येंया अर्थात् इन्द्रजात्रा, मेरो सबैभन्दा प्रिय चाड ।
इन्द्रजात्रा भन्नेबित्तिकै मेराे सम्झनामा आउनुहुन्छ, मेरो बाज्या (हजुरबुबा) । सम्झन्छु, बाज्याको हात समाउँदै लाखेको पछि पछि कुदेको । अनि सम्झन्छु, ‘धिमे सिक्ने ठाउँमा लगिदेऊ, अनि म पनि पुलुकिसीसँगै धिमे बजाएर जात्रामा जान्छु’ भनेर बालाई घुर्की लगाएको ।
सानो निनी (फूपू) भक्तपुरदेखि जात्रा हेर्न आइपुग्नुहुँदा बा यति हर्षविभोर हुने कि जसरी भए पनि गच्छेअनुसार समयबजी भ्वय् तयार गरेको सम्झन्छु । गणेश, भैरव र कुमारी भगवानको एक झलक दर्शन पाउन अजीले दलुचाःमा बत्ती बालेर कुरेको अनि हामी बच्चापाटी चाहिँ बरन्डाबाट खस्ला जस्तो गरी उफ्रेको सम्झन्छु । जात्रा सकिएपछि मेरो मनको साथी राबेन बिदेसिएको सम्झन्छु ।
'ला छकु वय्कः समयबजी, वल वल पुलुकिसी' भन्दै गीत गाउँदै थायमरु दबुमा दि प्याखँ हेरेको अनि फरक–फरक भगवानका पात्र, संगीत, हाउभाउ, बाजागाजामा मग्न भएको, राति फेरि बाज्यासित नवदुर्गा प्याखँ हेर्न गएको, दशअवतार हेर्न गएको, दाँगीलाई कुरेको अनि पृथ्वीनारायण शाहले यही दिनमा काठमाडौंमा हमला गरेको इतिहास सम्झन्छु । इन्द्रजात्राभरि मलाई असाध्यै असाध्यै राम्रो अनौठो लाग्ने भनेको श्वेतभैरवको स्वरुप, कथा र महिमा हो ।
म सानो छँदा हाम्रो ठूलो परिवार थियाे, बाज्या (हजुरबा), अजी (हजुरमा), बा, तबा (ठूलो बा), अनि हामी नौ जना बच्चाहरु । बाज्या सुनचाँदीको चुरामा बुट्टा कोर्ने काम गर्नुहुन्थ्यो । घरमा ज्यासः (आजभोलिको भाषामा स्टुडियो) थियो । हरेक साँझ बाज्याको काम सकिएपछि हामी बाज्याःलाई चारैतिरबाट घेर्थ्याैँ, म र भाइ भने बाज्याको काखमा हानथाप गर्दै बस्थ्यौं । अनि एउटै अनुरोध हुन्थ्यो, बाज्याले कथा भन्ने, ‘बाज्या बाज्या कथा धाले ।'
यो कथा त्यतिबेलाको हो, जब मानिसले आफ्नो विद्याशक्तिको प्रयोग गरी देवीदेवताहरुसँग भलाकुसारी सजिलै गर्न सक्थे । जहाँ तन्त्र साधनाद्वारा टाइम ट्राभल, मल्टिडाइमेन्सन्स, टेलिपोर्टेसन आदि अभ्यास गरिन्थ्यो ।
मेरा बाज्याःले सुनाउनुभएका कथा सत्य हुनैपर्छ भन्ने केही छैन । तर यो विज्ञानले प्रमाणित गरिनसकेका र अध्ययन गर्न बाँकी थुप्रै विषय छन् भन्ने विज्ञानले स्विकारेको छ । अब कथा सुरु हुन्छ–
स्थान : नेपाल मण्डल
पहिलो कथा : फूलचोर इन्द्र
धेरै पहिले पारिजात फूलको खोजीमा स्वर्गका राजा इन्द्र मान्छेको भेष लिएर तत्कालीन नेपाः (अहिलेको काठमाडौं) आएछन् र मरुहिटीमा कसैको बगैंचाबाट फूल टिपेछन् । बगैंचा धनीसँग नसोधी फूल टिपेका फूल चोर इन्द्रलाई समातेर सबैले देख्ने गरी मूल चोकमा पाता कसेर राखेछन् ।
- मलाई घत परेको चाहिँ दाँगीको इन्द्रप्रतिको माया हो । आखिर जुनसुकै स्वरुपमा होस्, आमाको माया जस्तो पवित्र र अमूल्य अरु के होला ?
