प्रदेश ५ रुपन्देही जिल्लाको सीमावर्ती नगरपालिका सैनामैनामा कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण बढिरहेको छ । यद्यपि कारोना संक्रमण नियन्त्रणमा सरकारको मापदण्डलाई अपनाउँदै नगरको विकास गतिविधि चालु राखिएको छ । संक्रमणको अवस्था र विकासको गतिविधि सन्दर्भमा नेपाली पब्लिककी शकुन्तला जोशीले नगरपालिका प्रमुख चित्रबहादुर कार्कीसँग गरेको अन्तर्वार्ता
० सैनामैना नगरपालिकाको संक्रमणको अवस्था के छ ? व्यवस्थापन कसरी गर्नुभएको छ ?
अघिल्लो लकडाउनको बेला नगरपालिकाले पाँचओटा क्वारेन्टिन र आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । संक्रमितको संख्या घटेसँगै हटाएका थियाैँ । सीमावर्ती जिल्ला भएका कारण लकडाउन खोलिएपछि संक्रमित बढ्याे । अहिले नपाबाट वडा नं. १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको ओपिडीमा सञ्चालित ४० जनाका लागि क्वारेन्टिन र ६० जना क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा छन् । त्यहाँ खानाबस्नको व्यवस्था नगरपालिकाबाटै गरिएको छ ।
केही होम क्वारेन्टिनमा पनि हुनुहुन्छ । गत हप्ता ११ जना संक्रमित फेला पर्नुभएको छ । त्यसमध्ये एक जना ५० वर्ष हाराहारी उमेरकी महिलाको दुःखद मृत्यु भएको छ । तर उहाँलाई टाइफाइड भएको रहेछ । मृत्यु भएपछि पछिको स्वाब परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको हो । अन्य १० जना ठीकठाक हुनुहुन्छ । क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने नगरबासी हाम्रो स्वास्थ्य टिमको निगरानी तथा रेखदेखमा हुनुुहुन्छ ।
० उपचारकाे अवस्था कस्तो छ ?
हाम्रो आइसोलेसनमा हाम्रो स्वास्थ्यकर्मीको समूहले सिफ्टअनुसार २४ घण्टै सेवाप्रवाह गरिरहेकाे छ । सिरियस केसको हकमा बुटवल वा काठमाडौं पठाउँछौं । यसभन्दा अघि दुई जनालाई पठाइएकामा उहाँहरु निको भएर फर्कनुभयो । हिजो टाइफाइड बिग्रेर एक महिला बित्नुभएको हो, उहाँलाई कोरोना संक्रमण भनेर आशंका पनि गरिएको थिएन, पछि स्वाबमा पोजेटिभ आयो भन्ने कुरा भयो ।
० यसबीच विकास निर्माणको गतिविधिमा कस्तो असर पुगेको छ ?
हामीले नगरभित्र राज्यले तय गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विकास गतिविधिलाई अघि बढाएका छौं । यी काममा हामीले नगरपालिकाभित्रैका स्थानीय मजदुर मात्रै प्रयोग गरेका छौं । अलिक ठूला योजनामा आवासीय मजदुरको व्यवस्था गरिएको छ । त्यसमा औद्योगिक ग्राम, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ । करिब २ करोड रुपैयाँभन्दा बढीको बजेटबाट नगरपालिकाभरिका सडक स्तरोन्नति कार्य एक/दुई दिन भित्रैमा सुरु गर्दै छौं ।
१४ करोड रुपैयाँ बजेटको ‘रिफ्रेसमेन्ट सेन्टर निर्माण कार्य पनि जारी छ । प्रदेश सरकारको सहयोगमा निर्माणाधीन उक्त सेन्टर फ्युल, चार्जिङ स्टेसन, यात्रु रिफ्रेसमेन्ट लिने ठाउँलगायत सुविधासहितको हुनेछ । विद्युत् सब स्टेसन निर्माणको काम पनि भइरहेको छ । फोहोरमैला व्यवस्थापन त नियमित छ । विभिन्न वडामा पाँचओटा स्वास्थ्य चौकी भवन, सातओटा वडा कार्यालय भवन पनि बन्दै छन् । ट्राफिक कार्यालय, सामुदायिक तथा विद्यालय भवनका अधुरा कामा चालु छन् ।
संघीय र प्रादेशिक सरकारबाट स्वीकृत बहुवर्षीय योजनामा सालबसाली ठेक्का निकालिएको थियो, असार मसान्तमा फ्रिज भएको बजेट परिचालनका लागि म्याद थप्न संघीय सरकार, अर्थ मन्त्रालयमा निवेदन गरिएको छ । केही दिनमा उक्त कामको स्वीकृत भएर आउने सम्भावना छ, आएको खण्डमा करिब ५ करोड रुपैयाँका उक्त काम पनि सुरु हुनेछ ।
निर्माण व्यवसायीहरुले मजदुरका लागि आवासीय व्यवस्था मिलाउनुभएको छ । ती मजदुर स्वास्थ्य जाँच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ । वडामा भएका आधारभूत स्वास्थ्य चौकीबाट पनि हेर्न सकिन्छ । समुदायमा सम्पर्क नगरी त्यसरी काम गर्ने ठाउँ एक प्रकारले आइसोलेसनसरह सुरक्षित छ । यसरी हाम्रो नगरपालिकामा कोरोना संक्रमणका चुनौतीसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकास निर्माणका काम पनि सँगसँगै अघि बढाइरहेका छौं ।
सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । अबका दिनमा नगरबासीलाई सचेत भएर गतिविधि गर्नुहुन म अपिल पनि गर्छु ।
यहाँ कृषि क्षेत्रमा निर्बाध रुपमै काम भइरहेको छ । आफ्नो खेतबारीमा परिवारकै सदस्यले गर्ने काम पनि अर्को आइसोलेसन नै हो । त्यसबाहेकका अन्य कार्य पनि अघि बढाउनुपर्ने हुन्छ । होइन भने अब पैसा नभएकाहरु यसै भोकले मर्छन्, पैसा हुनेहरु पनि बिना उत्पादन के खाएर बाँच्ने ?
० भनेपछि राहत दिनुपर्ने अवस्थामा जनता छैनन् ?
अहिलेसम्म त्यस्तो देखिएको छैन । त्यस्तो अवस्था आएमा स्वास्थ्य परीक्षण गरेर काम दिने हो । कोही अप्ठ्यारोमै परेकालाई नगरपालिकाले सहयोग गर्ने व्यवस्था गरेको छ । अहिले निजी क्षेत्र आफैं संकटमा भएको बेला सहयोग मागिरहनु पनि सम्भव छैन । उसको आफ्नो क्षमताले दिन सक्ने यसअघि नै दिइसक्यो । त्यसकारण जनतालाई सुरक्षित ढंगले काम दिने, लगाउने नै उपयुक्त विधि हो । यसो गरेर अब आर्थिक गतिविधीलाई अघि बढाउनुको विकल्प छैन । होइन भने आउने दिन रोगले भन्दा भोकले नै भयावह हुने देखिन्छ ।
रुपन्देहीको अरु नगरपालिकाका मेयरको कुरा पनि सुनौं
सुरक्षित तवरले विकासका काम जारी छ - सैनामैना नगरपालिका
लकडाउनकै बेला एक हजार श्रमिक रोजगारमा- तिलोतमा नगरपालिका
अब कोरोनाबाट माथि उठ्न नयाँ मेकानिजम जरुरी छ- देवदह नगरपालिका