा लियौँ । भोलिपल्ट बिहानै विन्ध्यवासिनी दर्शन पछि फेवामा डुंगा यात्रा र दिउँसो केही सपिङ गरी आराम गर्ने कार्यसूची बन्यो । रात परिसकेकाले खाना लियौँ र आफ्नो कोठामा आयौँ ।
कोठामा छिर्दाछिर्दै बन्दिकाले भनिन्, ‘यात्रा निकै रमाइलो भयो । दाम्पत्यको प्रारम्भिक चरणमा घुमघाम गर्न नपाए पनि अहिले मजाले घुम्न पाइएको छ । जुन उमेरमा घुम्दा पनि रमाइलो हुँदो रहेछ । आज त म साह्रै थाकेकी छु । अब सुत्छु । तपाईं के गर्ने ? पढ्ने काम त बाँकी नै होला ।’
- वास्तवमा सत्य र इमानदारी यस्ता हतियार हुन्– त्यसको अघि एक दिन न एक दिन सबैले पराजित हुनैपर्छ ।
‘हुन्छ, तिमी सुत । यसै त म पनि थाकेको छु तथापि केही छिन पढ्छु । अस्तिदेखि पढ्न थालेको किताब सिध्याउने सोच्या छु आज,’ सोफामा बस्दै मैले भनेँ ।
उनी सुतिन् र म पढ्न थालेँ । एक छिनमा जिउ अरू गलेको जस्तो अनुभव भयो, किताब सिद्घिएकै थिएन तथापि बन्द गरेँ । एकपटक कोठमा सरसर्ती नजर दौडाएँ । मस्त निदाइरहेकी बन्दिकाको अनुहारमा मीठो सन्तुष्टि र सुखको झल्को देखिन्थ्यो ।
मैले मनमनै भनेँ, ‘वास्तवमा कसरी ससाना प्राप्तिमा जोडिएको छ जीवनको सुख । किन मैले यो कुरा उहिल्यै बुुझिनँ ? दाम्पत्यको प्रारम्भमै यो सब बुझेको भए बन्दिका र म त्यो दुःखको कहालीलाग्दो भुमरीबाट पक्कै गुज्रने थिएनौँ ।’
- समाजमा जो बलियो छ, अन्याय र अनियमितता उसैले गर्छ ।
मैले कोठको भित्तातिर नजर डुलाएँ । कुनै नवजोडीको अत्यन्त मनोहर तस्बिर हाँसिरहेको थियो, सायद यो तस्बिर मधुमासको होला । त्यो तस्बिरमाथि नजर मात्र के परेका थिए, म आफू सोझै आफ्नो विगततिर तानिएँ ।
0000
म पेसाले पत्रकार थिएँ । दैनिक पत्रिकाको सम्पादक भएकाले आधा रातसम्म पत्रिकाको अफिसमा रहनु मेरो दिनचर्या थियो । सकेसम्म अरूभन्दा पहिले नै पछिल्लो घटनालाई समेटेर समाचार दिँदा पत्रिकाको बिक्री र लोकप्रियता बढ्ने स्वाभाविकै हो । नयाँ र दमदार समाचारका प्राप्तिका लागि हमेसा म आँखा र कान खुला गरेर राख्थेँ । सस्तो चर्चा र लाभका लागि समाचार बनाउने बानी मेरो थिएन । आफूले दिएको समाचारको आवश्यक पर्दा आधारसहित प्रतिरक्षा गर्न सक्नुपर्छ भन्ने कुरामा म सचेत थिएँ । त्यसैले मेरो पत्रिकाको लोकप्रियता र विश्वसनीयता दुवै बलियो थियो ।
पत्रिकाका लागि संवाददाता र डेस्कमा काम सघाउने साथीहरूको पनि कमी थिएन तथापि सबै समाचार मैले हेरेर अन्तिम निर्णय दिएपछि मात्र छापिन्थ्यो । स्वतन्त्र र निर्भीक पत्रकारिताको मर्मको कडा पक्षधर भएकाले मेरो पत्रिकामा कसैले समाचार प्रभावित पार्न सक्ने कुनै सम्भावना थिएन ।
- दुवै जवान थियौं त्यसैले हामीमा कायिक क्षुधा थिएन भन्ने होइन तर मेरो समय व्यवस्थापनका कारणले आफ्नी भार्याको उलेली उफानको समयमा साथ दिन म सँगै हुन्नथेँ ।
गलत र गैरकानुनी काम गर्नेहरू यति संगठित हुन्छन् कि तिनले कुनै पनि बेला इमानदार मानिसलाई गलत प्रमाणित गरिदिन सक्छन् । भ्रष्टाचार, षड्यन्त्र, राजनीतिक बेइमानी, संगठित अपराध जस्ता कुकर्मको पर्दाफास गर्ने दायित्व भएकाले त्यसबापत पत्रकारले कति झन्झट र जोखिम उठाउनुपर्छ, त्यो भोग्नेले मात्र जान्दछ । म निष्ठा र सत्यको हतियारद्वारा सबै समस्या डटेर सामना गर्थेँ ।
वास्तवमा सत्य र इमानदारी यस्ता हतियार हुन्– त्यसको अघि एक दिन न एक दिन सबैले पराजित हुनैपर्छ । पत्रकारिता पेसामा सबै वर्ग, तप्का र क्षेत्रका मानिससँग चिनजान र भेटघाट हुन्छ । समाजमा जो बलियो छ, अन्याय र अनियमितता उसैले गर्छ । यस्ता कर्तुतका बारेमा लेख्नु पत्रकारिताको धर्म नै हो । यसबापत पत्रकारितामा पाइने पुरस्कार भनेको दुस्मनी नै हो । सत्यतथ्य समाचारले जनताको विश्वास त जितिन्छ तर जनता यस्तो समूह हो, जो संगठित भएर न त समर्थन गर्छ न त प्रतिरक्षा नै । त्यसैले एउटा स्वतन्त्र र निर्भीक पत्रकारको जीवन सधँै जोखिममा रहन्छ । म त्यसमा अपवाद थिइनँ ।
