काठमाडौं– बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा सयौँले ज्यान गुमाइसकेका छन् । आफन्त गुमाउने र विस्थापित हुनको संख्या पनि उत्तिकै छ । बाढी र पहिरोले ओत लाग्ने घरसमेत बगाएको छ । घरसँगै पुरिएका र बगेका कतिपयको त अझैसम्म शव भेटिएको छैन । बस्ती नै बगाएपछि घर न घाटको भएकाहरुका लागि यतिबेला सहारा बनेको छ– हिमालयन हेल्पिङ ह्यान्ड्स ।
बाढीपहिरोको वितण्डाले अत्यावश्यक सामाग्रीको समेत अभावमा छटपटाइरहेकालाई मलम लगाउँदै हिमालयन हेल्पिङ ह्यान्ड्सले अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको छ । लस एन्जलस् क्यालिफोर्नियाको हिमालयन हेल्पिङ ह्यान्डस संयोजक कपिल अधिकारी सँगसँगै मनी माया अधिकारी, अस्मिता अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोभिन्द चन्द, उत्तम जङ थापालगायतको टिमले बाढीपहिराे पीडितलाई जुटाएको सहयोग अर्जुन विष्ट, वीरेन्द्र धामी, रिच मनोज श्रेष्ठलगायतको टिमले वितरण गरिसकेको छ ।
हिमालयनले लिदी पहिरोपीडित, अछाम रामारोशन गाउँपालिकाका बाढीपीडित र बाजुरा बडिमालिकाका बाढीपहिरो पीडितलगायतका नागरिकलाई अत्यावश्यक सामग्री तथा नगद गरी १३ लाख बढी रकम सहयाेग गरेको वीरेन्द्र धामीले जानकारी दिए ।
धामीका अनुसार हिमालयनले बाह्रविसे नगरपालिकामा गएको पहिरोमा छ जनाको परिवार गुमाएकी छिरिङ गोलेलाई आर्थिक सहयोग गरेको छ । सोही पहिरोमा परी घरबार गुमाएर विद्यालयको छानामुनि ओत लागेर बसेका र अन्य पीडित गाउँलेहरुका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।
यस्तै, हिमालयनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सुरक्षित र स्थायी बसोबासका लागि चालिस वटा पक्की घर निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जनाए । जसका लागि सुरु गरिएको ‘गो–फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।
रामारोशनका बाढीपीडित परिवारलाई हेल्पिङ ह्यान्ड्सले तीन लाख बढीको त्रिपाल, सिरक, डसना, तन्ना, म्याट, दाल, तेल, साबुन, चिउरा, चाउचाउलगायतका अत्याश्यक सामग्रीका साथै मृतकका प्रत्येक परिवारलाई सात हजार र विस्थापित भएका प्रत्येक परिवारलाई चार हजारका दरले नगद रकम सहयोग गरेको छ ।
बाजुरा जिल्लाको बूढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाअन्तर्गतका बस्तीमा पसेको बाढीका कारण विस्थापित भएका सयौंँ बाढीपीडित परिवारहरुलाई हिमालयनले अत्यावश्यक सामग्री तथा आर्थिक सहयोग गरेका छन् ।