काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विवाद थामिने छाँटकाट देखिएको छैन । एक महाधिवेशनबाट अर्को महाधिवेशन हुने समयमा सभापति देउवाले विभिन्न विभागका प्रमुख तोकेपछि विवाद झन् बढ्दै गएको छ ।
देउवाले एकलौटी रुपमा विभाग गठन, क्रियाशी सदस्यता वितरण र भ्रातृ संस्थाको कार्यकाल थपेका थिए ।
बुधबार र बिहीबार पनि देउवाले सूचना सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य गरी ९६ जनालाई मनोनीत गरेका छन् । जसकारण रामचन्द्र पौडेल समूह रुष्ट भएको छ ।
आज शनिबार पौडेलले आफू निकट केन्द्रीय नेताको भर्चुअल बैठक बोलाएका छन् । बैठकबाट देउवाले गरेका निर्णयहरु खारेज गराउन दबाद दिन बैठक बोलाइएको सहभागी एक नेताले बताए ।
ती नेताले भने, ‘सभापतिले एकलौटी रूपमा पार्टीका विभाग, भ्रातृ संस्था, क्रियाशील सदस्यता सूचना सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयनमा एकलौटी गरेकाले दबाब दिन बैठक बोलाएका हाैँ ।’
पौडेल समूहले देउवाले गरेका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्ने बताइएको छ ।
सहभागी अर्का सदस्यले भने, ‘सभापतिको मनोमानीका विरुद्ध केन्द्रीय कार्यसमितिबाट राजीनामा दिनेदेखि अनशन र सत्याग्रहमा बस्नेसम्मको रणनीति अपनाउनेछाैँ ।’
१७ फागुनमा देउवाले पहिलोपटक विभाग गठन गरेका थिए । जसमा ४७ वटा विभागमध्ये २० वटा विभाग गठन गरेर पूर्णता दिएका छन् । उक्त निर्णयको पौडेल पक्षले विरोध गदै ज्ञापनपत्र बुझाएका थिए ।
पार्टी निर्वाचन समितिमा पनि विभाग गठनको निर्णयविरुद्ध पार्टीमा नै उजुरी परेको छ । देउवाले एकलौटी रुपमा विभाग गठनलगायतका निर्णय गरेको भन्दै पौडेल समूहले पार्टी कार्यालय सानेपामा नै १५ साउनमा पत्रकार सम्मेलन गरेका थिए ।
पौडेल समूहले देउवाले गरेका निर्णयविरुद्ध जे जस्ता कार्यक्रम ल्याए पनि नरोकिएपछि अब भने सत्याग्रहसम्म जाने गरी निर्णय हुने जनाइएको छ ।
देउवाले विधानविपरीत गरेका निर्णयहरु केलाउन पौडेल समूहले तीन सदस्यीय समित पनि गठन गरेको छ । जसमा केन्द्रीय सदस्य गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार रहेका छन् । समितिले पनि प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा सभापति देउवालाई विधि, विधान र पद्धितिमा ल्याउनका लागि आमरण अनशनसम्म गर्नुपर्ने सुझाव दिएको छ ।
सहभागी सदस्यले भने, ‘सभापति पार्टीको विधि विधानलाई लत्याउँदै जानुभएको छ । त्यसकारण अब हामी सत्याग्रहसम्म जान्छाैँ । किनकि सुशील कोइरालाले पनि यस्तै निर्णय गर्दा देउवा अनशन र सत्याग्रहमा गएका थिए र कोइरालाले निर्णय फिर्ता लिएका थिए । हामी पनि त्यसै गर्छौं ।’
पौडेल समहूले आजको बैठकले देउवामाथि दबाब बनाउने कार्यक्रम ल्याउनेछ ।