0000
सामाजिक जीवनमा केही पेसा यस्ता हुन्छन्, जसमा परिवारलाई दिने समय निकै कम हुन्छ । तीमध्ये पत्रकारिता पनि एक हो । एउटा लोकप्रिय दैनिक अखबारको सम्पादक भएकाले पत्रिकाको सम्पादकीय र ब्यानर न्युज मेरो एकल दायित्व थियो । पछिल्लो समाचार पर्खने हुँदा प्रायः आधा रात अघि सम्पादकीय र ब्यानर न्युज बनेका हुँदैनथे । त्यसैले त्यस बेलासम्म म पत्रिकाको अफिसमै हुन्थेँ । बेलुकाको खानाको प्रबन्ध पनि अफिसमै गरिएको हुन्थ्यो । म घर पुग्दा मेरी श्रीमती अक्सर मध्य निन्द्रामा हुन्थिन् । ताला खोलेर म बेडरुमसम्म पुग्थेँ र एउटा परचक्रीजस्तो चुपचाप ओछ्यानमा घुस्रिन्थे ।
- मनका कुरा शब्दमा लुकाउन सकिएला तर त्यसलाई अनुहार र आँखको द्वार हुँदै बाहिर निस्कनबाट रोक्न सकिन्न ।
हामी पतिपत्नी दुवै जवान थियौं त्यसैले हामीमा कायिक क्षुधा थिएन भन्ने होइन तर मेरो समय व्यवस्थापनका कारणले आफ्नी भार्याको उलेली उफानको समयमा साथ दिन म सँगै हुन्नथेँ । हामीबीच दैहिक सान्निध्य छँदै थिएन भन्ने पनि होइन तर त्यो लगभग एकतर्फी थियो । एउटी कामुकी पत्नीको दैहिक उष्ममाथि मबाट भएको हेलचेक्रयाइँ र उपहासले आफ्ना चाहनालाई आफूभित्रै मार्न उनी बाध्य थिइन् । मलाई ज्ञान थियो कि पतिपत्नी सान्निध्य र सम्बन्ध निर्वाहमा मबाट भएको अत्याचारको हाम्रो दाम्पत्यमा नकारात्मक प्रभाव बढिरहेको थियो ।
स्वयम् भगवान् पनि कमजोरीविहीन हुँदैनन् भने म एउटा औसत मान्छेमा त्यो अपेक्षा कसरी राख्न सकिन्थ्यो र ? त्यस बखत ममा एउटा नराम्रो कमजोरी थियो– प्रमदाप्रतिको आसक्ति । मेरी श्रीमतीलाई पनि यसको भनक भइसकेको थियो । दाम्पत्यका प्रारम्भिक चरणमा नवदम्पतीहरू एकअर्काबाट अविच्छिन्न, विश्वासिलो, सुरक्षित र न्यायो दैहिक तथा मानसिक सामीप्यको अपेक्षा राख्छन् । उनको यो स्वाभाविक अपेक्षामा समेत म खरो उत्रन सकेको थिइनँ । दाम्पत्य जीवनको सुरुवाती दिनहरूमा श्रीमतीबाट मेरो यसखाले व्यस्तताप्रति गुनासो आएको थियो तर बिस्तारै बिस्तारै उनले गुनासो गर्न छोडेकी थिइन् । मेरो विचारमा यसका पछाडि यस्ता कारणहरू थिए । पहिलो कारण थियो– पत्नीलाई के लागेको थियो भने मेरो लोग्नेले मैले भनेर आफ्नो जीवन धारा बदल्दैन ।
- विरक्ति यस्तो खतरनाक रोग हो कि जसले आफ्ना अभाव र असन्तुष्टिको उपचार आफूलाई त्यसैबाट विञ्चितीकरणमार्फत गराउने गर्दछ ।
दोस्रो कारण थियो– मेरो व्यस्तता परिवारको दाल, भातडुकु आर्जनसँग जोडिएको थियो ।
तेस्रो कारण थियो– यसमा उनको अभ्यस्तता बन्दै गयो । नराम्रो नै किन नहोस्, दैनन्दिन बेहोरेका कुरामा बिस्तारै बिस्तारै अभ्यस्ता बढ्छ र त्यो स्वाभाविक लाग्न थाल्छ ।
चौथो कारण थियो– मेरी श्रीमतीको गुम्सेर बस्ने स्वभाव ।
मान्छेको चाहना पनि पृथ्वीभित्र पग्लेर रहेको र सधैँ बाहिर भाग्न खोज्ने म्याग्मा जस्तै हो, कुनै कमजोर स्थान या छिद्र पायो कि यो बाहिरिन थाल्छ । त्यसैले मनका कुरा शब्दमा लुकाउन सकिएला तर त्यसलाई अनुहार र आँखको द्वार हुँदै बाहिर निस्कनबाट रोक्न सकिन्न । बन्दिकाको शारीरिक अभिव्यक्तिबाट पनि थुप्रै लाक्षणिक असन्तुष्टि प्रकट भइरहन्थे । म कति बुझ्दिनथेँ पनि होला तर धेरै जसो बुझेर पनि बुझ पचाउँथे ।
यदाकदा उनी भन्थिन्, ‘फलानाहरू मुक्तिक्षेत्र घुमेर आएछन् नि । मुस्ताङ त धेरै राम्रो छ अरे नि हो ?’
