भनिन्छ वर्गीय साइनो रगतको भन्दा गाढा र दिगो हुन्छ । प्रजातान्त्रिक खोल ओडेको भारत सरकारले त्यहाँका प्रगतिशील बुद्धिजीवी लेखक, कलाकारलाई आफ्नो जेलमा बन्धक बनाएको छ । ८१ वर्षका वृद्ध कवि बरबर राव, लेखक गौतम नवला, प्राध्यापक जे.एन.साइबाबालाई सरकारले नागपुरको जेलमा राखेको छ । साइबाबा शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ भने कवि रावलाई कोभिड १९ को संक्रमण देखिएको छ रे । जेलमा उहाँको रेखदेख भइरहेको छैन ।
शासकहरु कति कठोर हृदय र कमजोर दिमाग हुन्छन्, उहाँहरुको अवस्थालाई हेरे पुग्छ । विश्वसामु आफूलाई प्रजातन्त्रको हिमायती देखाउने शासकवर्ग आफ्नै देशका बुढा, शारीरिक रुपमा अशक्त लेखक, बुद्धिजीवीसँग डराइरहेको छ । सन् १९९८ तिरको कुरा, नेपालमा जनयुद्ध चलिरहेको बेला म ‘इन्टरनेशल सोलिडारिटी फोरम अफ नेपाल’ को संयोजकका रुपमा नयाँ दिल्लीमा कार्यरत थिएँ ।
त्यसबेला नेपालको आन्दोलनलाई सहयोग गर्ने प्रा.साइबाबा, लेखक नवलखासहित थुप्रै मित्रहरुलाई आज पनि सम्झन्छु । त्यस बेला आनन्दस्वरुप बर्मा, प्रशान्त झा, सुदन भदौरिया, अजित झा, प्रशान्त भूषण, सिताराम यचुरी, डी.वी. त्रिपाठी, पि.के. शाही, डा.अपर्ण, रोना, डा.आनन्द कुमार, डा.कमलमित्र चिनोही, प्रा.मनोरञ्जन महन्ती, अनुतोष मिश्रा, मनिष सिसोदिया, योगेन्द्र शर्मा लगायतका थुप्रै बुद्धिजिवी, पत्रकार, वकिलसँगै काम ग¥यौँ, सँगै खायौँ, सँगै नाच्यौँ । अनेक मुद्धामा चर्को स्वरमा बहस ग¥यौँ । तर नेपालको राजतन्त्र अन्त्यको आन्दोलनमा सबैको एक्यबद्धता रह्यो ।
- हिजो जनयुद्ध लडेको र त्यो बेला सङ्घर्षमा सहयोग गर्ने साथीहरूप्रति सरकारमा रहँदा पनि एकशब्द नबोल्नु गज्जबको बिडम्बना छ हैन त ?