थुप्रै दिन बितिसक्दा पनि इन्द्र नफर्केपछि उनकी आमा दाँगी पृथ्वीलोकमा छोरालाई ‘रेस्क्यु गर्न आइछन् । फूल चोर स्वर्गका राजा भएको र उनलाई सजायमुक्त गर्न अनुरोध गरिछन् । बदलामा समृद्ध बालीनालीका निम्ति वर्षायाममा प्रशस्त वर्षा र हिउँदमा प्रशस्त मात्रामा शीत उपलब्ध गराउने र देहावसान भइसकेका स्थानीय पित्तृहरुलाई दाँगीले आफूसँगै वैतर्णी नदी तर्न सहयोग गर्ने वाचा भएछ ।भनिछन्, ‘जजसले मलाई छुन्छन्, उनीहरुका पित्तृ मसितै वैतर्णी नदी तर्नेछन् ।'
उता इन्द्रका वाहन ऐरावत हात्ती भने इन्द्रको खोजीमा सहरभरि डुलेका हुन्छन् । सोही ऐरावतको प्रतीक पुलुकिसी हो ।
यसरी चाहे रङ्क होस् वा राजा, दोषीलाई सजाय र न्याय व्यवस्था भनेको सबैलाई बराबरी हुन्छ भन्ने दिनको सम्झनामा इन्द्रजात्रा मनाउन थालियो । मलाई घत परेको चाहिँ दाँगीको इन्द्रप्रतिको माया हो । आखिर जुनसुकै स्वरुपमा होस्, आमाको माया जस्तो पवित्र र अमूल्य अरु के होला ?
दोस्रो कथा : हाइड एन्ड सिक
पहिले पहिले मल्ल राजाहरु आफ्नो कुलदेवी तलेजु भवानीसँग पासा खेल्थे । तलेजु भवानीले आफ्नो स्वरुप दर्शन नदिने सर्तमा पासा खेल्थे । जब तलेजु भवानी र राजा पासा खेल्थे, तीबीच अपारदर्शी पर्दा पर्खालका रुपमा हुन्थ्यो । राजाले तलेजु भवानीको दुई हात मात्र देख्थे । एकदिन पासा खेल्दै गर्दा राजाले मनमनै सोचेछन्, ‘यत्ति राम्रा हात भएकी तलेजु भवानीको वास्तविक स्वरुप, रुपरंग झन् कति सुन्दर होला ।'
राजाको मिथ्या दृष्टिसँगै तलेजु भवानी त्यहीँको त्यहीँ ‘हाइड’ भइन् र त्यसपछिका दिनहरुमा पासा खेल्ने क्रम रोकियो ।
- यसरी राजा र तलेजु भवानीको ‘हाइड एन्ड सिक गेम’ चलेछ तर राजाले कहिल्यै भेट्न सकेनछन् ।
राजाले कुलदेवी तलेजु भवानीसमक्ष क्षमा पूजा गरे, लाख बिन्तीभाउ गरे । पछि तलेजु भवानीले आफू त्यस राज्यको आमनागरिक, बालिकाको स्वरुपमा आउने बताइछिन् । त्यसपछि राजाले एक जना बच्चीको स्वरुपमा रहेकी तलेजु भवानीको ‘खोजीमा सेनालाई राज्यभरि परिचालन गरेछन् ।
एक दिन एउटा ज्यासः मा सुन तोलमोल गर्ने क्रममा ज्यासः साहुका छोरीको असाधारण तीक्ष्णता, तर्कशक्ति, बुद्धि र न्यायप्रेमी स्वभाव देखेर तैनाथ सेनाहरुले उक्त बच्ची नै तलेजु भवानी हुन सक्ने ठहर गरी बच्चीलाई दरबार लगेछन् । कता बसाउने, के गर्ने अलमलमा परी दरबारको मूल ढोकाको छेउमै एउटा चकटीमा बच्चीलाई बसाइ खबर सुनाउन राजाकहाँ गएछन् ।
तर दरबारमा बच्चीको स्वरुपमा आएकी तलेजु भवानीलाई आवश्यक सौहार्दपूर्ण व्यवहार नगरेकाले तलेजु भवानी सोही स्थानबाट फेरि ‘हाइड’ भइछिन् । यसरी राजा र तलेजु भवानीको ‘हाइड एन्ड सिक गेम’ चलेछ तर राजाले कहिल्यै भेट्न सकेनछन् ।