म भन्थेँ, ‘मैले पनि सुनेको नै हो । गएको छैन र सुन्दा लाग्छ– पक्कै राम्रो हुनुपर्छ ।’
यस्तैमा एक दिन श्रीमतीले भनिन्, ‘उषा दिदीका सबै परिवार पाथीभरा पुगेर आएछन् नि । प्रसाद पठाएका थिए, लु यो लिनोस् ।’ टीका उनैले लगाइदिइन् । प्रसाद हातमा थापेँ र नरिवलको एउटा सानो टुक्रा मुखमा क्वाप्प पारेँ । मअघि उभिएकी श्रीमतीका मुखतिर हेरेँ । उनको अनुहारमा गाढा उदासी र खिन्नता प्रस्ट थियो ।
मैले भनेँ, ‘तिमीलाई जान मन लागेको होला । जहिल्यै काम भन्यो, जोतियो । फुर्सद कहिल्यै छैन । हामी पनि जोडी बनेर डुल्न घुम्न कहाँ पाएका छौं र ? तिमी र म पनि जान पाए हुन्थ्यो नि हगि ? तिमीलाई कहाँ जान पाए हुन्थ्यो लागेको छ ?’
- तपाईंलाई घरमा म पनि छु भन्ने थाहा छैन ? म पनि मान्छे हुँ । कुनै झुम्राको पुतली होइन । मेरा पनि इच्छा, चाहना हुन्छन् भन्ने बोध छैन ?
उनले भनिन्, ‘उस्, पर्दैन चेपारो घस्न । कसैको नभाको ड्युटी, पत्रिका कसले हेर्छ नि ? हामी कतै बाहिर गयो भने त आकाश खस्छ, पृथ्वी पनि पल्टिन्छ । भैगो, मलाई जानुपरेको छैन । घरको चार दिवारीको संसार नै मलाई ठीक छ ।’
मान्छेका अभिव्यक्तिले सधैँ जे भनिन्छ, त्यही अर्थ बोक्दैनन् । उनलाई आफू कतै घुम्न जान नपाएको पीडा मात्र थिएन, आफ्नो लोग्नेको यथोचित सहचर्य नपाएको एउटा नमीठो र गहिरो असन्तुष्टि थियो । अरूले सुनाएका भ्रमण कथामा आफू अमुक हुनुपरेको घाउ थियो । दसैँमा बाहेक ससुरालीतिरका नातेदारबाट आउने निम्तामा पनि मसँगै जान्नथेँ । हुन त मेरा घरतिरका नातेदारका घरायसी कार्यक्रम र निम्तामा पनि म जान्नथेँ । तर उनका माइतीतिरका नातेदारलाई त्यसको कुनै सरोकार हुने कुरा भएन । उनीहरू मलाई ठूलो पल्टिएर नआएको ठान्थे ।
अहिले म सम्झन्छु– अरू सबै दिदी बहिनी र नातेदार आआफ्नो पतिसँग आएको देखेर उनलाई पक्कै नमीठो लाग्थ्यो होला । भाउजू र बुहारीका अघि आफू अपमानित भएको महसुस हुन्थ्यो होला । उनको इच्छाको यो हदको उपेक्षा वास्तवमै उनीप्रतिको अन्याय थियो । यस विषयमा बन्दिका दोहोरो मारमा थिइन् । एकातिर मेरो उपेक्षा र संवेदनाहीनताको पीडा छँदै थियो भने अर्कातिर यही विषयलाई लिएर माइती खलक तथा नातेदारबाट हुने लाक्षणिक घोचपेच र परिहास पनि सहनुपर्थ्याे ।
0000
हुन त म सम्पादक थिएँ तर सबै काममा आफू उत्तिकै खट्थेँ । त्यसैले ड्युटीका नाममा म यसरी बाँधिएको थिएँ कि कहीँ जान सम्भव थिएन । लामो फुर्सद हुन मलाई कडा बिरामी नै हुनु अनिवार्य थियो । परिवारलाई पनि समय दिनुपर्ने हो भन्ने कहिलेकाहीँ म पनि सम्झन्थेँ तथापि मलाई मेरो बेफुर्सदी अतार्किक र अनुचित लाग्दैनथ्यो ।
- तपाईंलाई के थाहा, तपाईंले अहिलेसम्म बन्दिकालाई भोग गर्नुभएको छैन । बन्दिकाको लासमाथि भोग गर्नु भएको छ ।
