काठमाडौं– नेपाली फिल्म ‘होरी’ विश्वकै प्रतिष्ठित मानिने इटालीको ‘टोरिनो फिल्म ल्याब (टिएफएल)’मा छनाेट भएको छ । अरुणदेव जोशीको लेखन तथा निर्देशनमा बन्ने फिल्म टोरिनो ल्याबको ‘टिएफएल नेक्स्ट– फिल्म डेभलोपमेन्ट’ कार्यक्रमअन्तर्गत समावेश हुन सफल भएको हो ।
टोरिनोको यस कार्यक्रममा विश्वभरिबाट १२ फिल्म छनाेट हुँदा दक्षिण एसियाबाट दुई फिल्म मात्र छनाेट भएका छन् । नेपालको ‘होरी’ सँगै भारतबाट सुमन सेनको ‘सोलो’ छानिएको छ । तर भारतीय फिल्मको निर्माता भने फ्रान्सेली छन् । नेपालको ‘होरी’का निर्माता सरोज शर्मा सापकोटा हुन् ।
अन्य एसियाली देशबाट चीन, ताइवान र थाइल्यान्डको एक/एक फिल्म छनाेट भएको छ । त्यस्तै ग्रिस, बेलायत, इटाली, स्पेन, नेदरल्यान्ड, जर्मनी र बेल्जियमबाट एक/एक फिल्म गरी जम्मा १२ फिल्म ‘टिएफएल नेक्स्ट– फिल्म डेभलोपमेन्ट’मा सहभागी हुँदै छन् ।
यसअघि नेपालबाट टिएफएलको ‘स्क्रिप्ट ल्याब’मा मीन भामको ‘चिसो वर्ष’ सहभागी भएको थियो ।
कहिले–कसरी हुँदै छ ?
टोरिनो ल्याबको फिल्म डेभलपमेन्ट कार्यक्रम दुई चरणमा हुनेछ । पहिलो चरण सेप्टेम्बर १४ देखि ३० सम्म हुने टिएफएलको आधिकारिक वेबसाइटमा जनाएको छ ।
यस चरणमा फिल्मको स्क्रिप्टका लागि कथावस्तुमा ‘ट्रिटमेन्ट’ हुनेछ । साथै परिपक्क स्क्रिप्ट तयार पार्न ‘स्क्रिप्ट डेभलपमेन्ट’का निश्चित प्रक्रियाहरु हुनेछन् ।
दोस्रो चरण भने अक्टोबरमा हुनेछ । जहाँ फिल्म निर्मातासँग कसरी कथावस्तु र परिकल्पना प्रस्तुत गर्ने भन्ने कार्यशाला हुनेछ । साथै केही अन्तर्राष्ट्रिय निर्माताहरुसामु सहनिर्माणको सम्भावनाका लागि फिल्मबारे प्रस्तुति दिने सेसनहरु हुनेछन् ।
कोभिड १९ का कारण यस ल्याब अनलाइनमार्फत हुने टिएफएलले जनाएको छ । यस वर्ष टिएफएलले अनलाइबाट तीन वटा फिल्म कार्यशाला गर्दै ३६ फिल्म सहभागी गराउँदै छ ।
निर्देशक भन्छन्–
‘होरी’का लेखक तथा निर्देशक अरुणदेव जोशीले नेपाली पब्लिकसँग कुरा गर्दै खुसी व्यक्त गरेका छन् । नेपाली कथावस्तु, परिवेशमा मौलिक सिनेमाको इमानदार प्रयास गरे अवसरहरु भेटिने उनको भनाइ छ ।
टोरिनोमा छनाेटको जानकारी दिँदै जोशीले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको यो अर्को अवसरका रुपमा लिएको छु । यसले सहनिर्माणका लागि प्रोड्युसरहरु, इनभेस्टरहरु भेटिने सम्भावना अझै फराकिलो बनाएको छ ।’
अरुणदेव जोशी अरु फिल्महरु
जोशीले यसअघि सर्ट फिल्महरु र डकुमेन्ट्री बनाएका छन् । उनको सर्ट फिल्म ‘कमारो’ले ‘काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)’मा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो ।
याे फिल्म थुप्रै अन्तर्राष्ट्रिय यात्रा गर्दै ‘क्विन इन्टरनेसनल फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशनको नोमिनेसनमा पनि परेको थियो । त्यस्तै भारतको ‘बोधिसत्व फिल्म फेस्टिभल’मा प्रख्यात निर्देशक गोविन्द निलहानीबाट उत्कृष्ट फिल्मको क्रिटिक्स अवार्ड ‘कमारो’ले पाएको थियो ।
उनको अर्को फिल्म ‘दियाली’ पनि ‘साउथ एसियन फिल्म फेस्टिभल’, ‘गोवा फिल्म फेस्टिभल, भारत’, बंगलादेश, स्पेनलगायतका विभिन्न फेस्टिभलहरुमा छनाेट भएको थियो ।
सन् २००९ मा जोशीको डकुमेन्ट्री ‘नओभाएका आँखा’ले अमेरिकाको न्युयोर्क इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा ‘बेट पोलिटिकल फिल्म अवार्ड’ पाएकाे थियाे ।
‘होरी’ अन्यत्र कहाँ कहाँ ?
