काठमाडौं– वसन्तपुरका कुमारी घरअघि बसिरहेका चार जना वृद्धाको अनुहारमा पटक्कै खुसी थिएन । उनीहरू गफ गर्दै थिए, ‘अब देशमा के कस्तो अनिष्ट हुन्छ होला ? महामारी र अनिष्टलाई रोक्न गरिने जात्रालाई रोकेर के गर्ने खोजेको हो ?’
उनीहरू पाटनको रातो मत्स्येन्द्रनाथ र इन्द्रजात्रा नभएकामा गनासो गर्दै थिए, ‘यसरी देवीदेवतालाई थुनेर कहाँ राम्रो हुन्छ र ?’
कोभिड–१९ को कारण जात्रा रोकिएको कुरा उनीहरू मान्न तयार थिएनन् । मरु टोलका ७२ वर्षीय राजमान मानन्धर मसँग जंगिए, ‘आः नेवाः संस्कृति, जात्रा, पर्व, छगुः छगुः याना तःना वनी ।’ (अब नेवारी संस्कृति, जात्रा, पर्व एक एक गर्दै हराउँदै जानेछ)
जैसीदेवलका ९७ वर्षे बत्सगोपाल मानन्धरलाई इन्द्रजात्रा दसैंभन्दा धेरै मनपर्ने पर्व । सानैदेखि इन्द्रजात्राको आठौं दिन उनीसँगै टोलका १४, १५ जना केटाहरू पनि उत्तिकै व्यस्त हुन्थे । यो वर्ष उनलाई सारै नरमाइलो लाग्यो ।
इन्द्रजात्रा अनेकन मिथहरूसँगै बाँचेको नेवाः समुदायको सबैभन्दा उल्लासमय, उमंगमय पर्व हो । एक हिसाबले यी कुराहरू ‘कल्चरल थेरापी’ हुन्, जसले व्यक्तिगत र समुदायमा थप ऊर्जा भर्दछ ।
काठमाडौंका नेवार समुदाय इन्द्रजात्राको एक साताको समयलाई विशेष प्राथमिकताका साथ छुट्याउँछन् । अन्य समुदाय तथा काठमाडौंबाहिरबाट आएकाहरूका लागि पनि यो सधैँ जिज्ञासामय, रौनकमय हुँदै आएको थियो ।
जात्रामा अत्यधिक हुलमुल हुने हुनाले कोभिड–१९ का कारण सरकारले जात्राहरूमा पनि रोक लगाएको छ । तसर्थः आठ दिने इन्द्रजात्राको सांस्कृतिक जीवनशैली ठप्प भयो । इन्द्रजात्राको लिंगो लिन जाने तयारी भए पनि महामारीमा स्थिति बिग्रने सम्भावनाले क्षमा पूजा र नित्यपूजा गरेर मात्रै मनाउने निर्णय गरेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले बताए ।
सामान्य अवस्था भएको भए आइतबार इन्द्रजात्राको अन्तिम दिन हुने थियो र वसन्तपुर जात्रामय बन्ने थियो । इन्द्रजात्रालाई सम्झँदै नेपाली पब्लिकले यो र यसँग जोडिएका मिथ तथा कथाहरूको संगालो तयार पारेको छ । संगालोको फरक फरक सामग्रीको लिंकहरू अन्तिममा दिइएको छ ।
सुरुमा इन्द्रजात्राको आधारभूत परम्परागत सन्दर्भ
३० वर्षअघिसम्म कुमारीको रथ घुमेर आएपछि दांगीहरू इन्द्रदह–थानकोटको डाँडामा अवस्थित पोखरीसम्म पुग्ने प्रथा थियो । तर विभन्नि आन्तरिक कारणले त्यहाँ जाने प्रथा हट्दै गएको थियो । सभासद, स्थानीयलगायतको पहलमा इतिहास जोगाउने कार्य सुरु भएपछि गत वर्षदेखि पुनः सो चलनले निरन्तरता पाएको थियो ।
सायद स्थानीय वृद्धहरूको चिन्ता यसैमा होला, ‘समय परिस्थितिले कतै जात्रा संस्कृति नै लोप हुने त होइन ।’