शाक्य कुलकी ती बच्चीको स्वरुपमा तलेजु भवानी नै भएको मानिएछ । सोही दिनदेखि राजाले शाक्य कुलबाटै ३२ लक्षणले युक्त बच्चीलाई तलेजु भवानीको प्रतीकात्मक रुपमा कुमारी देवी भनी पूजाआराधना र बर्सेनि जात्रा गर्न सुरु गरे । तसर्थ, कुमारी रथयात्रा नारीशक्ति वा देवी पूजाको प्रतीक हो ।
कथाभित्र म
म यो कथाबाट यति धेरै प्रभावित थिएँ कि म पनि कुमारी जस्तै हुन्छु भनेर सोच्थें । त्यसैले चर्या सिक्न लालायित भएँ । सानैदेखि हजुरबा, बाले मेरो गणकुमारी हो भन्नुहुन्थ्यो, सायद त्यही भएर होला, कुमारी नृत्यमा यसरी मन बसेको थियो कि मानौं म साँच्चै नै त्यो अदृश्य शक्ति अदृश्य पदार्थ, अदृश्य ब्रह्माण्डको एक हिस्सा हुँ र साँच्चै कुमारीको स्वरुप धारण गरेकी हुन्छु । तर के भने जीवित देवी कुमारीको कथा र चर्या नृत्यमा गरिने अष्टमात्रिकाअन्तर्गतको देवी कुमारीको कथा बिलकुलै अलग छ । उनीहरु दुवै फरक फरक कुमारी हुन् ।
तेस्रो कथा : श्वेतभैरव
त्यतिबेला इन्द्रजात्रा यति धुमधामसँग मनाइन्थ्याे कि जात्रा हेर्नकै लागि देवताहरु पनि मनुष्य भेषमा पृथ्वीकाे भ्रमण गर्थे । श्वेतभैरव पनि मनुष्य भेषमा जात्राको मजा लिँदै थिए । जात्रामा आम मान्छेहरुको हुलमा श्वेतभैरव बिछट्टै फरक र अग्लो देखिन्थे ।
यस्तैमा हुलमध्येकै गुभाजुहरुले उनी आम मान्छे नभई स्वयम् श्वेतभैरव भएको थाहा पाएपछि मनुष्य भेषका श्वेतभैरवलाई मन्त्रद्वारा समात्न खोजेछन् । कतै भाग्ने उपाय नदेखेपछि श्वेतभैरव जमिनमा धसिँदै गएछन् । गुभाजूहरुले पनि श्वेतभैरव जमिनमा विलय हुनुपूर्व नै उनको शिर दहन गरी प्रतिस्थापन गरेछन् ।
यसरी, इन्द्रजात्रा केवल इन्द्रको कथा होइन । यसभित्र फरक–फरक पात्रले आ–आफ्नो कथा फरक फरक शैली र मञ्चमा मञ्चन गरिरहेका हुन्छन् ।
जन्मिँदा पत्तो नभएको कुरा
म जन्मिँदा म नेपाली हुँ भन्ने थाहा थिएन । मलाई नेपालभाषा वा नेवार भन्ने पनि थाहा थिएन । मलाई गुँला, येंया, मोहनी, स्वन्ति, करुणामय भन्ने थाहा थियो । यिनै चाडपर्व, दैनिक संस्कार–व्यवहार र जात्राले घर, परिवार, धर्म, परम्परा, देश, विश्व भन्ने चिनायो ।
अझ मलाई लाग्छ, मेरा बाज्याःले मलाई साँचो अर्थमा मान्छे, नेवारी वा नेपाली हुन सिकाउनुभयो । त्यसैले इन्द्रजात्रा पहिचान, संस्कृति र सभ्यता मात्र होइन, यो त मेरा बाज्याः, अजी, बा र मेरो पुस्तालाई जोड्ने कडी हो । जहाँ कुनै गुगल वा विकिपेडियामा ‘जेनेरेसन ग्याप’ कम गर्ने उपाय खोज्नुपर्ने आवश्यकता हुँदैन ।
अझ इमानदार भएर भन्नुपर्दा ‘हेलोइन’मा रम्ने आजको पुस्तामा मलाई भने गठामुँग, सिथिनखः, येंया आदि नै विशेष लाग्छ ।
कोभिड–१९ को समयमा यो वर्ष इन्द्र जात्रा पहिले पहिले जस्तो विशेष भएन । तर इन्द्रजात्रा विशेष नहुनु पनि ‘विशेष कुरा’ हो । येंया पुन्हिया भिन्तुना, इन्द्रजात्राको शुभकामना ।
(लेखक रङ्गकर्मी, सञ्चारकर्मी तथा सगरमाथा आरोही हुन् । )