भारतका नक्कली प्रजातन्त्रवादी सरकारले मलाई सन् २००१ सेप्टेम्बर ७ मा दिल्लीमा गिरफ्तारी गरी रातैरात नेपालमा शेरबहादुर देउवाको सरकारलाई सुुपुर्दगी ग¥यो । सीपीआई, सीपीएम लगायत कम्युनिस्ट पार्टी, अन्य कम्युनिस्ट साथीहरु, स्वतन्त्र बुद्धिजीवि सहित कांग्रेस–आईसँग मेरो राम्रो सम्बन्ध थियो । मेरो गिरफ्तारीलाई लिएर उहाँहरुमार्फत् त्यतिबेला भारतको संसद अवरुद्ध भयो । साथीहरुले बाहिर ठूलो आन्दोलन गरे, अदालतमा मुद्दाहरू दायर गरे । तत्कालिन शाही सरकारलाई मलाई सार्वजनिक गर्न बाध्य पार्न साथीहरूले राजतन्त्र अन्त्यमा ठूलो भुमिका खेले । तिनै अधिकांश साथीहरुलाई प्रजातन्त्रको मशिहा ठान्ने भारत सरकारले अहिले जेलमा बन्दी बनाएको छ ।
त्यहाँको सरकार कवि बरवर राव जस्ता न्यायप्रेमी योद्धालाई जेलमा राखेर एउटा स्मारक बनाउन उद्धत छ । साइबाबा जेलभित्र ह्विलचेयर कुन हालतमा होलान् ? कसले हेरचाह ग¥यो होला ? प्रिय साथीहरु ! तपाईंहरूको स्वास्थ्य र जीवनप्रति नै चिन्ता लागेको छ । त्यो ढोंगी सरकारको क्रुरताले तपाईंहरुले पाउनु भएको बेतुकको जेल यातना, आजीवन कारावास कतै मृत्यु सजायमा परिणत त हुने होइन ? आशंकाले मन चिसो हुन्छ ।
तपार्इंहरूप्रति कलम चलाउने भारतका जेल बाहिर रहेका साथीहरू त्यो बेला रोल्पा आउनुभयो । न्यायप्रेमी साथीहरु जनयुद्धको हाम्रो आधारभूमी घुम्न आउनु भएको कुराले मलाई त्यो निकै गर्व लागेको थियो । परिस्थितिले कोल्टे फेरेको छ । अहिले रोल्पाली भुमिबाट जनयुद्ध लडेको पार्टी तपाईहरुप्रति बेखबर छ । हिजो जनयुद्ध लडेको र त्यो बेला सङ्घर्षमा सहयोग गर्ने साथीहरूप्रति सरकारमा रहँदा पनि एकशब्द नबोल्नु गज्जबको बिडम्बना छ हैन त ? तैपनि म तपाईंहरूका रिहाइको माग गर्दै असल स्वास्थ्यको कामना गर्दछु ।
यसबीच अचानक मैले अरुन्धती रायले अङ्ग्रेजीमा लेखेको पत्र पढ्न पाएँ, (नेपाली अनुवाद नेपाली पब्लिकमा प्रकाशित भएको थियो, पढ्न क्लिक गर्न सक्नुहुन्छ) तपाईंको स्नेहले मन थाम्न सकिनँ ।
म हापुरेको वार्तामा जेलबाट छुटेको थाहा पाएर गौतम नवलाखा दिल्लीबाट पदमरत्न तुलाधारका सम्पर्कबाट काठमाडौँ आएर मलाई हिमालयन होटल भेटेको सम्झन्छु । जेएन साइबाबाले बनाएको अचारसँगै खाना खाएको मेरो मानसपटलमा घुमिरहेको छ ।
जे होस्, नेपालको वर्ग सङ्घर्षमा वहाँहरू मात्र नभएर त्यतिबेला सत्ताबाहिरका पार्टीको पनि भूमिका नगण्य मान्न सकिँदैन । त्यसमध्ये प्रा.एसडी मुनी पनि एक पात्र हुन् । तपाईंहरूको भौतिक जीवनको सुरक्षाको अहिले कुनै ग्यारेन्टी छैन, उनीहरू कुनै पनि बहानामा हत्यासम्म गर्छन् कि भन्ने शंका लागेको छ । आत्मबल बढाउनुहोस् ! तपाईं आतंकवादी पनि होइन, अपराधी होइन, प्रगतिशील पंक्तिमा उभिन तयार तपाई न्यायप्रेमी जनताका माझ सधैँ उच्च सम्मानका साथ रहनु हुनेछ । यो सत्य हो, क्रान्तिकारी बुद्धिजीवी बन्नु कुनै अपराध होइन ।
- के प्रगतिवादी पक्षमा गीत गाउनु, साहित्य रचना गर्नु, कमल चलाउनु अपराध हो ? जेलमा बस्दा पत्रपत्रिका पढ्न प्रतिबन्ध लगाउनु, किताब पढ्न प्रतिबन्ध लगाउनु, आफ्नो विश्वासिलो खोरभित्र राख्दा पनि त्यो सत्तालाई आफैंप्रति विश्वास नहुनु होइन र ?
