कोभिड १९ को महामारी नभएको भए यस वर्षको इन्द्रजात्रा आइतबार उल्लासमय रुपमा समापन गरिन्थ्यो । यसपटक नियमित पूजा र क्षम पूजा गर्दै इन्द्राजात्रा स्थगित गरियो । ‘इन्द्रजात्रा विशेष’को तेस्रो सामाग्रीमा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्य भन्छन्–
नेवार समुदायले मनाउने जात्राहरूमध्ये इन्द्रजात्रा मुख्य हो । यसलाई येयाः, येँद्याः, येँद्याः पुन्ही, येयाः पुन्हीआदि पनि भनिन्छ । यो जात्रा भाद्र शुक्लपक्ष द्वादशीदेखि आश्विन कृष्णपक्ष चतुर्दशीसम्म मनाइन्छ ।
इन्द्र जात्रा धार्मिक र मनोरञ्जनका हिसाबले उत्सवमय जात्रा हो । जसमा स्वर्गका राजा इन्द्रदेखि मनुष्य, राक्षस, जनावरसम्मको जात्रा हुन्छ । यसपटक मठमन्दिरभित्रको नित्य पूजा र क्षमा पूजा गरेर मनाइरहेका छौं ।
इन्द्रजात्रासँग २९ वटा गुठी संस्थाहरु छन् । श्री कुमारी, श्री गणेश, श्री भैरव, श्री लाखे आजु (मजिपाः), हलचोक आकाश भैरव (सवाभक्कु), पुलुकिसी, श्वेतभैरव, इन्द्रचोक आकाश भैरव आदिको गुठीहरु छन् ।
इन्द्र जात्राको एक महिना अघि बनेपास्थित नालाको जंगलबाट लिंगो लिनलाई गुर्जुको पल्टन, हनुमानढोको पुजारी, केन्द्रीय मानन्धर संघका सदस्यहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु गएर लिंगोलाई चिन्ह लगाउने गर्छन् । रुख छान्नका लागि कालो बोका जंगलमा छाड्ने र बोकाले छोएको रुखमा चिन्ह लगाई पूजा गर्ने चलन थियो ।
अहिले रुख छान्नका लागि बोकाको भर पर्दैन । ३२ हात लामो, सिधा, राम्रो रुखलाई छान्ने गर्छन् । इन्द्रजात्रा पछि पूजा गरेर काटेर मानन्धर समुदायले ल्याउने गर्दछ । भोटाहिटीमा पुर्याएर जात्राको तीन दिन अघि हनुमानढोका अगाडि ल्याइन्छ । एकादशीका दिन जाग्राम बसी वामन द्वादशीका दिन साइत निकालेर पूजा गरी काल भैरव अगाडि काठमाडौंका मानन्धरहरूले ठड्याउने गर्दछन् ।
लिङ्गोमुनि हात्ती चढेका इन्द्रको सुनको मूर्ति राख्ने चलन छ । पहिले लिङ्गो ठड्याउनु एक दिनअघि अर्थात् भाद्र शुक्ल एकादशीका दिन काठमाडौं उपत्यकाभित्रका सबै जागिरदारहरू जाग्राम बसेर भारनी नाच हेर्ने गर्दथे । अहिले यो भारनी नाच पनि लोप भइसकेको छ, सरकारी जागिरदारहरू जाग्राम बस्ने चलन पनि हराइसकेको छ ।
मरु गःकु अगाडि (मरुसतल र सिंहसतल बीच रहेको खुल्ला ठाउँ) इन्द्रलाई पनि एउटा अग्लो खटमा राखी दुवै हात दुईतिर फैलाएर बाँध्ने गरिन्छ । यो काम भने मरु टोलका स्थानीय महर्जन समुदायले गर्दछन् । लिंगोलाई इन्द्रध्वजा अर्थात् इन्द्रको प्रतीकको रुपमा राखिएको हो । त्यही दिन देखि ११ देवीदेवताको नाच, मजिपाः लाखे र झ्यालिंचा आठ दिनसम्म नाच्दै हिँड्छन् ।
इन्द्रजात्रामा जातीय भूमिका
मानन्धर : योंसी ल्याउने र वहुमतः (रातमा बासको ड्रागन बनाएर पालामा बत्तीहरु बालेर जात्रा हुने स्थानहरुमा घुमाउने)
महर्जन : इन्द्रायणी, पुलुकिसी
रञ्जित : मजिपाः लाखे
शाक्य : श्री कुमारी, श्री गणेश, श्री भैरब
तुलाधर र ताम्राकार : दागीं
इन्द्रजात्रा–विशेषका थप सामाग्रीहरु पढ्नुहोस्
इन्द्रजात्रा : नेवाः समुदायको ‘कल्चरल थेरापी’, कोभिडले खायो रौनक
किराँती राजा यलम्बरको शिर हो इन्द्रचोकको आकाश भैरव
जंगबहादुरले प्रेमिका फकाउन सुरु गरे नानिचा रथ
बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो
मजिपाः लाखेको सप्तरङ्गी रुमालले के भन्छ ?
जीवित देवीले जयप्रकाश मल्लको शासनकाल १२ वर्ष लम्ब्याइदिए