टोरिनोभन्दा अघि ‘होरी’ मिडिया युरोपको ‘युरेपियन फिल्म डेभलपमेन्ट ल्याब–लिम’मा पनि छनोट भएको थियो । जहाँ स्क्रिप्टको पहिलो खाका तयार पारिएको थियो ।
त्यसक्रममा फ्रान्स, रुमानियालगायत देशमा कार्यशाला तथा फिल्मको परिकल्पना प्रस्तुति गरिएको थियो । त्यस्तै अन्य प्रतिष्ठित केही फिल्म फेस्टिभल अन्तर्गतको काार्यक्रमहरुमा पनि छनोट हुने सम्भावना रहेको निर्माता सापकोटाले बताए ।
निर्माता भन्छन्–
‘होरी’का निर्माता सरोज शर्मा सापकोटाले टोरिनोको यस कार्यक्रमबारे बताउँदै सहनिर्माणका लागि लगानीकर्ता खोजीको अवसर भएको बताएका छन् । उनले भने, 'यसअघि पनि होरी ‘लिम’ कार्यक्रमअन्तर्गत फ्रान्स, रुमानिया पुगेको हो । यसरी स्क्रिप्टमा राम्रो काम भइरहेको छ ।’
उनले यस्ता कार्यक्रमहरुमा छनाेट हुँदा लगानीकर्ता भेटिनेदेखि पछि फिल्म निर्माणपछि अतर्राष्ट्रिय प्रदर्शन गर्न पनि सहज हुने उल्लेख गरे ।
‘मुख्य कुरा यसले फिल्मको अझै सम्मान र प्रतिष्ठा बढ्छ, भनौं हाइप बढ्छ, जसले इन्टरनेसनल प्लाटफर्महरुसम्म पुग्न सजिलो बनाउँछ,’ उनले भने । (यहाँ निर्माता भनेर लगानीकर्ता नभई सिर्जनशील निर्माता भनिएको हो)
के छ ‘होरी’मा ?
डोटेली भाषामा बन्ने ‘होरी’को कथा सुदूरपश्चिमको दार्चुलाको परिवेशमा बुनिएको छ । फिल्मको नाम ‘होरी’ डोटेली भाषाबाट लिइएको हो । होली अर्थात् फागूलाई डोटेली भाषामा होरी भनिन्छ ।
माओवादी जनयुद्धको समयलाई लिएर त्यसको स्थानीय जनजीवनमा परेको प्रभावलाई दृश्यभाषामा परिकल्पना गरिएको छ ।
टिएफएल नेक्स्ट– फिल्म डेभलपमेन्ट के हो ?
यो फिल्म निर्माता, निर्देशकहरुको नयाँ प्रोजेक्टको सहयोगको लागि गरिने कार्यशाला कार्यक्रम हो । विश्वभरका फिल्मसम्बन्धी विचार, परिकल्पना, अवसरहरुको अभ्यास र परीक्षण गर्दै साझेदारी गर्ने थलो हो ।
तीन समूहमा हुने कार्यशालामा हरेकमा १२ फिचर फिल्मको प्रोजेक्ट छानिन्छ । अन्तर्राष्ट्रिय अनुभवप्राप्त फिल्ममेकरको साथ र परामर्शमा स्क्रिमको विस्तार विकास गरिन्छ ।
टोरिनो फिल्म ल्याबको यो कार्यक्रम परिपक्क स्क्रिप्ट तयार पार्नेदेखि लगानीकर्ताको सम्भावनाको खोजी गर्नेछ ।