मृतकको स्वर्गमा बास होस्, आत्माले शान्ति पाओस् भनी बत्ती बालेर परिभ्रमण गर्ने चलन छ । साथै दांगीसँगै मृतकहरू स्वर्ग गएको देखियोस् भनी पितृबत्ती बाली यात्रा गर्ने चलन छ । देशको रक्षा गर्ने, कुमारी, गणेश, भैरवका प्रतिमालाई रथमा बसाइ यात्रा गराउने ठाउँ ठाउँमा भैरवको प्रतिमा अंकित माटोको घैलामा जाँड राखी धारा निकाल्ने गरिन्थ्यो ।
हाकु छ्वय्ला (कालो छोय्ला), भटमास, अदुवा, भुटेको चिउरा आदिको समयबजी खाने, बाँड्ने, नाच्ने, दांगीसँग मृतकहरूलाई स्वर्ग पठाउने पर्व नै इन्द्र जात्रा हो । इन्द्रजात्राको मुख्य केन्द्र भनेको इन्द्रध्वज हो । कुमारी जात्रा, लाखे, पुलुकिसीलगायत सहायक मात्र हुन् । यी रमाइलोका लागि गरिएको जात्राका भागहरू हुन् । तर अहिले इन्द्रजात्रा भन्दा पनि सहायक जात्राहरू हावी हुन थालेको गौतम रत्न शाक्यको चिन्ता छ ।
इन्द्रजात्रामा तीन दिन रथयात्रा
जीवित देवदेवीहरू कुमारी, गणेश र भैरवलाई रथमा राखी रथजात्रा गर्ने परम्परा छ । कुमारी रथको पहिलो दिन कोनेयाः अर्थात् तल्लो टोलमा रथ यात्रा गरिन्छ । कुमारी घरबाट जैसीदेवल, लगन टोल, ब्रम्ह टोल, जैसी देवल, कोहिटी, मीमशेनस्थान, मरु टोल हुँदै कुमारी घरमै ल्याइन्छ । यो यन्हा पुन्हीको दिन गरिन्छ । यसरी रथ तानेको बेला टोलका डबलीहरूमा देवी नाचहरू प्रदर्शन गरिन्छ ।
त्रयोदशीको दिन
थनेयाः (माथिल्लो टोल)मा रथयात्रा गरिन्छ । कुमारी घरवाट प्याफल, नरदेवी, केलटोल, असन, इन्द्रचोक, हनुमान ढोकामा पुर्याई तीनवटै रथलाई समयबजी चढाइन्छ । समयबजी खानका लागि स्थानीयको लछारपछार नै हुन्छ । श्वेतभैरवको मुखबाट रक्सी तथा जाँड (थों व एैंला)को प्रसाद बाँडिन्छ । त्यसपछि आठौं दिनमा मात्रै रथयात्रा निस्कन्छ । बीचका दिनहरूमा विभिन्न देवी नाच, दश अवतार, लाखे नाच, भक्तपुर महाकाली नाच प्रदर्शन गरिन्छ ।
अन्तिम दिन
तीनवटै रथलाई कुमारी घरवाट प्याफल, नरदेवी, किल्लाघर, भेडासिंह, इन्द्रचोक हुँदै हनुमान ढोका ल्याइन्छ । इन्द्रचोकको आकाश भैरव मन्दिरबाट तीनवटै रथलाई पूजा गरिन्छ । कुमारी घरको पुजारीले विधिविधानअनुसार कुमारी, गणेश र भैरवलाई पूजागरी कुमारी घर भित्र्याइन्छ ।
तीनै देवीदेवटाको हातवाट राष्ट्रप्रमुखले टीका लगाएपछि सर्वसाधारणलाई टीका लगाउन खुला गरिन्छ । त्यही समयमा साइत निकालेर लिंगो ढालेर बाग्मतीमा सेलाइन्छ । यसरी लामो दिनको इन्द्रजात्रा पनि सकिन्छ ।
इन्द्रजात्रा–विशेषका थप सामाग्रीहरु पढ्नुहोस्
इन्द्रजात्रा : नेवाः समुदायको ‘कल्चरल थेरापी’, कोभिडले खायो रौनक
किराँती राजा यलम्बरको शिर हो इन्द्रचोकको आकाश भैरव
जंगबहादुरले प्रेमिका फकाउन सुरु गरे नानिचा रथ
बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो
मजिपाः लाखेको सप्तरङ्गी रुमालले के भन्छ ?
जीवित देवीले जयप्रकाश मल्लको शासनकाल १२ वर्ष लम्ब्याइदिए