म मनमा गुन्थेँ– उसलाई मैले सबै कुरा त दिएको छु । खाने बस्ने केही दुःख छैन । घरमा केही काम गर्नुपरेको छैन । सबै ऐस आरामको उचित प्रबन्ध मिलाएको छु । आखिरी यी सबै गर्नलाई नै त हो, मैले कमाउनुपर्ने र समय खर्चिनुपर्ने । यो सबै कसका लागि ? बन्दिका र भोलि हुने हाम्रा सन्तानको लागि न हो । कति महिलाका लोग्ने बिहा भएको भोलिपल्ट विदेश गएर वर्षौं उतै बसेका छन् । एकपटक पनि घर आएका छैनन् । फोनमा कहिलेकाहीँ हुने सम्पर्कबाहेक केही छैन । तिनका पत्नी पनि जीवनप्रति भरोसा र आशा राखेर बसेका छन् । बिना कुनै गुनासो एउटा उत्साह, उमंग र निष्ठा राखेर श्रीमानको वापसी पर्खिरहेका छन् । आधा रातसम्मको मेरो व्यस्तताको तिललाई पहाड किन बनाउनुप¥यो उनले ? म त कम्तीमा हरेक रात घर आइपुगेको छु । एउटै छत, कोठा र ओछ्यानमा छौं ।
समाजमा इज्जत छ । उनका दैनिक आवश्यकता, सन्चो–बिसन्चोदेखि सबै काम र हेरदेख मैले गरेकै छु । जहाँसम्म कहिलेकाहीँ घुमाउन लानुपर्ने हो, पारिवारिक कार्यक्रममा सँगै जानुपर्ने हो, त्यसमा मैले समय दिन भ्याएको छैन । के मैले नचाहेर नलगेको, नगएको हो र ? उनी यति निराश र विरक्त किन हुनुपर्ने ? उसले मलाई, मेरो समस्यालाई बुझिदिनु पर्दैन ?’ मलाई मेरा तर्क पनि अनुचित लाग्दैनथे । उनको ठाउँबाट हेरेर उनमा के बितेको होला भन्नेतर्फ म कहिल्यै गम्भीर हुन्नथेँ । आफ्ना स्वाभाविक आकांक्षाहरू पनि सधँै त्यतिकै अलपत्र पर्न थालेपछि क्रमशः मानिसमा त्यसप्रति वितृष्णा पैदा हुन्छ सायद ।
- दरबारको सुख छोडेर रामसँगै सीता किन बनवास गइन् ? पाण्डव वनवास गएपछि भाइ धृष्टधुम्नले गरेको माइती जाने आग्रह नकारेर द्रौपदी पाँच पाण्डवसँगै वनवास र गुप्तवासमा किन बसिन् ?
बिस्तारै उनले मेरो उपस्थिति, चासो र सान्निध्यको कुनै चाह राख्न छोडिन् । विरक्ति यस्तो खतरनाक रोग हो कि जसले आफ्ना अभाव र असन्तुष्टिको उपचार आफूलाई त्यसैबाट विञ्चितीकरणमार्फत गराउने गर्दछ । उनको असन्तुष्टि मबाट प्राप्त हुने माया, समय र दैहिक सामीप्यताको कमीबारे थियो । त्यसको उपचार उनले त्यसैबाट आफूलाई पूर्ण वञ्चितीकरण गराएर गर्न थालिन् । रोग अझ बढाएर रोगको उपचार खोजे जस्तै ।
अब हाम्रो लोग्ने–स्वास्नी धर्म एउटै छतमुनि रहनुमा नै सकिन थाल्यो । हरेक दाम्पत्यमा पतिपत्नी बीचमा अन्तरसंवाद नितान्त आवश्यक छ । बरु झगडा नै सही, यसले कम्तीमा एक अर्काबीचमा आफ्ना विचार सम्प्रेषण हुन्छ, एक अर्काको अस्तित्व रहेको आभास त हुन्छ । मेरो उपेक्षा र उनको स्वनिर्मित मौनता र वञ्चितीकरणको अग्लो पर्खालभित्र हाम्रो दाम्पत्य आफैँ निसास्सिन थाल्यो ।
हामी झन् झन् टाढियौं । उनी मेराबारे के ठान्थिन् होला ? उनको दिल, दिमागका कुरा र जैविक अनुभूति कस्ता थिए होलान् ? उनका माग, आवश्यकता र अपेक्षा के थिए होलान् ? म यसमा पूरै बेखबर रहन थालेँ ।
