काभ्रेलाञ्चोकका तीन स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बिमा गर्ने प्रक्रिया थालेका छन् ।कोरोना कहरकैबीच धुलिखेल नगरपालिका–११ स्थित कालीदेवी माध्यमिक विद्यालयले त जिल्लामै पहिलोपटक सम्पूर्ण विद्यार्थीको कोरोना बिमा शुरु गरेको छ ।
तेमाल गाउँपालिका र रोशी गाउँपालिकाले पनि आफ्ना सम्पूर्ण स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत शिक्षक तथा कर्मचारीको बिमा प्रक्रिया सुरु गरिएको जनाएको छ ।
‘भोलिसम्ममा गाउँपालिकाभित्रका सबै विद्यालयलाई त्यहाँ कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीको विवरण पठाउन भनेका छौं,’ तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले भने ।
उनका अनुसार गाउँपालिकामा सामुदायिक ४१ विद्यालयमा दुई सयभन्दा बढी शिक्षक कार्यरत छन् । गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा ६० भन्दा बढी कर्मचारी छन् ।
यस्तै, रोशी गाउँपालिकाले ६९ सामदायिक विद्यालयका स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत ३५० शिक्षकको कोरोना बिमा सुरु गरेको छ । शिक्षा शाखा प्रमुख राम तामाङका अनुसार सरकारको बिमा बजेटअन्तर्गत नै शिक्षकको निःशुल्क १ लाखको कोरोना बिमा गर्न थालिएको हो ।
‘बिमाका लागि हाल शिक्षकको विवरण सङ्कलन भइरहेको छ,’ उनले भने । उहाँका अनुसार गाउँपालिकास्थित विभिन्न कार्यालयमा कार्यरत १३९ कर्मचारीको यसअघि नै कोरोना बिमा भइसकेको छ ।
नमोबुद्ध नगरपालिकाले पनि कोरोना बिमाका लागि शिक्षकको विवरण विद्युतीय माध्यमबाट पठाउन सार्वजनिक सूचनाद्वारा सामुदायिक विद्यालयलाई अपिल गरेको छ । यसअघि सम्पूर्ण कर्मचारीको बिमा गरिसकेको नगर कार्यपालिकाले हाल शारीरिक रुपमा अशक्त नागरिकको बीमा गर्ने निर्णय गरेको जनाएको छ ।
यसैबीच, धुलिखेल नगरपालिकास्थित कालीदेवी माविले आफ्ना २२५ विद्यार्थी तथा शिक्षकको निःशुल्क कोरोना बिमा गरेको छ । प्रतिविद्यार्थी ५० हजारको कोरोना बिमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र न्यापानेले जनाए ।