कतिपय सत्ताको पिछलग्गुहरु प्रजातन्त्रको खोल ओढेर ‘क्रान्ति’लाई हाउगुजी बनाउने गरिरहेका छन् । त्यस्ता प्रवृत्तिकै कारण क्रान्तिलाई नैतिक समर्थन गर्ने तपाईजस्ता स्वाभिमानी जेलमा यातना खेप्न वाध्य हुनुहुन्छ । यिनीहरूले समाजको द्वन्द्ववादी विकासलाई सिद्धान्त र विकासको रूपमा बुझेका छैनन् । क्रान्ति भनेको मानव समाजको विकासक्रममा उपल्लो किसिमको फड्को हो ।
बुद्धिजीवीलाई प्रगतिवादी मानव समुदायको विवेकको भण्डार मान्ने बित्तिकै यी दुवै बिच अन्योन्यास्रित सम्बन्ध खुट्याउन गाह्रोे पर्दैन । विवेकले नै मानव जातिलाई अन्य श्रमका लागि तयार पारेझैं समाजमा द्वन्द्वात्मक शक्तिहरूको अन्तर्मिलनले बुद्धिको सिर्जना गर्छ । त्यसले बुद्धिजिवीको थप बौद्धिक श्रमको उत्पादन लगानीले सामाजिक द्वन्द्वात्मक प्रक्रियालाई तिव्र गति प्रदान गर्छ । मानव समाज गतिशील भएकोले त्यसका प्रत्येक ऐतिहासिक खुड्किलाहरूमा विद्यमान उत्पादन प्रणालीको स्तरअनुसार बेग्लाबेग्लै अन्तरविरोधको द्वन्द्व चलिरहन्छ । अविरल रूपमा मात्रात्मक परिवर्तन भइरहने सामाजिक परिपाटीले गुणात्मक फड्को तबमात्र मार्छ, जब तत्कालीन प्रमुख अन्तरविरोधात्मक शक्तिहरू मध्ये एक प्रगतिवादी पक्ष र अर्को यथास्थितिवादी पक्षमाथि निर्णयात्मक विजय प्राप्त गर्छ ।
के प्रगतिवादी पक्षमा गीत गाउनु, साहित्य रचना गर्नु, कमल चलाउनु अपराध हो ? जेलमा बस्दा पत्रपत्रिका पढ्न प्रतिबन्ध लगाउनु, किताब पढ्न प्रतिबन्ध लगाउनु, आफ्नो विश्वासिलो खोरभित्र राख्दा पनि त्यो सत्तालाई आफैंप्रति विश्वास नहुनु होइन र ? अनि यसलाई प्रजातन्त्र भन्नेहरू त्यति नै मुर्ख हुन् । थुप्रै प्रश्नहरू उठ्ने गरेका छन् समाजमा । म स्वयम् जेल परेकोले यो अनुभूति गरेको छु ।
एकाथरी कथित बुद्धिजिवीहरुको बुझाईमा जस्तो क्रान्तिलाई मारकाट, रक्तपात, प्रजातन्त्र विरोधी विध्वंश मात्र भएको व्याख्या गर्नु गलत हो । गुणात्मक परिवर्तनको संघार नै क्रान्ति हो र समाजभित्र भएका अन्तरविरोधको समाधान पनि । श्रमजीवि बुद्धिजीवीहरू प्रगतिशील पक्षको वकालत गर्छन्, जुन संसार भर देखापरेको विज्ञानको नियम हो । तर श्रमजीवि ‘मेहनतकश’ जस्ता शब्द सुन्ने बित्तिकै कतिपय सत्ताका वरपर रहेका बुद्धिजीवीले लुगामा पिसाब नै गर्छन् र अनर्थ लगाउँछन् । किनकी हाम्रो संस्कारले हामीलाई श्रम र बुद्धि अन्तरविरोधात्मक गुण हुन् भन्ने सिकाएको छ ।