मैले माथि नै उल्लेख गरिसकेको छु कि म प्रमदाको खास अनुरागी थिएँ । मेरो अफिसमा थुप्रै महिला स्टाफहरू थिए । विशेषगरी अफिस डेस्कमा काम गर्नेमा म भेटेसम्म नवयुवतीहरू राख्थेँ । नभेटे नवविवाहित या जवान डिभोर्सी त हुन्थे नै । जे होस्, अफिस स्टाफ छनोटमा उमेर, रूप र लिंग त अकाट्य आधार थिए । उनीहरू मेरो अफिसमा लामो समय टिक्दैनथे । जो कोही होस्, मेरो अफिस आउन थालेका केही समयमा ती चाहेर नचाहेर मेरो दैहिक क्षुधा तृप्ति अर्को शब्दमा मेरो हवसको सिकार हुन्थे । कोही मेरो नियत बुझेर सिकार हुन पहिले नै पारिश्रमिक समेत नबुझी भागिसकेका हुुन्थे भने कोही पहिलो तिक्त अनुभवसँगै जागिरलाई तिलाञ्जली दिएर बिदा हुन्थे । कोही कोही मजबुरीमा यसलाई नियति सम्झेर तबसम्म बेहोर्थे, जबसम्म अर्को जागिर हात पर्दैनथ्यो । फेरि कसै कसैको त नियत नै आमोदप्रमोद हुन्थ्यो र कुनै समस्या रहन्नथ्यो ।
- मेरो ओछ्यानमा मेरी पत्नीसँग अर्को कोही बेफिक्री सुतिरहेको थियो । टाउकामा टाउको जोडेर ऊ बन्दिकाको अँगालोमा बाँधिएको थियो ।
अचम्म त के थियो भने यस कुकर्ममा मलाई कुनै लज्जा र पछुतो थिएन । म आफैँलाई भन्थेँ, ‘निशान, घरमा पत्नी भएर अरू वनितासँग प्रेम र प्रणयमा लीन हुने संसारमा तँ एक्लो पुरुष होइनस् । पौराणिक कालमा पनि यो सब चलेको थियो । राजा महाराजाले दैहिक क्षुधा पूरा गर्दा गर्दै दासीहरूबाट सन्तान जन्माउँथे । कामिनी पत्नी द्रौपदी हुँदा हुँदै सबै पाण्डव भाइका आआफ्ना थप पत्नीहरू थिए । भगवान् कृष्णका घोेषित पत्नी नै आठ जना थिए ।’
समष्टिमा बन्दिकाबाट चालिएको दैहिक सामीप्यको वञ्चितीकरणको अभियानले ममा कुनै ठूलो असर भएको थिएन । क्रमशः बन्दिका र म शून्य सञ्चारमा रहन थाल्यौँ । यसखाले सम्बन्धले निकै लामो समय निरन्तरता पायो ।
0000
कारण के थियो उनै जान्दिहोलिन् । शून्य सञ्चारको लामो अभ्यास पछि बन्दिकाले आफ्नो रणनीति बदलेर झमटको रुझान अख्तियार गर्न थालेकी थिइन् । बेलाबेला बहुलट्ठीपूर्ण एकतर्र्फी गालीगलौज र घोचपेच गर्थिन् । दुवै नीतिलाई मैले मौनताको ढालबाट छेकिराखेको थिएँ ।
एक दिनको कुरा हो– एउटा तालिममा सहभागी हुन म दुई हप्ताका लागि विदेश जानुपर्ने भयो । विदेश जाने कुरा थाहा पाएपछि बन्दिकाले कटु प्रतिक्रिया व्यक्त गरिन् । उनको घोचपेच र एकतर्फी प्रहार यस्तरी बढ्यो कि म मौनताको नीतिमा समेत टिक्नै नसक्ने भएँ तर उनीसँग बहस गर्न म चाहनन्थेँ । सायद सक्दिनथेँ । त्यसैले पलायनको नीति अख्तियार गरेँ । उनको आक्रोश म किन विदेश गएँ भन्ने सवालमा थिएन । त्यो आक्रोश मेरो आवश्यकतामा त म समय निकाल्न सक्दो रहेछु् भन्नेमा थियो ।
- श्रीमतीको पत्नीधर्म विचलनको आशंकामा मलाई त्यत्रो आक्रोश भयो भने मेरो व्यभिचारप्रति मेरी पत्नीलाई कस्तो लाग्दो हो ?
