काठमाडौँ, ३ फागुन – अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले त्रिभुवन विद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको जिकिर गरेका छन्।
नेपाली पब्लिकसँगको कुराकानिमा उनले भने, ‘काँग्रेसको कोटाबाट भिसि बन्नुभएका खनियाँले स्ववियु निर्वाचनको मिति नजिक हुँदै गर्दा समेत निर्वाचन कमिटी गठन गर्नु भएन। उहाँ विश्व विद्यालयको भिसि नभएर कांग्रेसको एक असल कार्यकर्ताको रुपमा देखिनु भएको छ । यस्ता गैर प्रवृतिका विरुद्धमा अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने छ।’
उनले अघि थपे, ‘सरकारले त्रिभुवन विश्व विद्यालयमा स्ववियु निर्वाचन गर्न निर्देशन दिई सकेको अवस्था छ। यस्तो स्थितिमा भिसिले निर्वाचनका लागि कटिबद्ध भएर लाग्नुपर्ने हो, तर त्यस्तो देखिएन।’
सत्तापक्ष विद्यार्थी संगठन अनेरास्ववियुनै निर्वाचनको पक्षमा छैन भन्ने आरोप छ नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘यो सरासर गलत हो, प्रतिपक्षकै कारण स्ववियु निर्वाचन अनिश्चित बन्दै गएको छ। तर यो वर्ष भित्र कुनै पनि हालतमा निर्वाचन सम्पन्न हुन्छ, हुनुपर्छ र गर्छौं।’
तपाइकै माउ पार्टीको सरकार छ अरुलाई दोष दिएर उम्किनु जायज हो र ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा नेता आचार्यले भने,‘बाहिर त्यो देखिएला तर अन्तर्यमा सत्य त्यो होईन, सरकारले वातावरण सिर्जना गर्ने हो । निर्देश्न दिने हो । सरकारले आफ्नो भूमिका पूरा गरिसकेको छ । निर्वाचन गर्ने काम त्रिविको हो । त्यसको नेतृत्वमा रहेका भिसिको हो।’
उनले अघि थपे,‘स्ववियु निर्वाचनबाट कोही नभागौं, आरोप प्रत्यारोप नगरौं, समयमा निर्वाचन गरौं, समृद्धिको अभियानमा जुटौं, अधिकारहरुको सदुपयोग गरौं, शैक्षिक एजेण्डाहरुलाई मुर्तरुप दिनको लागि पनि स्ववियु निर्वाचन आवश्यक छ।’
त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ। चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ। तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन।
दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन। आरोप प्रत्यारोपमै समय खेर फाल्ने काम भइरहेको छ।
ठूला विद्यार्थी संगठनले औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनुपर्ने बताउँदै आएका छन्। त्रिविले ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको थियो । त्यसका लागि त्रिविले शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ।
विद्यार्थी कल्याण निर्देशनालयबाट शिक्षाध्यक्षसहित हुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म निर्वाचन समितिको नाम सिफारिस भएको छ। तर, झन्डै दुई हप्ताअघि सिफारिस पुगे पनि खनियाँले समितिको निर्णय गरेका छैनन् ।
समिति नबन्दा निर्वाचनको घोषणा भएको छैन । स्ववियुनियममा शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन कमिटी बन्ने व्यवस्था छ।शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले निर्वाचन समिति नबनेको र विभिन्न पक्षबाट भएका गतिविधिले स्ववियु चुनावको सम्भावना टर्दै गएको बताइन्।
त्रिपाठीले भनिन् ‘फागुन १४ मा स्ववियु चुनाव गर्ने गरी शैक्षिक क्यालेन्डर बनायौँ, अहिलेसम्म निर्वाचन समितिसमेत घोषणा भएको छैन। यो महिनामा हुन नसके परीक्षालगायत कारणले स्ववियु चुनाव गर्न सक्ने अवस्था छैन।’
यो पनि पढ्नुहोस्