- शारीरिक अपाङ्गता भएका यस्ता बुद्धिजिवी प्रा.जेएन साइबाबा, अर्का बुद्धिजीवी, कलाकार, कवि ८१ वर्षे बरबर रावलाई जेल राख्नु, उहाँहरुलाई पत्रपत्रिका, किताबसम्म पढ्न नदिने जस्ता गतिविधि हेर्दा लाग्छ, बौद्धिक शक्तिसँग शासक वर्ग कति डराउँछ भन्ने बुझिन्छ ।
यथार्थ त्यो होइन, श्रमले उत्पादनशील मेहनतको आम अर्थ जनाउँछ भने बुद्धि श्रमबाट उत्पन्न चेतना हो । यसकारण बौद्धिक श्रम विशेष किसिमको श्रम हो । फेरी श्रम नै उत्पादनको सारतत्व हो । यिनी दुवै खाले संकीर्ण अतिवादी सोँचाइको प्रभाव स्वरूप श्रम भन्ने बित्तिकै हात खुट्टाले गर्ने श्रमलाई मात्रै लिन गर्छौं । मगजबाट गर्ने श्रम बिर्सिदिन्छाँै ।
यसरी समाज रूपान्तरण गरिने साहित्यकलालगायत सिर्जनाको बौद्धिक कर्मबाट उत्सर्जित प्रगतिवादी गुणात्मक परिवर्तनलाई बदनाम गर्ने प्रयास भएका छन् । यस्तो बौद्धिक अभ्यासलाई ‘आतंकवाद’को हाउगुजी बनाउँदै क्रान्तिबारे सर्वसाधारण मजदुर किसान वर्गमा भ्रम पार्ने काम भएको छ । वस्तुवादी ढङ्गले यथार्थको सही मूल्याङ्कन गर्ने क्षमताको विकास गर्नु श्रमजीवी बुद्धिजिवीहरूका निम्ति आज पनि विशेष महत्व छ ।
खासगरी जेनएन साइबाबा र मबीच यिनै गम्भिर मुद्धाहरुमा बहस चलिरहन्थे । यस्ता शारीरिक अपाङ्गता भएका यस्ता बुद्धिजिवी प्रा.जेएन साइबाबा, अर्का बुद्धिजीवी, कलाकार, कवि ८१ वर्षे बरबर रावलाई जेल राख्नु, उहाँहरुलाई पत्रपत्रिका, किताबसम्म पढ्न नदिने जस्ता गतिविधि हेर्दा लाग्छ, बौद्धिक शक्तिसँग शासक वर्ग कति डराउँछ भन्ने बुझिन्छ । भारत सरकारले उहाँहरुलाई मानवीय नाताले पनि तुरुन्त रिहा गर्नुपर्छ ।
अन्त्यमा नेपालको वर्ग सङ्घर्षको सहयोगको लागि अहोरात्र खट्ने र ऐक्यबद्धता प्रदर्शन गर्ने मेरा मित्रहरू प्रा.जेएन साइबाबा, गौतम नवलखा, कवि वरवर राव, तपाईंहरुलाई जेलको कोठरीमा बन्द गरेपनि तपाईहरुका विचार फलामे बारले छेक्न सक्दैन । कतै नेपालका शासकहरूले कैयौँ होनहार नागरिकलाई गरेको हत्या जस्तै तपाईंहरूलाई पनि आत्मरक्षाको लागि बन्दुक खोसेर भाग्या भनेर ‘विकास दुवे’ बनाउँदै हत्या गर्ने त होइनन् ? शंका लागेको छ । जेलभित्र भएपनि तपाईंहरूका विचार, साहित्य सिर्जना भारतका लाखौँ, करोडौँ जनताका बीचमा गुन्जिरहेको छ । स्वास्थ्यको ख्याल राख्दै उच्च मनोबल राख्नुहोला, अवश्य विजय तपाईंहरूको नै हुनेछ ।