वास्तवमा मैले पत्नीका लागि उचित महत्त्व, समय र साथ नदिएको सत्य हो । आफ्नो पति समयमा बाँडिएको त कुनै पत्नी सहन सक्दैनन् म त मन र शरीरले नै कति कति वनिताहरूका बीचमा बाँडिएको थिएँ । यो सब जानीजानी उनले मलाई कसरी सहेकी थिइन्, त्यो अनुमान बाहिरको कुरा थियो । यो विलकुल सत्य थियो– मैले उनीमाथि पति कर्तव्य अपालनाको ज्यादती गरेको थिएँ । अघि नै भनिसकेको छु कि यसप्रति न कुनै पछुतो थियो न त उनको दुःखप्रति कुनै संवेदनशीलता नै । म त मेरो प्रमदा आशक्ति र सान्निध्यलाई गर्वका रूपमा लिन्थेँ । क्षमता र तागतका रूपमा लिन्थेँ । मेरा साथीहरू जो त्यसमा लिप्त थिएनन्, तिनलाई म लुते र लठुवा सम्झन्थेँ ।
विदेश जाने अघिल्लो रात म सधैँझैँ मध्यराति पत्रिकाबाट घर फर्किएँ । आठौं आश्चर्य, सधँै सुतिसक्ने बन्दिका आज जागै थिइन् । म सधैँझैँ आरामको तरखरमा लागेँ । भोलि सखारै हिँड्नु पनि थियो । मलाई देख्नासाथ बन्दिका एकाएक पड्कन थालिन्, ‘मेरा लागि पो छैन, आफूलाई चाहिँदा त जति पनि फुर्सद निस्कँदो रहेछ । जब परिवारलाई दिने समय छैन, पत्नी प्रेमको आवश्यकता छैन, जब पत्नीधर्म निभाउन सकिँदैन भने त्यस्ताले दाम्पत्य जीवनमा किन प्रवेश गर्नु ? साधु जस्तै कुटी बनाएर बसे भो । कतै जंगलतिर गएर तपस्यामा लागे भो ।’
मलाई विवाद गर्ने मन थिएन तथापि मैले नम्र स्वरमा भनेँ, ‘हेर बन्दिका, मलाई पनि जाने खासै रहर छैन । एउटा बाध्यतामा जाँदै छु । सम्पादक नै जानु अनिवार्य छ, अन्यथा यो कार्यक्रममा अरू कसैलाई पठाइदिन्थेँ । म जाने नै थिइनँ ।’
उनी फेरि कुर्लिन्, ‘बाध्यतामा नै सही आफ्ना लागि त समय निस्कने रहेछ । कुनै कामका लागि समय निस्कन्छ कि निस्कँदैन भन्ने कुरा त्यो काममा आफूले दिएको प्राथमिकता कति छ भन्नेमा भर पर्छ । के तपाईंलाई घरमा म पनि छु भन्ने थाहा छैन ? म पनि मान्छे हुँ । कुनै झुम्राको पुतली होइन । मेरा पनि इच्छा, चाहना हुन्छन् भन्ने बोध छैन ? मेरा लागि तपाईंसँग न कुनै समय छ, न कुनै अनुराग । छडौलीहरू भए पुग्छ । विदेश जाने टोलीमा पनि दुईचार छडौलीहरू होलान् नि ? नभए उतै पनि प्रबन्ध होला ? छडौलीबिना त कसरी टिकिएला यतिका दिन ?’
मैले नम्र भएरै भनेँ, ‘बन्दिका, म तिमीसँग बहस गर्न चाहन्नँ । मैले तिम्रा लागि यथेष्ट समय दिन नसकेको कुरा मलाई अनुभूति छ । तर मेरो बाध्यता पनि त तिमीले बुझिदिनुपर्छ । घरायसी प्रबन्ध राम्रो छ । काम गरिदिने मान्छेहरू पनि छन् । तिमीलाई कुनै भौतिक अभाव हुन दिएको छैन । म पनि त तिमीहरूकै लागि खटिएको छु । यो सबै प्रबन्ध कसरी भएको छ ? के तिमीलाई ज्ञान छैन ?’
‘त्यो तर्कका लागि तर्क हो । घरमा खाने बस्ने प्रबन्ध, काम गरिदिने सहयोगी भएर मात्र एउटी पत्नीलाई पुग्दैन । दरबारको सुख छोडेर रामसँगै सीता किन बनवास गइन् ? पाण्डव वनवास गएपछि भाइ धृष्टधुम्नले गरेको माइती जाने आग्रह नकारेर द्रौपदी पाँच पाण्डवसँगै वनवास र गुप्तवासमा किन बसिन् ? नारीलाई भौतिक सुख र आमोद प्रमोदले मात्र पुग्दैन । उसलाई आफ्नो पतिको तन र मनको सामीप्य चाहिन्छ । पतिको छायाको शीतलता चाहिन्छ । पतिको प्रेमको सागरमा डुबुल्की लाएर तन र मन दुवै तृप्त गर्न चाहन्छन् पत्नीहरू । माया लिन मात्र होइन, दिन पनि चाहन्छन् । पति नै कि नहोस्, बिना प्रेम गिजोलिनुपर्दा उनीहरू मरेतुल्य हुन्छन् । तपाईंलाई के थाहा, तपाईंले अहिलेसम्म बन्दिकालाई भोग गर्नुभएको छैन । बन्दिकाको लासमाथि भोग गर्नु भएको छ । म सधैँ तपाईंको मायाको भोकमा तड्पिएकी छु, सामीप्यको तिर्खामा पिरोलिएकी छु । शरीर मिल्नु र माया पाउनु फरक कुरा हुन् । मदिराको आवेगमा आधा रातमा मनलाई नछोई शरीर गिजोल्दा पत्नीलाई माया गरेको ठहर्दैन । त्यो एक प्रकारको बलात्कार हो । त्यसैले मैले तपाईंबाट माया र दैहिक तृप्ति पाएकी छैन, बरु बलात्कृत भएकी छु । मेरो नजरमा तपाई ज्ञान भएको पशु हो । पतिपत्नीको त झगडा र वाद विवादमा पनि माया हुन्छ । त्यसले पनि कम्तीमा एकअर्काको उपस्थिति त बोध गराउँछ । तपाईंले उपेक्षा, शून्य सञ्चार र पलायनका गोलिद्वारा मलाई जिउँदै मारिदिनुभो । बेवारिसे लास बनाइदिनु भो,’ बलिन्द्र आँसु खसाल्दै उनले भनिन् ।
मेरो चरित्र चिना पूरै थाहा पाए पनि मसँगै यसबारे उनले आफ्नो मुख यसअघि कहिल्यै खोलेकी थिइनन् । उनको मुहारको प्रकृति र प्रकट अभिव्यक्तिबाट मैले बुझिहालेँ कि आज उनको शरीरमा चण्डी चढेको छ । उनी एउटी घाइते बघिनी भएकी छन् । मनमनै भनेँ, ‘अब यहाँ न बहाना काम लाग्नेछ न त तर्क नै । तसर्थ रडाको र विवादबाट जोगिनु नै उचित हुनेछ ।’
त्यो निर्क्याेल पछि थप केही नबोली म सोफामा बसिरहेँ । मेरो मौनताले उनमा झन् आक्रोश भर्यो । उनी राता राता आँखा गर्दै फेरि कुर्लन थालिन्, ‘तपाईं नहुँदा पनि पत्रिका चल्दो रहेछ । दुई साता चल्छ भने अरू दिन पनि त चल्थ्यो होला नि ? अब तपाईंको नियत र व्यवहार सबै छर्लंग भो । अरूका पनि पत्रिका छन् । अरू पनि सम्पादक छन् । अरूका पनि श्रीमती र घर परिवार पक्कै छन् । अरूले कसरी अफिस घर व्यवस्थापन गरेका छन् ? तपाईंको व्यस्तता पेसाजन्य कामको कारण होइन । तपाईंको व्यस्तताको कारण छडौली खेती हो ।’
श्रीमतीको कुरा सत्य र तार्किक थिए । वास्तवमा मैले उनलाई यथोचित महत्त्व नदिएरै समय ननिस्केको सही थियो । भित्र मनमा मलाई आफ्नो दोषको अनुभूति भो । तर पत्नीसँग भुल स्वीकार गर्न मलाई मेरो पुरुष अहंले रोकिरहेको थियो । मैले मनमनै भनेँ, ‘वास्तवमा हामी लोग्नेमान्छेहरू साह्रै स्वार्थी हुन्छौँ । कहीँ कतै अर्को शरीर भेट्यौ भने घरमा कोही मलाई पर्खिरहेकी छ भन्ने बिर्सन्छौं । लुकीछिपी गरेका यस्ता कुकर्मलाई बहादुरी सम्झन्छौँ । त्यस दिन मलाई ज्ञान भयो कि म त लोग्ने पनि हुन सकिनछु र मान्छे पनि हुन सकिनछु केवल लोग्ने मान्छे मात्र भएछु ।’
उनीसँग विवाद गर्ने सामर्थ्य ममा थिएन । त्यसैले फेरि पुरानै पलायनको नाीति अख्तियार गरेँ । त्यो कर्णकटु संवाद सुन्नबाट जोगिन म गेस्ट रुममा छिरेर सुतिदिएँ । उनी केहीबेर एक्लै भुतभुताइन्, सायद थाकिन् र सुतिन् । । भोलिपल्ट बिहान उनी उठिनसक्दै म घरबाट निस्किएँ र विदेशतिर उडेँ ।
००००
तालिम दुई साताको थियो तर अचानक आएको विनाशक भूकम्पका कारण हामी गएको देशमा राष्ट्रिय विपत्ति मच्चिएको थियो । त्यसैले तालिम अन्त्य गरी हामीलाई फर्काइयो । आठौं दिन दिउँसै म काठमाडौँ आइपुगेँ । रिसाएकी पत्नीलाई के खबर गर्नु ठानेर म घर नपसी हवाई मैदानबाट सिधै पत्रिका अफिस गएँ । पत्रिकाको नियमित काम गरेर म सधैँ झैँ राति करिब १२ बजे घर पुगेँ र डुप्लिकेट चाबीले ढोका खोलेर भित्र पसेँ । लगेज बैठक कोठामा राखेर गेस्टरुम छिरेँ र कपडा बदलेँ । त्यसपछि बेडरुमको ढोका थोरै खोलेर भित्र बन्दिका सुते नसुतेको चियो गरेँ । कोठामा बत्ती बलेको थिएन तथापि पर्दाबाट छिरेको सडक बत्तीको प्रकाशबाट भित्र अलिअलि देखिन्थ्यो । यसो आँखा तानेर हेरेँ । मेरो होस उड्यो ।
मेरो ओछ्यानमा मेरी पत्नीसँग अर्को कोही बेफिक्री सुतिरहेको थियो । टाउकामा टाउको जोडेर ऊ बन्दिकाको अँगालोमा बाँधिएको थियो । मैले ठानेँ, ‘मेरी पत्नी र ऊ मेरो लामो अनुपस्थितिको सायद फाइदा लिइरहेका छन् ।’
म बन्दिकाको खासै वास्ता गर्दिनथेँ तर त्यस दिन कहाँबाट उनीमाथिको मेरो पति अधिकार र अभिमान उम्लेर आयो थाहा भएन ।
मेरो मनले भन्यो, ‘आफ्नै घरमा, आफ्नै ओछ्यानमा परपुरुषको बाहुपासमा बाँधिन कुनै संकोच नमान्ने कति निर्लज्ज रहिछे यो आइमाई ? अनि अर्काको घरमा, अर्काको ओछ्यानमा अर्काकी स्वास्नीसँग लहस्सिन कुनै लाज नमान्ने त्यो लठुवा झन् कति निच हो ? कति नांगो र बेशर्मी हो ?’
- मलाई मेरै अपराधले घाँटी अँठ्याएको जस्तो भयो । आफैँप्रति घृणा जागेर आयो । पत्नीप्रति आफूबाट भएको घोर अन्याय र उत्पीडनप्रति पछुतो मानेर मैले आँसु खसाएँ । कसै गरे सुत्न सकिनँ ।
मनमा आक्रोशको आगो दन्कियो । म आफू पत्नीधर्ममा इमानदार थिइनँ तथापि त्यो लठैत र आफ्नी पत्नीको बेइमानी, निर्लज्जता र नांगोपन मैले सहन सकिनँ । त्यहाँबाट निस्केर बैठक कोठमा गएर थुचुक्क बसेँ ।
दिमागमा केही सुझिरहेको थिएनँ । एक पटक सबै दृश्य दोहोर्याएर सम्झिएँ । आक्रोशको भेल थाम्न सकिनँ र तत्काल दुवैलाई छिनाल्ने निर्णयमा पुगेँ । किचनमा गएर गाउँबाट ल्याएको खसी काट्ने खुकुरी झिकेँ र सरासर बेडरुममा पसेँ । अँध्यारोमा प्रहार गर्दा प्रहार लक्ष्य चुक्ने सम्भावना सोचेर बत्ती बाल्नासाथ घाँटीमै च्वाटै पार्ने मन बनाएँ र ठिक्क खुकुरी उचालेर बत्ती बालेँ ।
देखेँ– श्रीमती बार पिल्लो (लामो सिरानी)लाई अँगोलो हालेर मस्त निदाइरहेकी थिइन् । म लाज र अपराधबोधले मर्माहत भएर थुचुक्क बसेँ । एकैछिनमा कहीँ उनले नदेखून् भन्दै चाल मारेर हत्त न पत्त किचेनमा पसेँ र खुकुरी राखेँ । अब पत्नीसामु उभिने आँट मसँग थिएन । त्यसैले चाल मारेरै खुसुक्क गेस्ट रुममा छिरेँ । मनमा सम्झेँ, ‘मेरी पत्नी परपुरुषको बाहुपासमा रहेको आशंकाका म आफ्नी पत्नी र त्यो कामपुरुषलाई समेत छिनाल्न तयार भएँ । श्रीमतीको पत्नीधर्म विचलनको आशंकामा मलाई त्यत्रो आक्रोश भयो भने मेरो व्यभिचारप्रति मेरी पत्नीलाई कस्तो लाग्दो हो ? मेरो कर्मले उनमा के बितिरहेको होला ? उनले यो सब कसरी सहेकी होलिन् ?’
मलाई मेरै अपराधले घाँटी अँठ्याएको जस्तो भयो । आफैँप्रति घृणा जागेर आयो । पत्नीप्रति आफूबाट भएको घोर अन्याय र उत्पीडनप्रति पछुतो मानेर मैले आँसु खसाएँ । कसै गरे सुत्न सकिनँ । ओछ्यानबाट उठेँ र ऐनामा आफूलाई हेरेँ, मलाई आफ्नो अनुहार सोह्र हजार गोपिनी हरण गर्ने राक्षस नरकासुरको जस्तै लाग्यो । तत्कालै भए भरका देवदेवी भाकेर मैले कसम खाएँ, ‘आजबाट म प्रमदा आशक्तिलाई त्यागिदिनेछु र केवल बन्दिकाको भएर रहनेछु ।’
००००
यी करिब तीन दशकअघिका घटना हुन् । मेरो परिवर्तनलाई सुरुमा बन्दिकाले भर गरिनन् तर आखिर मैले कामबाटै आफू बदलिएको प्रमाणित गरेँ र उनको मन जितिछाडेँ । मेरो जीवन लय परिवर्तन पछि मृत्य शय्यामा पुगेको हाम्रो दाम्पत्यले ताजगी र पुनर्जीवन पायो । हामी फेरि नयाँ प्रेमी–प्रेमिकामा बदलियौं । अहिले म र मेरी पत्नी बन्दिका सुखद सेवा निवृत्त जीवन बिताइरहेका छौँ । त्यसैले हर ऋतु, हर मौसम हाम्रा लागि सुखद मधुमास भएका छन् ।
पूर्वस्मृतिमा समय निकै बितेछ । मैले निदाइरहेकी बन्दिकाको अनुहारमा हेरेँ । जीवनप्रतिको निस्सीम सुन्तष्टिमा उनको मुहार पूणचन्द्र जस्तै शीतल र प्रदीप्त थियो ।